लुम्बिनी आउने विदेशी पर्यटकहरूले दानपेटिकामा चढाएका तर सात वर्षदेखि सटही हुन नसकेका विदेशी मुद्रालाई सटहीका लागि राष्ट्र बैंकले प्रक्रिया अगाडि बढाउन सहमति जनाएको छ।
नेपाल राष्ट्र बैंकले जारी गर्ने परिवर्तित मुद्राको सूचीमा नपरेका ३९ मुलुकका पर्यटकहरूले दानपेटिकामा चढाएका नेपाली १ करोड १७ लाख ९५ हजार ९६६ रुपैयाँ बराबरका मुद्रा सटही हुन नसक्दा त्यतिकै बाकसमा थन्किएका छन्।
नेपाल राष्ट्र बैंकले सटहीको लागि पहल नगर्दा लुम्बिनीको सवा एक करोड रुपैयाँ बाकसमै थन्किएपछि सेतोपाटीमा समाचार प्रकाशित गरिएको थियो। अहिले नेपाल राष्ट्र बैंकले मुद्रा सटहीका लागि सैद्धान्तिक सहमति गरेको र अब केही दिनमै लुम्बिनी विकास कोषले विदेशी मुद्रा राष्ट्र बैंक सिद्धार्थनगरमा सटही प्रक्रियाका लागि बुझाउने बताएको छ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बिहीबार नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच मुद्रा सटहीका लागि सैद्धान्तिक सहमति भएको जानकारी दिए।
‘बिहीबार राष्ट्र बैंक गरिएकोसँग गरिएको सहमतिसँगै लामो समय लुम्बिनीमा थन्किएका विदेशी मुद्रा सटही हुने प्रक्रिया अघि बढेको छ,’ भट्टराईले भने।
लुम्बिनी विकास कोषले मुद्रा सटहीका लागि राष्ट्र बैंक सिद्धार्थनगरमा बुझाएपछि सिद्धार्थनगरबाट राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पठाइने छ।
केन्द्रीय कार्यालयले आफ्नो एजेन्सी बैंक सिंगापुरमा मुद्रा सटहीका लागि पठाउने छ। त्यसपछि सटही भएर नेपाल राष्ट्र बैंकमा आएपछि लुम्बिनी विकास कोषको खातामा जम्मा हुनेछ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवन प्रकाश पाण्डेका अनुसार यो प्रक्रिया पूरा गरी मुद्रा सटही भएर नेपाल राष्ट्र बैंकमा आउन भने ४/५ महिना समय लाग्नेछ।
लुम्बिनीमा हरेक वर्ष आउने ८४ भन्दा बढी मुलुकका पर्यटकहरूले मायादेवी मन्दिर र अशोक स्तम्भमा राखिएका दानपेटिकामा भेटी स्वरूप आफ्नै देशको मुद्रा चढाउने गर्दछन्।
यसरी चढाइएका ३९ वटा मुलुकका मुद्रा पछिल्लो सात वर्षदेखि सटही हुन सकेको थिएन।
लुम्बिनी विकास कोषको आन्तरिक आम्दानीको मुख्य स्रोत रहेको दानवापतको भेटी सटही नहुँदा मुद्रा मक्किने र च्यातिने जोखिम बढेको थियो।
विदेशी मुद्रा सटहीका लागि पर्ने प्रक्रियागत झण्झटसँगै नेपाल राष्ट्र बैंक र लुम्बिनी विकास कोषको बेवास्ताले समेत सात वर्षयता मुद्रा सटही हुन सकेका थिएनन्।
वर्षौंदेखि बाकसमा पोको पारेर राखिएका मुद्राहरू मूल्यहीन भएर थन्किएपछि सम्बन्धित मन्त्रालय र नेपाल राष्ट्र बैंकमार्फत् पहल गरिएपछि सटहीको लागि सहमती हुन सकेको कोषका कोषाध्यक्ष भट्टराईले बताए।
राष्ट्र बैंकले टालिएका, च्यातिएका, केरमेट भएका र रङ लागेका नोट भने सटही हुन नसक्ने भन्दै त्यस्ता नोट नपठाउन कोषलाई सुझाव दिएको छ।
सटही नभएर राखिएका मुद्रामध्ये सबैभन्दा धेरै म्यानमारका ‘क्याट’ रहेका छन्। ७३ लाख ४८ हजार १५८ नेपाली रुपैयाँ बराबरको ११ करोड ८० लाख ७९ हजार २५० क्याट रहेको छ।
त्यस्तै, ओमनको १७ लाख ७९ हजार ९६६ नेपाली रुपैयाँ बराबरको ५ हजार ३३९ ओमन रियल, ८ लाख ११ हजार ६८ नेपाली रुपैयाँ बराबरको २२ लाख ७७ हजार २३० श्रीलंकन रुपैयाँ रहेको छ।
सटही नभई थन्किएको अन्य विदेशी मुद्रामा पेरुको ६ लाख ५१ हजार ८३, भियतनामको ४ लाख ९८ हजार ३९८, इण्डोनेसियाको २ लाख ७० हजार ७४५, कम्बोडियाको १ लाख ९८ हजार ७०९, भुटानको १ लाख १ हजार ४९२ नेपाली रुपैयाँ बराबरको रहेको छ।
त्यसैगरी मंगोलिया, बंगलादेश, लाओस, पाकिस्तान, मेक्सिको, अर्जेन्टिना, फिलिपिन्स, अफगानिस्तान, मकाउ, ईरान, मोरिसस, युगान्डा, इराक, माल्दिप्स, चिली, स्वीडेन, रसिया, टर्की, ग्वाटेमाला, पोल्याण्ड, युक्रेन, ताईवान, जोर्डन, लेबनान्, ब्राजिल, ईजिप्ट, बु्रनाई, सियारा लिओन, नोर्गिज क्रोनर लगायत देशका मुद्रा रहेका छन्।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणको लागि आउने विदेशी पर्यटकहरूले श्रद्धापूर्वक दानपेटिकामा चढाउने भेटी लुम्बिनी विकास कोषको आन्तरिक आम्दानीको प्रमुख स्रोत मानिन्छ।
कोषले मायादेवी मन्दिर भित्र र अशोक स्तम्भ परिसरमा राखिएका दानपेटिकाबाट वर्षेनी झण्डै चार करोड रुपैयाँ भेटि वापतको आम्दानी गर्छ। सोहि आम्दानीबाटै कर्मचारीको तलब भत्ता र अन्य व्यवस्थापनको काम गर्दै आएको छ। विकास कोषले हरेक दुई/तीन महिनामा दानपेटिकाहरू खोलेर त्यहाँ राखिएको भेटी गणना गरि बैंकमा दाखिला गर्दै आएको छ।
नेपाल राष्ट्र बैंकमा सटही गर्ने व्यवस्था नभएपनि दान पेटिकामा संकलन भएका मुद्राहरु विकास कोषले भने हरेक पटक गणना गर्दै राख्ने गरेको छ।