सुदूरपश्चिम प्रदेशको बाजुरालाई केन्द्रविन्दु बनाएर बुधबार दिउँसो पौने २ बजे ५.२ म्याग्निच्युडको भुइँचालो गयो।
भुइँचालोबाट के—कति क्षति भए, त्यसको विवरण आइपुगेको छैन। तर महत्वपूर्ण कुरा के भने, पछिल्लो एक महिनामा बाजुरालाई केन्द्रविन्दु बनाएर गएको यो तेस्रो भुइँचालो हो।
यसअघि माघ १० गते ५.९ र माघ १२ गते ४.१ म्याग्निच्युडका भुइँचाला गएका थिए।
बाजुरा मात्र होइन, केही समययता पश्चिम नेपालका विभिन्न ठाउँमा लगातार भुइँचालो कम्पन महसुस गरिएको छ। आजको समेत जोड्दा पछिल्ला चार महिनामा पश्चिम नेपालमा १३ वटा भुइँचाला गइसकेका छन्।
तीमध्ये बाजुरामा चार, डोटीमा तीन, बझाङ र दार्चुलामा दुई–दुई, अछाम र डोल्पामा एक–एकवटा भुइँचालो गएका छन्। सबभन्दा ठूलो डोटीमा गएको थियो। कात्तिक २३ गते राति सवा २ बजेको उक्त भुइँचालो ६.६ म्याग्निच्युडको थियो।
लगातार गइरहेका यी कम्पनले पश्चिम नेपालमा कुनै पनि बेला फुट्न सक्ने ठूलो भूकम्पीय शक्ति जम्मा भइरहेको छ भन्ने संकेत गर्छ। अहिले सानो सानो स्तरमा आइरहेको भुइँचालो त्यही ठूलो भूकम्पीय जोखिमको दस्तक हुनसक्छ।
धेरैलाई लाग्न सक्छ, जुन ठाउँमा ठूलो भूकम्प जाने खतरा छ, त्यहाँ सानो–सानो कम्पन छुट्नु त राम्रो होला नि? साना–साना कम्पनले जमिनमुनि जम्मा भइरहेको ठूलो भूकम्पीय शक्तिलाई बिस्तारै हल्का–हल्कासँग निष्कासन गर्छ होला नि? यस्तो भयो भने त ठूलो भुइँचालोको जोखिम पनि टर्यो, धेरै क्षति पनि भएन! अर्थात्, सर्प पनि मर्यो, लठ्ठी पनि भाँचिएन!
के यस्तो साँच्चै होला त?
के पश्चिम नेपालमा खुसुखुसु गइरहेका साना साना भुइँचालाले ठूलो भुइँचालो जाने खतरा टरेकै हो त?
यो स्टोरीमा म यसै विषयमा चर्चा गर्नेछु। तर त्योभन्दा अगाडि हामीले पश्चिम नेपालको भूसतहमुनि कति ठूलो भूकम्पीय शक्ति जम्मा भएर बसेको छ भन्ने थाहा पाउनुपर्छ। भूकम्पीय शक्तिको आकलनपछि मात्र हामीले त्यो शक्ति बाहिर निस्कन कति ठूलो भुइँचालो जानुपर्छ भन्ने यकिन गर्न सक्छौं।
त्यसैले स्टोरीको सुरूआत पश्चिम नेपालको भूसतहमुनि थुप्रिएको भूकम्पीय शक्तिबाट गरौं।
नेपालको भूसतहमुनि इन्डियन र युरेसियन प्लेटको घर्षण भइरहेको छ। हामीकहाँ आउने भुइँचालोको कारण त्यही घर्षण हो। भूगर्भविदहरूका अनुसार इन्डियन प्लेट वार्षिक दुई सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि घुस्रिँदै जानुपर्छ। सय वर्षमा त्यो दुई मिटर हुन्छ भने पाँच सय वर्षमा १० मिटर हुन्छ।
मैले यहाँ पाँच सय वर्षको कुरा यस कारण गरेँ, किनभने पश्चिम नेपालमा ८ म्याग्निच्युड हाराहारीको ठूलो भुइँचालो नगएको पाँच सय वर्षभन्दा बढी भइसकेको छ। त्यहाँ सन् १५०५ मा ८.४ म्याग्निच्युड वा त्योभन्दा ठूलो भुइँचालो गएको थियो।
भन्नुको मतलब, विगत पाँच सय वर्षदेखि ठूलो भुइँचालो नगएकाले पश्चिम नेपालको भूसतहमुनि इन्डियन प्लेट आफ्नो नियमित गतिमा युरेसियन प्लेटमुनि घुस्रिन पाएको छैन। यसले ठूलो परिमाणको भूकम्पीय शक्ति त्यहाँ जम्मा भएर बसेको छ।
पश्चिम नेपालको भूसतहमुनि थुप्रिएको भूकम्पीय शक्ति त्यति नै ठूलो छ, जति शक्तिले इन्डियन प्लेटलाई १० मिटर युरेसियन प्लेटमुनि धकेल्छ। भौगर्भिक सर्वेक्षणबाट पनि यो क्षेत्रमा ठूलो भूकम्पीय शक्ति थुप्रिएर बसेको पुष्टि गर्छ।
यसबारे मैले भूगर्भविद् दिपक चाम्लागाइँसँग कुरा गरेको थिएँ। उनले २०७२ को भुइँचालोसँग तुलना गर्दै भनेका थिए, ‘२०७२ मा ७.८ म्याग्निच्युडको भुइँचालो जाँदा मध्य–नेपालमा इन्डियन प्लेट करिब साढे तीन मिटर सरेको थियो। यस हिसाबले पश्चिम नेपालमा एकैचोटि १० मिटर सर्यो भने त्यसले लगभग ९ म्याग्निच्युडको भुइँचालो ल्याउन सक्छ।’
भूसतहमुनि रहेका चट्टानी खण्डहरू (टेक्टोनिक प्लेट) कसरी र कति सर्छन् भन्ने पूर्वानुमान गर्न सकिँदैन। पश्चिम नेपालका हकमा पनि इन्डियन प्लेट एकैचोटि १० मिटर सर्न पनि सक्छ वा नसर्न पनि सक्छ।
एकैचोटि १० मिटर सर्यो भने त चाम्लागाइँले भनेजस्तो ९ म्याग्निच्युड भुइँचालो गएर सर्वनाश हुने भइहाल्यो, तर आधा मात्र सर्यो भने पनि त्यसले ल्याउने कम्पन ८ म्याग्निच्युड हाराहारीकै हुनेछ। त्यसबाट हुने मानवीय तथा भौतिक क्षति निकै ठूलो हुनसक्छ।
अब आजको स्टोरीको मूल विषयतिर जाऊँ।
के खुसुखुसु जाने साना साना भुइँचालाले ठूलो भुइँचालोको खतरा टर्छ?
अर्थात्, पश्चिम नेपालमा जसरी ४ देखि ५ म्याग्निच्युडका भुइँचाला लगातार आइरहेका छन्, त्यसले जमिनमुनि थुप्रिएको ९ म्याग्निच्युडको भुइँचालो ल्याउनसक्ने शक्तिलाई बिना कुनै क्षति बिस्तारै निष्कासन गर्छ? के यो सम्भव छ?
गणितीय रूपमा हेर्ने हो भने यो सम्भवजस्तो देखिएला। किनभने, भुइँचालो सानो होस् कि ठूलो, त्यसले जमिनमुनि थुप्रिएको केही न केही शक्ति निष्कासन गरेकै हुन्छ। यदि सानो सानो भुइँचालोले पनि शक्ति निष्कासन गर्छ भने पश्चिम नेपालमा आइरहेका ४–५ म्याग्निच्युडका भुइँचालाले ९ म्याग्निच्युडको शक्ति किन निष्कासन गर्न सक्दैन?
भूगर्भ वैज्ञानिकहरूका अनुसार साना–साना भुइँचाला धेरै गएर ठूलो भुइँचालोको शक्ति निष्कासन हुनु व्यावहारिक रूपले सम्भव छैन।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार भुइँचालोमा एक म्याग्निच्युडको अन्तर हुँदा पनि त्यसको शक्तिमा ३२ गुणा फरक पर्छ।
भन्नुको मतलब, ६ म्याग्निच्युडभन्दा ७ म्याग्निच्युडको भुइँचालो ३२ गुणा ठूलो हुन्छ। त्यस्तै, ७ म्याग्निच्युडभन्दा ८ म्याग्निच्युडको भुइँचालो अर्को ३२ गुणा शक्तिशाली हुन्छ।
यस आधारमा पश्चिम नेपालको जमिनमुनि थुप्रिएको भूकम्पीय शक्ति निष्कासन हुन कति म्याग्निच्युडको भुइँचालो कतिचोटि जानुपर्छ भनेर हिसाब गरौं।
हामीले पश्चिम नेपालमा ९ म्याग्निच्युडको भुइँचालो जाने शक्ति थुप्रिएको छ भनेर माथि भनिसक्यौं। त्यो शक्ति जम्मै निष्कासन हुन ८ म्याग्निच्युडको भुइँचालो ३२ चोटि जानुपर्छ।
त्यस्तै, ७ म्याग्निच्युडको भुइँचालो हजारचोटि गएपछि बल्ल ९ म्याग्निच्युड बराबरको शक्ति निष्कासन हुन्छ।
यसलाई अझ सानो रूपमा हेर्ने हो भने ६ म्याग्निच्युडका भुइँचाला ३२ हजारचोटि जानुपर्छ, ५ म्याग्निच्युडका भुइँचाला त साढे १० लाखचोटि जानुपर्छ।
यही दरमा हिसाब गर्नुस् त, ४ म्याग्निच्युडका भुइँचाला कतिचोटि गएपछि ९ म्याग्निच्युड बराबरको शक्ति निष्कासन होला?
यो ३ करोडभन्दा बढी हुन आउँछ।
भनेपछि कुरा सरल छ, ४–५ म्याग्निच्युडका साना–साना भुइँचाला गएर पश्चिम नेपालको भूसतहमुनि थुप्रिएको ठूलो भूकम्पीय शक्ति निष्कासन हुन व्यावहारिक रूपले सम्भव छैन। पृथ्वीमुनिका चट्टानी खण्डहरूले कहिले पनि त्यसरी काम गर्दैन।
अर्को कुरा, हामीलाई झट्ट सुन्दा ५ म्याग्निच्युडभन्दा ६ म्याग्निच्युडको भुइँचालोमा एक अंकको फरक त हो नि भन्ने लाग्न सक्छ। तर, शक्तिको हिसाबले ३२ गुणा फरक परिसकेपछि त्यसले ल्याउने क्षति पनि निकै ठूलो हुन्छ। २०७२ को भुइँचालो ७.८ म्याग्निच्युडको थियो। नौ म्याग्निच्युड भनेको त्यसको तुलनामा ३२ गुणाभन्दा बढी शक्तिशाली हो।
म्याग्निच्युडका हिसाबले भुइँचालो शक्तिमा यति ठूलो अन्तर हुनुको कारण के त?
पृथ्वीको सतहमुनि चट्टानी खण्डहरू हुन्छन्। जसरी एउटा सुन्तलाभित्र करिब एक दर्जन केस्रा हुन्छन्, त्यस्तै १५ वटाभन्दा बढी साना–ठूला चट्टानी खण्ड मिलेर पृथ्वीको भूसंरचना बनेको छ। त्यस्ता चट्टानी खण्डको मोटाइ साढे दुई सय किलोमिटरसम्म हुन्छ।
यी चट्टानी खण्डहरूलाई वैज्ञानिक भाषामा ‘टेक्टोनिक प्लेट’ भनिन्छ। यिनीहरू एकदमै चलायमान हुन्छन्। कहीँ एउटा चट्टानी खण्ड अर्को खण्डको मुनि घुस्रिन्छ। कहीँ दुइटा चट्टान एकअर्काको विपरीत दिशामा सर्छन्। कहीँ भने दुवै एकअर्काबाट फाट्टिँदै जान्छन्।
भुइँचालो जान यी टेक्टोनिक प्लेट वा चट्टानी खण्डहरू सर्नुपर्छ। भूगर्भ वैज्ञानिकहरूले टेक्टोनिक प्लेटको कति ठूलो हिस्सा सर्दा कति म्याग्निच्युडको भुइँचालो उत्पन्न हुन्छ भनेर हिसाब निकालेका छन्।
यसअनुसार ४ म्याग्निच्युडको भुइँचालो जाँदा १ वर्गकिलोमिटर बराबर सर्छ भने ५ म्याग्निच्युडको भुइँचालोमा १० वर्गकिलोमिटर सर्छ।
त्यस्तै, ६ म्याग्निच्युडको भुइँचालोमा १०० वर्गकिलोमिटर, ७ मा १००० वर्गकिलोमिटर, ८ मा १०,००० वर्गकिलोमिटर र ९ मा १००,००० वर्गकिलोमिटर खण्ड सर्छ।
यसरी पृथ्वीको भूसतहमुनि रहेका चट्टानी खण्ड वा टेक्टोनिक प्लेटको जति ठूलो हिस्सा सर्यो, त्यति नै ठूलो भुइँचालो जाने हुँदा त्यसको शक्तिमा आनका तान फरक पर्छ।
अब आफैं अन्दाज लगाउनुहोस् त, सय वर्गकिलोमिटरको चट्टान सर्दाभन्दा हजार वर्गकिलोमिटरको चट्टान सर्दा कति ठूलो कम्पन उत्पन्न हुन्छ होला? त्यस्तै, दस हजार वर्गकिलोमिटरको चट्टान सर्दाभन्दा एक लाख वर्गकिलोमिटरको चट्टान सर्दा झन् कति ठूलो कम्पन महसुस हुन्छ होला?
भन्नुको तात्पर्य, पाँच सय वर्षदेखि ८ म्याग्निच्युड हाराहारीको भुइँचालो नगएको पश्चिम नेपालमा जति ठूलो भूकम्पीय शक्ति जम्मा भएर बसेको छ, त्यो शक्ति अहिलेजस्ता साना–साना कम्पनले निष्कासन हुन सम्भवै छैन। यसका लागि ठूलै धक्काको खाँचो पर्छ।
भूगर्भ विज्ञानले भुइँचालोको जोखिम पूर्वानुमान गर्न सक्छ, तर भुइँचालो कहिले जान्छ र कत्रो जान्छ भनेर भविष्यवाणी गर्न सक्दैन। पश्चिम नेपालमा खुसुखुसु गइरहेका भुइँचालाबाट हामीले खतराको घन्टी बज्यो भन्ने बुझ्नुपर्छ। यो कुनै पनि बेला बम पड्किन सक्छ भन्ने सूचक हो।
‘बम पड्किँदैछ भन्ने यकिन भइसकेपछि ठूलोभन्दा ठूलो जोखिमको निम्ति पूर्वतयारी गर्नु बुद्धिमानी हुन्छ,’ भूगर्भविद चाम्लागाइँ भन्छन्।
यी पनि पढ्नुहोस्: