पाँचथरको फिदिम नगरपालिका-७ स्थित रानीटार माध्यमिक विद्यालयका विद्यार्थीहरू आ-आफ्नै सांस्कृतिक पहिचान झल्किने भेषभुषा लगाएर विद्यालय जाने गर्छन्।
विद्यालयका प्रधानाध्यापक भक्तबहादुर राईका अनुसार सरस्वती पूजाको अवसर पारेर गत माघ १२ गतेदेखि यो नियम सुरू गरिएको हो।
विद्यालयमा यो नियम सुरू गर्ने प्रधानाध्यापक राई नै हुन्। आफूले विद्यार्थीका अभिभावक र विद्यालय व्यवस्थापन समितिसँग कुराकानी गरेर सांस्कृतिक भेषभुषा लगाउने नियम सुरू गरेको सेतोपाटीसँग बताए।
झन्डै साढे ४ सय विद्यार्थी रहेको यो विद्यालयमा अहिले सबै विद्यार्थीहरू आ-आफ्नै सांस्कृतिक भेषभुषा लगाएर पढ्न जाने गर्छन्। प्रधानाध्यापक राईका अनुसार हप्ताको दुई दिन सोमबार र बिहीबार विद्यार्थीहरू सांस्कृतिक भेषभुषा लगाउँछन्। यो नियम शिक्षकहरूलाई पनि अनिवार्य गरिएको उनी बताउँछन्।
२०५५ सालदेखि प्रधानाध्यापक बनेका राईले पाठ्यक्रममै धर्म, संस्कृति, भषा, भेषभुषाबारे पढाइ गर्नुपर्ने हुँदा यो नियमले विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्ने बताए।
'यस्तो कुराले विद्यार्थीहरूलाई संस्कृति, भाषा, धर्म र भेषभुषाबारे व्यवहारिक ज्ञान प्रदन गर्छ। साथै यो कुराले हाम्रो संस्कृतिको संरक्षण गर्न पनि मद्दत पुर्याउँछ,' उनले भने।
आफूले सुरूमा सांस्कृतिक भेषभुषा लगाउने प्रस्ताव गर्दा महंगो हुने भन्दै अभिभावकहरूले नमानेको उल्लेख गर्दै उनले पछि यसको महत्व बुझाएपछि अभिभावकहरू सहमत भएको सुनाए।
'सुरूमा त कतिले महंगो पर्छ भन्दै किन्न सक्दैनौं भन्नुभयो तर हामीले दशैं, तिहार, लोसार जस्ता चाडबाडमा यसै पनि नयाँ लुगा किन्नुपर्छ भन्दै यसपटक ती लुगाका ठाउँमा सांस्कृतिक भेषभुषा किन्न सल्लाह दिएपछि उहाँहरू सो कुरामा सहमत हुनुभयो,' उनले भने।
अहिले सबै विद्यार्थीहरू आ-आफ्नै जातीय भेषभुषा लगाएर पढ्न आउने गरेको प्रधानध्यापक राई बताउँछन्। केही विद्यार्थीहरूले भने कमजोर आर्थिक अवस्थाका कारण सांस्कृतिक पोशाक किन्न सकेका छैनन्। प्रधानध्यापक राईले त्यस्ता विद्यार्थीका लागि विद्यालयमै रहेको मिनी संग्राहलयमा रहेको पोशाक लगाउन दिइएको बताए। साथै त्यस्ता विद्यार्थीहरूलाई लक्षित गरी विद्यालयमा भर्खरै कपडा बैंक पनि सुरू गरिएको उनले बताए।
'दश-बाह्र जना विद्यार्थीहरूले कमजोर आर्थिक अवस्थाका कारण पोशाक किन्न सकेका छैनन्। त्यसैले विद्यालयमा भर्खरै कपडा बैंक पनि सञ्चालन गरेका छौं। यसमा आएका लुगाहरू उनीहरूलाई दिने गरेका छौं,' राईले भने, 'नगरपालिकाका वडाध्यक्षले समेत आउने नयाँ शैक्षिक सत्रमा त्यस्ता विद्यार्थीहरूलाई पोशाक दिने प्रतिवद्दता गर्नुभएको छ।'
योसँगै अहिले विद्यालयमा महिनामा दुई पटक सांस्कृति नृत्यहरूको प्रतिस्पर्धा पनि हुने गरेको छ। प्रधानध्यापक राईले विद्यार्थीहरूलाई आफ्नो जातीय नृत्यबारे व्यवहारिक ज्ञान र सीप प्रदान गर्ने उद्येश्यले उक्त प्रतिस्पर्धा गराउने गरिएको जनाए। साथै विद्यालयमा हुने कुनै पनि सांस्कृतिक कार्यक्रममा पनि विद्यार्थीहरूलाई जातीय नृत्यहरू प्रस्तुत गराइने गरिएको उनी बताउँछन्।
रानीटार माध्यामिक विद्यालयमा सांस्कृतिक पहिचान झल्किने भेषभुषा लगाउने नियम सुरू गरेका प्रधानध्यापक राईले भने गत साता अवकाश पाएका छन्। उनको विदाइ कार्यक्रममा पनि विद्यार्थीहरूले जातीय नृत्यलगायत विभिन्न प्रस्तुति गरेर राईलाई सम्मान प्रदान गरेका थिए।
हेर्नुस् राईसँग कुराकानी गरेर तयार पारिएको भिडिओः