नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ७ किलो ८८७ ग्राम कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ।
ब्युरोले दुइटा अपरेशन चलाएर दुई भारतीय महिलालाई कोकिनसहित पक्राउ गरेको हो।
प्रहरीले भारतको मिजोरोम बस्ने ४५ वर्षीया भालाललमी र २९ वर्षीया इस्थर लालहलिम्पुइलाई पक्राउ गरेको बताएको छ।
विशेषगरी कोलोम्बिया, पेरू, बोलिभियामा बन्ने कोकिन नेपाललाई ट्रान्जिट बनाएर नयाँ दिल्ली पुर्याउन लाग्दा उनीहरू पक्राउ परेका हुन्।
भालाललमी गत सोमबार काठमाडौं आइपुगेकी थिइन्। दिल्लीबाट सुरूमा उनी चैत २ गते इथोपिया पुगेकी थिइन्। त्यहाँबाट फेरि उनी अर्को अफ्रिकी मुलुक गिनी पुगिन्। त्यहाँ केही दिन बस्दा उनलाई कोकिनको लगेज लिन भनिएको थियो।
त्यहाँबाट लगेज लिएपछि उनी मोरोक्को, दोहाबाट काठमाडौं आइपुगेकी हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी सिधै ठमेलस्थित एक होटलमा बसिन्।
मंगलबार बिहान सवा ११ बजे एयर इन्डिगोको विमानबाट नयाँ दिल्लीको फ्लाइट थियो। त्यही समयअनुसार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पुगिन्।
काठमाडौं आउँदा ल्याएकै सुटकेश, ह्यान्डब्याग बोकेकी थिइन्। तर यसपटक उनी शंकाको घेरामा थिइन्। विमानस्थलको प्रस्थान कक्षमा विमानस्थल सुरक्षा कार्यालयका प्रहरी र ब्युरोको संयुक्त टोली पनि थियो।
टोलीलाई शंका लागेपछि प्रहरीले उनलाई बोलाएर सोधपुछ र सुटकेश ह्यान्डब्यागमा तलासी लिएको थियो।
उनीसँग भएका ब्यागबाट २ किलो ८८७ ग्राम कोकिन बरामद गरेको ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विकासराज खनालले बताए। बिहीबार पत्रकार सम्मलेन गरी यसबारे जानकारी दिइएको हो।
त्यसपछि प्रहरी थप सचेत भएको उनी बताउँछन्।
मंगलबार साँझ सवा ५ बजेको काठमाडौंको ठमेलको त्यही होटलबाट इस्थरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीबाट ५ किलो कोकिन बरामद भएको थियो।
उनको पनि सुटकेशमा फल्सबटम बनाएर राखेको अवस्थामा कोकिन फेला परेको थियो। उनीहरू दुबैले नेपाललाई ट्रान्जिटमात्रै बनाएको एसएसपी खनालले बताए।
‘उनीहरू दुबै जना नयाँ दिल्ली नै जाने तयारीमा थिए। इस्थरको फ्लाइट बिहीबार जाने थियो,’ उनले भने, ‘उनलाई भने हामीले काठमाडौं आइपुग्दादेखि नै पछ्याइरहेका थियौं। त्यही होटलमा पुगेपछि उनलाई पक्राउ गर्यौं।’
उनी पनि इथोपिया हुँदै अर्को अफ्रिकी मुलुक बेनिन पुगेकी थिइन्। त्यहाँ ५ दिन बसेपछि उनी मोरोक्को, दोहा हुँदै काठमाडौं आइपुगेकी थिइन्।
उनीहरू दुबै जनालाई एकै व्यक्तिले पठाएको हो। पठाउने व्यक्तिले भने उनीहरूलाई छुट्टाछुट्टै नाम बताएका थिए। यसबारे ब्युरोले भारतीय प्रहरीलाई पनि जानकारी गराइसकेको छ।
‘उनीहरू ठूलो समूहबाट परिचालन भएको देखिन्छ। अब हामी ट्रेन्डलाई पनि हेरेर अनुसन्धान अघि बढाउँछौं। त्यसो गरे अन्यले भित्र्याउन खोजे पनि पक्राउ गर्न सक्छौं,’ ब्युरोका एसपी चक्रराज जोशीले भने।
पक्राउ परेका दुई जना महिला पनि चिनजानकै हुन्। दुई जनाबाट बरामद भएको ७ किलो ८८७ ग्राम कोकिन अवैध बजारमा १७ करोड ३ लाख ५९ हजार रुपैयाँ पर्ने एसएसपी खनालले बताए।
यसरी ओसारपसार गर्नलाई भने उनीहरूलाई एक लाख रुपैयाँ भारू दिने आश्वासन दिइएको थियो।
‘काम सकाएपछि एक लाख भारू दिने भनिएको रहेछ। टिकट, खाने बस्ने सबै व्यवस्था गिरोहले नै हेरेका रहेछन्,’ खनालले भने।
भालाललमी तीन जना छोराहरूसँग मिजोरोममा बस्थिन्। जो ठूला भइसकेका छन्। उनको श्रीमानसँग भने डिभोर्स भइसकेको थियो।
३ वर्षअघि उनको घरमा एक दुर्घटना भएको थियो। घरमा ग्याँस बिस्फोट हुँदा उनी घाइते भएको एसपी जोशीले बताए। जसले गर्दा उनको अनुहार जलेको छ।
‘घाइते भएको हुँदा समय-समयमा उपचार गराइरहन पर्ने रहेछ। त्यसकारण उनलाई तपाईंको उपचार पनि गराइदिन्छु। घुम्न पनि पाइन्छ सबै खर्च ब्यहोर्ने र एक लाख नगद पनि दिन्छौं भनेपछि मानेको बुझियो,’ उनले भने।
यस्तै अर्की महिला भने कपडा पसलमा काम गर्थिन्। उनले मासिक २० हजार रुपैयाँ कमाउँथिन्।
यस घटनामा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।
उनीहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम १५ वर्षदेखि जन्मकैद सम्म र ५ देखि १० लाख सम्म जरिवाना हुनसक्ने व्यवस्था छ।