काठमाडौं उपत्यकामा गत आर्थिक वर्षमा मात्रै सवारी साधनको ठक्करबाट ५८ पैदलयात्रीको मृत्यु भएकामा चालु आवको फागुन मसान्तसम्म आइपुग्दा ४० पैदलयात्रीले अनाहकमा ज्यान गुमाउनुपरेको छ।
विगतमा जेब्राक्रसिङमै सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको घटना पटक–पटक दोहोरिएको थियो। ती तथ्यले उपत्यकामा हिँड्ने पैदलयात्री सबभन्दा बढी जोखिममा रहेको देखाएको छ। एक त सवारी साधनको लापरबाही, त्यसमाथि पैदलयात्रीको बेपरवाहले उनीहरू थप जोखिममा देखिन्छन्।
ठाउँ/ठाउँमा सडक खनिएकाले पनि यात्रुको आवागमनमा अवरोध हुँदा मूल सडकबाटै हिँड्नुपर्ने बाध्यताले पनि बटुवामा जोखिम बढ्छ। जेब्राक्रसिङमा गाडी नरोक्ने, यात्रुहरू बाटो काट्दा–काट्दै हतारमा सवारी साधन अगाडि बढ्ने, छिटो जाने बहानामा लापरबाहीपूर्वक सवारी साधन हाँक्ने प्रवृति चालकमा पनि देखिएको छ। अझ मदिरा पिएर (मापसे गरेर) र लागुपदार्थ सेवन (लापसे) गरेर सवारी साधन चलाउने चालकबाट त झन् बढी जोखिम छ। त्यसका अलावा पैदल या साइकल यात्रुहरूले पनि विशेष ख्याल नगर्दा दुर्घटनाको जोखिम बढाइरहेको पाइन्छ।
यात्रुले सवारी साधन आए/नआएको नहेरी बाटो काट्न खोज्ने, मोबाइलमा कुरा गर्दागर्दै बाटो काट्ने, बाटो काट्दा सवारी साधनको वास्ता नगर्ने प्रवृत्ति पनि बढ्दो छ। चालकको लापरबाहीसँगै बटुवाले गाडीको गतिको ख्याल नगर्ने अवस्था पनि रहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजाल बताउँछन्।
पैदल यात्रुको आफ्नै कारण र सवारी चालकको लापरबाहीबाट पैदल हिँड्नेहरू जोखिममा परेका पाइएको ट्राफिक प्रहरीको निष्कर्ष छ।
त्यसैले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पैदल यात्री र साइकलयात्री सचेता अभियान सञ्चालन गर्दै आएको छ।
पैदलयात्रीमा ट्राफिक सचेतता अभिवृद्धि गर्न र ट्राफिक व्यवस्थापनमा सहजीकरण गरी दुर्घटना कम गराउन सेचतना अभियान जरूरी रहेको उक्त कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट जानकारी दिन्छन्।
उक्त अभियान विगतमा पनि सुरू गरिएर रोकिएकामा जोखिम पनि बढिरहेकाले पुनः थालिएको उनको भनाइ छ।
विसं २०७४ वैशाख र २०७६ पुसमा पनि जथाभावी सडक पार नगरौं भन्ने जनचेतनामूलक कार्यक्रम ट्राफिक प्रहरीले सञ्चालन गरेको थियो। त्यसबेला विभिन्न स्कुलका विद्यार्थी तथा सामाजिक संस्थाका प्रतिनिधिलाई सहभागी गराएर पैदलयात्रु सचेतना अभियान चलाइएको थियो। त्यसले सकारात्मक रूप लिएको थियो। बीचमा अभियान रोकिँदा फेरि अवस्था उस्तै बन्दै गएकाले पुनः अभियानलाई निरन्तरता दिइएको प्रवक्त भट्ट बताउँछन्।
आकाशे पुल भएको स्थानमा आकाशे पुलबाट र जेब्राक्रस भएका स्थानमा जेब्राक्रसिङबाट मात्रै सडक वारपार गर्नुपर्छ तर पैदलयात्रुको जेब्राक्रसिङ नभएको स्थानबाट समेत बाटो काट्ने गलत अभ्यास काठमाडौंमा कायमै छ। त्यसले पनि जोखिम बढाएको प्रहरीको जिकिर छ। यात्रुले भने आवश्यक स्थानमा जेब्राक्रसिङ नहुँदा दुःख पाउने गरेको गुनासो गर्दै आएका छन्।
पैदल यात्रुमा बढ्नसक्ने जोखिमलाई ध्यान दिएर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्राक्रसिङ तथा आकाशे पुलबाट सडक पार गर्न र साइकल चालकलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन ‘पैदलयात्री सचेतता अभियान’ सुरूआत गरिएको जनाएको छ।
जेब्राक्रसिङ तथा आकाशे पुल प्रयोग गरौं भन्ने ‘प्ले कार्ड’ नै देखाएर ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोक–चोकमा बसेर उक्त अभियानको सुरूआत गरेको प्रवक्ता भट्ट बताउँछन्। यो क्रम आज पनि जारी छ।
उक्त अभियानअन्तर्गत सोमबार छ सय ३७ पैदलयात्रीलाई ट्राफिक प्रहरीले सचेत गराएको थियो। अभियानका क्रममा काठमाडौंको न्युरोड, बालकुमारी, जडीबुटी, ललितपुरको सातदोबाटो र जावलाखेल, भक्तपुरको सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशे पुलबाट पैदल यात्रुलाई सडक वारपार गर्न लगाइएको थियो।
यस्तै, ट्राफिक प्रहरीले रेडलाइट क्रस गर्ने, जेब्रा क्रसिङमा रोक्ने, फुटपाथमा साइकल चलाउनेलगायत विविध ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ९३ साइकलका चालकलाई पनि सचेत गराएर पठाएको थियो। काठमाडौंको कमलपोखरी, थापाथली, बल्खु, बूढानीलकण्ठ, नयाँ बसपार्क, नागढुङ्गा, बौद्ध र भक्तपुरमा साइकलयात्रीलाई सचेतना शिक्षा दिइएको छ।