देशका विभिन्न स्थानमा लागेको डढेलोका कारण काठमाडौं उपत्यकामा वायु प्रदुषण ह्वात्तै बढेको छ।
आइतबार बिहान काठमाडौं विश्वको सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा पहिलो नम्बरमा आएको थियो। संसारभरिका सहरको वायु प्रदुषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार अहिले भने काठमाडौं दोस्रो नम्बरमा झरेको छ।
बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्णरूपमा उडान प्रभावित भएको छ। सिमराको उडान भर्खरै खुलेको छ। पोखरा, भरतपुर र तुम्लिङटारको उडान अझै खुल्न सकेको छैन।
वातावरण विभागको तथ्यांकअनुसार अहिले सबैभन्दा धेरै वायु प्रदुषण शंखपार्क क्षेत्रमा छ भने त्यसपछि भैंसेपाटी, खुमलटार, रत्नपार्क, कीर्तिपुरमा बढी वायु प्रदुषण छ।
विभागले यसअघि नै देशका १४० स्थानमा लागेको डढेलोका कारण वायु प्रदुषण ह्वात्तै बढेकाले सचेतता अपनाउन भनेको थियो।