मिथिलाक कथासभ : अध्याय १२
काठमाडौंको सबभन्दा ठूलो सांस्कृतिक उत्सव येँया अर्थात् इन्द्रजात्राको पहिलो दिन ‘उपाकु’ पर्व मनाइन्छ।
लिच्छविकालमै सुरू भएको मानिने उपाकुमा काठमाडौंको मध्य–सहर (कोर–सिटी) को सिमाना परिक्रमा गर्दै दोबाटो, चौबाटो र मन्दिरहरूमा काँचो (नपोलेको) दियो बाल्ने चलन छ। यसो गर्दा पितृहरूले मोक्ष प्राप्त गर्छन् भन्ने विश्वास गरिन्छ।
उपाकुमा हिँड्ने बाटोले प्राचीन काठमाडौंको झलक दिन्छ, जुन मोटामोटी खड्ग आकारको छ। हिजोआज सहर विस्तार क्रममा भएका अतिक्रमणले सबै परम्परागत बाटो हिँड्न सम्भव भने छैन।
जस्तो काठमाडौंको उपाकु, त्यस्तै छ जनकपुरको मिथिला परिक्रमा।
फरक एउटै छ, जसरी उपाकु हिँड्दा काठमाडौंको प्राचीन सीमाको झलक पाइन्छ, मिथिला परिक्रमाले भने प्राचीन मिथिलाको सीमा बताउँदैन। यसले प्राचीन मिथिलाका केही महत्वपूर्ण धार्मिक स्थलहरूको मात्र फेरो मार्छ।
यसरी मिथिलाका धार्मिक स्थलहरूको फेरो मार्ने पर्व फागुनको औंशीदेखि पूर्णिमासम्म चल्छ। भोलि सोमबारबाट सुरू भई पन्ध्र दिन चल्ने यो मेलामा हामी भने आजैबाट सामेल होऊँ है त!
मिथिला परिक्रमा सुरू गर्नुअघि परिक्रमा भनेको के हो भन्ने बुझौं।
यो चलन हिन्दु, बौद्ध, सिख र जैन धर्ममा प्रचलित छ। हिन्दुधर्मीहरू कुनै धार्मिक स्थल वा नगरको मात्र होइन, आफ्नै घर–आँगनमा पिपल र तुलसीजस्ता वनस्पतिको समेत परिक्रमा गर्छन्। विवाहको समय अग्निलाई साक्षी मानेर परिक्रमा गर्ने चलन पनि छ।
यस्तो चलन ठ्याक्कै कसरी सुरू भयो भन्ने इतिहास पाइँदैन, तर हिन्दु धर्ममा परिक्रमाबारे एउटा कथा प्रचलनमा छ।
पौराणिक कथाअनुसार एकपटक भगवान शिवले आफ्ना छोराहरू कुमार र गणेशलाई सुमेरू र कुमेरू पर्वत परिक्रमा गरेर आउन भन्छन्। यी दुवै ठाउँ परिक्रमा गरेर जो पहिला कैलाश पर्वत आइपुग्छ, उसलाई वरदान दिने बाचा पनि भगवान शिवले गर्छन्।
कुमार यस्तो सुन्नेबित्तिकै आफ्नो वाहन मयुरमा चढेर सुमेरू र कुमेरू पर्वत परिक्रमा गर्न निस्कन्छन्।
गणेशलाई भने बडो चिन्ता पर्छ।
यसै त उनको बडेमानको शरीर, त्यसमाथि उनीसँग मयुरजस्तो उड्नसक्ने वाहन पनि छैन। आफ्नो वाहन मुसामाथि चढेर सुमेरू र कुमेरू पर्वत परिक्रमा गर्न गए भने कुमारलाई कुनै हालतमा जित्न सकिँदैन भन्ने उनलाई थाहा छ।
गणेशलाई चिन्तित देखेपछि उनको वाहन मुसाले सुझाव दिन्छन्, ‘हे देव! तपाईं किन सुर्ता मान्नुहुन्छ! तपाईंका लागि सुमेरू र कुमेरू पर्वत भनेकै आमाबुवा हुन्। त्यसैले तपाईंले भगवान शिव र पार्वतीकै तीनपटक परिक्रमा गर्नुहोस्।’
मुसाको सुझाव गणेशलाई मन पर्छ।
त्यसपछि उनी शिव र पार्वतीकहाँ गएर प्रार्थना गर्छन्, ‘हे माता, हे पिता! मेरो निम्ति सुमेरू पर्वत भने पनि, कुमेरू पर्वत भने पनि तपाईंहरू नै हो। मेरो निम्ति तीन लोक भनेकै तपाईंहरू नै हो। त्यसैले म किन व्यर्थमा ती ढुंगामाटोका थुप्राहरूको चक्कर लगाऊँ? म तपाईंहरूकै परिक्रमा गर्छु।’
यति भनेर गणेशले शिव र पार्वती बसिरहेको ठाउँ तीनचोटि परिक्रमा गर्छन्।
गणेशको चलाखी देखेर शिव खुसी हुन्छन् र उनलाई वरदान दिन्छन्, ‘कुनै पनि सत्कार्य गर्दा पहिला तिम्रो पूजा नगरी सिद्धि नहोस्।’
आज पनि शुभकार्यको सुरूआतमा गणेशको पूजा गर्ने चलन छ। यो चलन परिक्रमाबाटै सुरू भएको हो।
यो कथापछि अब हामी मिथिला परिक्रमाबारे चर्चा गरौं।
‘मिथिला महात्मय’ किताबमा मिथिला परिक्रमाको चर्चा गरिएको छ, जसअनुसार अठारौं शताब्दीभन्दा अगाडि नै यसको सुरूआत भएको देखिन्छ। मिथिला परिक्रमा पहिला कात्तिक, फागुन र वैशाख गरी तीनपटक हुने गरेको किताबमा उल्लेख छ। हिजोआज भने फागुनमा मात्र हुन्छ। परिक्रमा क्रममा हिँड्ने मार्गहरूबारे पनि किताबमा वर्णन छ।
जनकपुरका स्थानीय विजयकुमार लाल कर्णका अनुसार मिथिलामा पहिला तीनवटा परिक्रमा प्रचलनमा थिए — बृहत मिथिला परिक्रमा, मिथिला मध्य परिक्रमा र अन्तर्गृह परिक्रमा।
बृहत मिथिला परिक्रमालाई चौरासी कोश परिक्रमा पनि भनिन्थ्यो। यसमा मिथिला क्षेत्रको गंगा नदी, गण्डकी नदी, कोशी नदी र हिमालय क्षेत्रसम्मको फेरो मारिन्थ्यो। यो अहिले चलनचल्तीमा छैन। अहिले मध्य र अन्तर्गृह परिक्रमा मात्र गरिने कर्ण बताउँछन्।
‘मिथिला मध्य परिक्रमाले सानो क्षेत्र समेट्छ। पहिला यो पाँच दिन चल्थ्यो, अहिले पन्ध्र दिनको हुन्छ। जो पन्ध्रदिने परिक्रमामा सामेल हुन सक्दैनन्, उनीहरू अन्तर्गृह परिक्रमामा सामेल हुन्छन्, जुन फागु पूर्णिमाको दिन हुन्छ,’ उनले भने।
मिथिला परिक्रमा सुरू हुनुमा आजभन्दा करिब तीन सय वर्षअघि भारतबाट सीताको जन्मभूमि खोज्दै जनकपुर आइपुगेका साधुहरूको पनि ठूलो हात रहेको मानिन्छ। ती साधुहरूले प्राचीन मिथिला खोज्दै आउँदा कसरी जनकपुर पत्ता लगाएका थिए भनेर हामीले अघिल्ला अध्यायमा बताइसकेका छौं।
संस्कृति अध्येता तथा लेखक रोशन जनकपुरीका अनुसार रामानन्दी सम्प्रदायका साधु सुरकिशोर दास र उनका शिष्यहरूले भारतको अयोध्या, मध्यप्रदेश र उत्तरप्रदेशका विभिन्न ठाउँमा जनकपुरको प्रचारप्रसार गरेका थिए। यो सहरको महिमा व्यापक रूपले प्रचार गर्ने पहिलो किताब ‘श्री महाराजा चरित्र’ थियो, जुन भारतको अयोध्याबाट प्रकाशित भएको थियो। सन् १८०५ मा रामानन्दी सम्प्रदायका रघुनाथ दासले यो किताब लेखेका थिए।
यस किताबमा जनकपुरका पोखरी, वरिपरिका गाउँ र जनकपुर सहरबाट दस माइल वरिपरिका पुराना शिव मन्दिरको चर्चा गरिएको छ। जनकपुरबाट करिब बत्तीस माइल दक्षिण–पश्चिममा सीतामढी रहेको पनि किताबमा छ, जहाँ राजा जनकले हलो जोत्दा जमिनमुनिबाट सीता फेला पारेका थिए। सीतामढी अहिले भारतमा पर्छ।
जनकपुरीका अनुसार यो किताबले जानकी मन्दिर भएको ठाउँमा पहिले जनक दरबार थियो र त्यसको ठ्याक्कै अगाडि ठूलो मैदानमा शिवधनुष राखिएको थियो भनेर उल्लेख गरेको छ। शिवधनुष प्रदर्शनी स्थलमा ल्याउनुअघि धनुषसागरमा राखिएको र त्यहीँबाट प्रदर्शनीस्थलसम्म ल्याइएको पनि भनिएको छ।
किताबमा सीता र रामको पहिलोपटक देखादेख भएको स्थल फूलहर (गिरिजास्थान) भएको उल्लेख छ।
‘सीताको स्वयंवरमा रामले धनुष भाँचेपछि एउटा हिस्सा उछिट्टिएर झरेको ठाउँ जनकपुरबाट बाह्र माइल उत्तर धनुषाधाममा रहेको कथा फैलाउने श्रेय यही किताबलाई जान्छ,’ जनकपुरीले भने।
रामानन्दी सम्प्रदायकै अर्का साधु युगलप्रिया शरणले सन् १९६१ मा प्रकाशन गरेको किताब ‘श्री रसिक प्रकाश भक्तमाला’ ले भने मिथिला परिक्रमाको चर्चा गरेको छ। त्यसमा उन्नाइसौं शताब्दीको सुरूमा भारतको सीतामढीका सीताप्रसाद र मुजफ्फरपुर जिल्ला पिपरा मठ (हाल सीतमढी जिल्ला) का सुरदास नामक साधुलाई मिथिला परिक्रमा गर्ने प्रारम्भिक व्यक्तिहरू भनिएको छ।
‘सुरूमा ती दुई साधुले जनकपुर वरिपरि दस माइलको परिक्रमा वृत्त बनाएका थिए। त्यो कल्याणेश्वर महादेव मन्दिरबाट सुरू भएर पाँच दिनपछि यही ठाउँमा अन्त्य हुन्थ्यो। पाँच दिनमा पूरा हुने यस परिक्रमा पथमा कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र मिथिलेश्वर पर्थ्यो,’ जनकपुरीले भने, ‘यी दुई साधुले जनकपुरको अभिभावक मानिने भगवान शिवलाई जल र बेलपत्र चढाउँथे। उनीहरूले सुरू गरेको जनकपुरको परिक्रमा नै पछि पन्ध्रदिने मध्य परिक्रमा र जनकपुरधाम नगरको पाँचदिने अन्तर्गृह परिक्रमाका रूपमा विकसित भयो।’
सीताप्रसाद र सुरदासले सुरू गरेको मिथिला परिक्रमा लोकप्रिय हुँदै गएपछि टाढा–टाढाका साधु र भक्तजनसमेत सहभागी हुन आउन थाले। त्यति बेलासम्म जनकपुर ‘बाउन्न कुटीको तीर्थस्थल’ का रूपमा प्रसिद्ध भइसकेको थियो। यिनै कुटीमध्ये सीताकुण्ड एक थियो।
‘सन् १८१४ मा मिथिला परिक्रमाको नेतृत्व सीताकुण्डले गर्ने परम्परा सुरू भएको देखिन्छ। त्यति बेला यस मन्दिरका महन्थ रामदास आचार्य थिए। महन्थ रामदासको मृत्युपछि उनका प्रथम शिष्य कुञ्जबिहारी दास महन्थ भए। केही समयपछि उनले आफ्नी श्रीमती र छोरालाई मन्दिरमा ल्याएर राखे। रामदासका अर्का शिष्य लाडलीशरणले यसको विरोध गरे तर कुञ्जबिहारीले मानेनन्,’ जनकपुरीले भने, ‘वैरागी कुटीमा स्त्रीलाई प्रवेश गराउनु वैरागी सम्प्रदायको मान्यताविपरीत भन्दै असन्तुष्टि जनाएका लाडलीशरण सीताकुण्ड त्यागेर जनकपुरधामभन्दा करिब आठ किलोमिटर पूर्व जलाधि नदीको किनारमा रहेको कचुरी गाउँमा गएर बसे।’
त्यस वर्ष परिक्रमाको समय अयो। परिक्रमाको नेतृत्व कसले गर्ने भन्नेमा कुञ्जबिहारी र लाडलीशरणबीच विवाद उत्पन्न भयो। कुटीको परम्परा भंग गरेको र विवाह गरेर गृहस्थ जीवनमा प्रवेश गरिसकेकाले कुञ्जबिहारीले वैरागी साधुका रूपमा परिक्रमा नेतृत्व गर्ने अधिकार गुमाएको लाडलीशरणको दाबी थियो।
जवाफमा कुञ्जबिहारीले भने, ‘म गुरू रामदासको पहिलो शिष्य र जनैधारी पनि हुँ। तिमी शुद्र जातिको भएकाले यस्तो पवित्र परम्पराको नेतृत्व गर्ने अधिकार तिमीलाई छैन। यसको नेतृत्व गर्ने एक मात्र अधिकारी म हुँ।’
यो विवाद जनकपुरको बाउन्न कुटीको साधु–समाजकहाँ पुग्यो।
त्यति बेला जनकपुरको बाउन्न कुटीको साधु–समाजले विवाद छिनोफानो गर्यो कि गरेन भन्नेबारे कतै उल्लेख पाइँदैन। तर त्यसै वर्ष फागुन महिनामा परिक्रमा गर्ने समय आएपछि वैरागी साधुहरू लाडलीशरण बसेको कचुरी गाउँका देउताको डोला र झन्डापछाडि लामबद्ध भए।
‘यसरी पन्ध्रदिने मिथिला परिक्रमामा लाडलीशरणको नेतृत्व स्वीकार भयो। त्यसपछि परिक्रमाको नेतृत्व कचुरीस्थानको डोलाले गर्ने परम्परा स्थापित भयो र यो क्रम अहिले पनि जारी छ,’ जनकपुरीले भने, ‘लाडलीशरण बसेको कचुरीस्थानको डोलालाई हाल मिथिला बिहारीको डोला भनिन्छ। परिक्रमा निम्ति जनकपुर र अन्य ठाउँको डोलालाई हनुमाननगरमा जम्मा गराएर कल्याणेश्वरका लागि प्रस्थान गर्दा सबभन्दा अगाडि कचुरीस्थानकै डोला राखिन्छ।’
हामी रिपोर्टिङ क्रममा एकदिन लाडलीशरण बसेको स्थल गएका थियौं। त्यसलाई हाल श्री मिथिला बिहारी मन्दिर भनिन्छ।
त्यहाँका स्थानीय धर्मेन्द्र यादवका अनुसार मिथिला परिक्रमाको सुरूआत मिथिला बिहारीबाट भारतको कल्याणेश्वर पुगेर आफ्नो चिह्न बनाएपछि हुन्छ र विभिन्न ठाउँ परिक्रमा गरेर आफ्नो चिह्न मेटाएपछि परिक्रमा सम्पन्न हुन्छ।
मिथिला परिक्रमा फागुन औंशीबाट सुरू हुने भए पनि शिवरात्रिबाटै यहाँका भक्तजन आफ्नो चिह्न बनाउँदै हिँड्छन्।
‘हामी यहाँबाट सबभन्दा पहिला जनकपुर जान्छौं। जनकपुरमा जानकी मन्दिरमा भगवानलाई भेटी चढाउँछौं र किशोरीजी (जानकी) को डोला लिएर हनुमानगढी जान्छौं। त्यहाँ रातमा प्रवास बस्छौं अनि अर्को दिन भारतको कल्याणेश्वर पुग्छौं। त्यो दिन त्यहीँ बसिन्छ। त्यसको अर्को दिन कल्याणेश्वरमा आ–आफ्नो निसान लगाएर परिक्रमा प्रारम्भ हुन्छ,’ उनले भने, ‘हामी मिथिला बिहारीबाट दुई दिनअघि नै हिँड्ने भए पनि गन्ती कल्याणेश्वरबाटै हुन्छ।’
त्यहाँबाट उनीहरू फूलहर (गिरिजास्थान) भन्ने ठाउँ पुग्छन्। यही ठाउँमा त्रेतायुगमा सीता फूल टिप्न जाने गरेको जनविश्वास छ। राम र सीताको पहिलोपटक देखदेखा भएको ठाउँ पनि यसैलाई मानिन्छ। हाल यो ठाउँ भारतमा पर्छ।
त्यहाँबाट फेरि उनीहरू नेपालको महोत्तरीमा पर्ने मटिहानी भन्ने ठाउँ आउँछन्, जहाँ सीताको विवाह विधि ‘मटकोर’ भएको मानिन्छ।
‘त्यसपछि हामी महोत्तरीकै जलेश्वर मन्दिर जान्छौं, जहाँ जलेश्वरनाथको भव्य शिव मन्दिर छ। त्यहाँ रात बिताएपछि अर्को दिन मडै भन्ने ठाउँ जानुपर्छ। त्यहाँबाट हामी ध्रुव कुण्ड जान्छौं, जहाँ ध्रुव भन्ने बालकले तपस्या गरेको मानिन्छ,’ यादवले भने, ‘ध्रुव कुण्डपछि कञ्चन वन जान्छौं, जुन ठाउँमा राम र सीताले होली खेलेको मानिन्छ। त्यहाँ जंगलजस्तै ठाउँ छ। त्यहाँ रात बिताएपछि अर्को दिन क्षीरेश्वर जानुपर्छ। त्यहाँ पनि शिवको मन्दिर छ।’
त्यहाँबाट पर्वता, धनुषाधाम, सत्तोषर, औरही हुँदै उनीहरू फेरि भारतमा पर्ने करूणा, बिसौल र कल्याणेश्वर पुग्छन्।
‘कल्याणेश्वरमा शिवको ठूलो मन्दिर छ। त्यहाँ पुगेपछि यो वर्षको परिक्रमा पूरा भयो भनेर सबैले आ–आफ्नो चिह्न मेटाउँछन्,’ यादवले भने, ‘पन्ध्र दिनको मध्य परिक्रमा सकिएपछि कतिपय व्यक्तिहरू अन्तर्गृह परिक्रमाका लागि जनकपुर आउँछन्। तर कल्याणेश्वरमा चिह्न मेटाएपछि त्यहाँ जानुपर्ने बाध्यता छैन। मिथिला बिहारी र किशोरीजी भगवानको डोलासहित जनकपुर आएपछि मध्य परिक्रमा गर्न छुटेकाहरू अन्तर्गृहमा सहभागी हुन्छन्।’
जनकपुरको अन्तर्गृह परिक्रमा ठ्याक्कै फागु पूर्णिमाको दिन पर्छ। परिक्रमाकै कारण मिथिला क्षेत्रमा पूर्णिमाको दोस्रो दिन मात्र होली हुने गरेको जनकपुरकी स्थानीय रिंकुकुमारी मिश्र बताउँछिन्।
‘फागु पूर्णिमाको दिन मिथिला मध्य परिक्रमाको पन्ध्र दिन हुन्छ। त्यस दिन प्रायः सबै जनकपुरवासी परिक्रमामा जान्छन्। दिनभर परिक्रमामा हिँडेकाले आराम गरेर भोलिपल्ट होली मनाइन्छ,’ उनले भनिन्।
पन्ध्र दिनको मिथिला मध्य परिक्रमामा जानेहरूले विभिन्न नियम पालना गर्नुपर्ने धर्मेन्द्र यादव बताउँछन्।
‘हामी खाली खुट्टा हिँड्छौं। परिक्रमाको समय दाह्री र कपाल काट्न हुन्न। हरेक दिन बिहान नुहाउनुपर्छ। बाटोमा जहाँ पोखरी, तलाउ भेटिन्छ, त्यहाँ पनि नुहाउनुपर्छ। भनिन्छ, परिक्रमाको बाटोमा ५२ वटा पोखरी पर्छन्,’ यादवले भने, ‘परिक्रमा गर्नेहरूलाई कुन दिन कहाँ बस्ने भनेर ठाउँ तोकिएको हुन्छ। कुनै ठाउँमा उनीहरूलाई त्यहीँका स्थानीयले खानेकुरा र ओछ्याउन पराल दिन्छन्। कुनै ठाउँमा भने उनीहरू आफैं छाप्रोजस्तो सानो ठाउँ बनाएर बस्छन्।’
हामीले यादवलाई सोध्यौं, ‘परिक्रमा गर्यो भने के हुन्छ?’
उनले भने, ‘परिक्रमा भनेको एउटा पवित्र कार्य हो, जसमा मिथिला क्षेत्रका लाखौं लाख मान्छे हिँड्छन्। मान्छे हिँड्दा धुलैधुलो उड्छ। त्यो धुलो मान्छेको टाउकोमा पर्छ। यसरी टाउकोमा धुलो परेपछि मान्छे पवित्र हुन्छ भन्ने मानिन्छ।’
‘मिथिला महात्मय’ किताबमा पनि परिक्रमा गर्दाको फलबारे लेखिएको छ, ‘मिथिलामा बसेका मान्छेले कुनै पाप गरेका छन् भने त्यसको राम्रो प्रायश्चित्त गर्ने मौका मिथिला परिक्रमा हो।’
कोही परिक्रमामा सहभागी हुन सकेनन् भने परिक्रमामा जाने व्यक्तिलाई सहयोग गर्न सक्छन्। त्यसो गर्दा पनि परिक्रमा गरेजत्तिकै पुण्य प्राप्त हुने किताबमा उल्लेख छ।
‘यदि तपाईंले परिक्रमामा सहभागी भएकाहरूलाई खाना खुवाउनुभयो, बस्ने ठाउँ दिनुभयो, अशक्तलाई सहयोग गर्नुभयो र परिक्रमा मार्ग सफा गर्नुभयो भने पनि तपाईंले परिक्रमा गरेजत्तिकै फल पाउनुहुन्छ,’ मिथिला महात्मयमा छ।
सोमबारबाट मिथिला परिक्रमा सुरू हुँदैछ। तपाईं पनि परिक्रमामा सहभागी हुने कि सहभागीहरूलाई मद्दत गरेर पुण्य कमाउने?
यी पनि पढ्नुहोस्: