काठमाडौं महानगरपालिकाले साढे तीन सय वर्षअघि राजा प्रताप मल्लको समयमा बनेको रानीपोखरी सर्वसाधारणका लागि दैनिक रूपमा खोल्न थालेको छ।
यसअघि भाइटीका र छठ पर्वमा मात्र खोलिने रानीपोखरी पुनर्निर्माणपछि फागुन २७ देखि सर्वसाधारणका लागि निश्चित समय तोकेर दिनहुँ खोल्न थालेको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए।
'अहिले बिहान मर्निङ वाक गर्न ६ बजेदेखि ९ बजेसम्म खुला गरिएको छ,' उनले भने, 'मर्निङ वाक गर्ने स्थान नभएकाले रानीपोखरी अनौपचारिक रूपमा खुला गरिएको हो।'
स्थानीयहरूले मर्निङ वाक गर्न खोलिदिनुपर्यो भन्ने माग गरेपछि त्यसलाई मध्यनजर गर्दै बिहान तीन घन्टा रानीपोखरी खोल्न थालेको उनी बताउँछन्।
अनौपचारिक रूपमा सर्वसाधारणको सुविधाका लागि रानीपोखरी खोलेका कारण अन्य गतिविधि नगरिदिन अधिकारी आग्रह गर्छन्।
'त्यहाँ बसेर खाने, भलाकुसारी गर्ने, माछालाई खान दिने, टिकटक बनाउने लगायतका काम नगरिदिनुहुन अनुरोध गर्छौं,' उनले भने, 'रानीपोखरीको तोकिएको ठाउँमा मात्र हिँड्न र अन्य ठाउँमा प्रवेश नगर्न पनि अनुरोध छ।'
अहिले पुनर्निर्माण प्राधिकरणले महानगरलाई रानीपोखरीको सबै भाग हस्तान्तरण गरिसकेको छैन। रानीपोखरीको पूरै भाग महानगरको स्वामित्वमा आएपछि व्यवस्थित ढंगले शुल्क लिएर खोल्ने योजना पनि ल्याइने अधिकारी बताउँछन्।
रानीपोखरी खुलेपछि मर्निङ वाक, व्यायाम र योग गर्न आउने स्थानीयहरूको लर्को लाग्ने गरेको छ। यसरी रानीपोखरीमा दिनहुँ हिँडडुल गर्न पाएकोमा स्थानीयहरू पनि खुसी छन्।
बिहानै रानीपोखरीमा कोही मानिस हिँडिरहेका हुन्छन् त कोही गीत बजाएर व्यायाम गर्दै गरेको देखिन्छ। त्यस्तै कोही बाललबालिकालाई कराँते प्रशिक्षण दिइरहेका हुन्छन्।
बिहान दैनिक रूपमा रानीपोखरीमा मर्निङ वाक गर्न आउनेमध्येका एक हुन् लाजिम्पाटका ६० वर्षीय सुवर्ण श्रेष्ठ।
'म ६० वर्ष भइसकेँ तर अहिलेसम्म यसरी रानीपोखरी खुला गरेको थाहा थिएन,' उनी भन्छन्, 'एकदमै खुसी लागिरहेको छ। दिनहुँ रानीपोखरीमा आएर मर्निङ वाक गर्न पाएको छु।'
असनकी ४० वर्षीया करूणा महर्जन पनि यसरी रानीपोखरी खुलेकोमा एकदमै खुसी छिन्।
'काठमाडौंमा वाक गर्न जाने ठाउँ नै छैन,' उनी भन्छिन्, 'यहाँ त एकदमै रमणीय, शान्त र सफा वातावरण छ। पहिले नै खोल्नुपर्ने थियो तर अहिले खोल्यो। ढिलै भए पनि राम्रो काम गर्यो।'
रानीपोखरी खुला भएपछि बूढाबूढी पनि आएर हिँडडुल गर्न पाएको उनी बताउँछिन्। अझ बेलुका एकछिन खुट्टा तन्काउन खोलिदिए झनै राम्रो हुने उनको सुझाव छ।
रानीपोखरी खुलेको थाहा पाएर कलेज जानुअगावै साथीहरूसँग घुम्न आएको असनकी २० वर्षीय सुस्मा श्रेष्ठ बताउँछिन्।
'सधैं यहीँ बस्ने भए पनि कहिले पनि रानीपोखरीभित्र गएर घुम्न पाइको थिइनँ,' उनी भन्छिन्, 'भाइटीकाको दिन मात्रै खुल्थ्यो अनि त्यो दिन हामी टीका लगाउन गाउँ जान्थ्यौं। रानीपोखरी बाहिरबाट हेरेरै चित्त बुझाउने गरेको थियौं तर आज घुम्न पाउँदा एकदमै खुसी लागिरहेको छ।'
२०७२ सालमा भूकम्पले क्षति पुगेको रानीपोखरीको बालगोपालेश्वर मन्दिरलाई पुरानो शैलीमै बनाइएको हो। तीन सय ५० वर्षअघि राजा प्रताप मल्लले शिखर शैलीमा बालगोपालेश्वर मन्दिर बनाएका थिए जुन अहिले देखिएको ढाँचा हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरपालिकालाई रानीपोखरी २०७८ पुस ८ गते हस्तान्तरण गरेको थियो।