काठमाडौंको बालाजुमा सोमबार भएको यातायात मजदुरको आन्दोलनको क्रममा नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा तोडफोड भयो। आन्दोलन भइरहँदा एउटा समूह मलभित्र पस्यो। उक्त समूहले मलमा रहेको मोबाइल पसलका सटरहरू आफैं खोलेर लुटपाट गरे।
मलमा रहेका दुई वटा मोबाइल पसल, एसिडिसी र डाइमोन्ड स्टारमा लुटपाट भएको हो। एउटा मोबाइल मर्मत गर्ने ल्याबमा पनि लुटपाट भएको थियो। जसमा बनाउन ल्याएका मोबाइल थिए।
मजदुरहरूले सोमबार अपराह्नमा आन्दोलन गर्न थालेपछि मलका मोबाइल व्यवसायीहरूले आफ्ना सटरहरू बन्द गरिसकेका थिए। तर आन्दोलनकै क्रममा उग्र बन्दै गएको प्रदर्शनकारीहरूले तालासमेत फोडेर लुटपाट गरेको डाइमन्ड स्टारका सञ्चालक रतन सुवेदीले बताए।
‘पसलहरू सबै बन्द गरी राखिसकेका थियौं। तर उनीहरू आएर सटरसमेत खोलेर लुटपाट गरे,’ उनले भने,‘दुईवटा पसल र एउटा ल्याबमा लुटपाट हुँदा ८ देखि १० करोडको क्षति पुगेको छ।’
लुटपाट गरिएका सामानको क्षति विवरण आए पनि भौतिक संरचनाको पूर्ण विवरण निकालिनसकेको पनि उनले बताए।
मोबाइल लुटपाट भएको घटनाबारे सार्वजनिक गर्न मंगलबार नेपाल मोबाइल व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेको थियो।
पत्रकार सम्मेलनमा बोल्दै एसिडिसी प्रालिका सञ्चालक अर्जुन चालिसेले आफ्नो पसलमा बैंकलाई ब्याज तिर्नको लागि राखिएका पैसा पनि चोरी भएको बताए।
‘बैंकको ब्याज तिर्न पैसा पनि राखेका थियौं। शनिबार डिपोजिट गर्न पाएनौं, आइतबार बिदा नै भयो, त्यसैले हाम्रो ठूलो नोक्सानी भएको छ,’ उनले भने, ‘मेरो प्रवेशद्वारमै पसल भएकाले सुरूमै आक्रमण गरे। व्यवसायीहरूले नै व्यवसायीमाथि आक्रमण गरे। आन्दोलनभन्दा पनि चोर्ने नीति बनाएको हो कि भन्ने पनि लाग्छ।’
लुटपाट मच्चिँदा प्रहरी प्रशासन र राज्यका अन्य निकायले केही गर्न नसकेको नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भण्डारीले बताए।
‘यत्रो लुटपाट हुँदा सुरक्षा निकाय के हेरेर बस्यो? आज १६-१७ घन्टा बितिसक्दा पनि किन कसैलाई पक्राउ गरेको छैन,’ उनले भने, ‘हामीले कसैलाई आदेश दिएका छैनौं। यो गर्नुस् /त्यो गर्नुस् भनेका छैनौं। त्यसको मतलब यो होइन कि हामी आदेश नै दिँदैनौं, संघर्ष नै गर्दैनौं। हामी केही समय पर्ख र हेरको अवस्थामा पुगेका छौं। राज्यका निकायले हाम्रा कुरा सुन्छन् कि, क्षतिपूर्ति दिन्छन् कि भनेर पर्खेर बसेका छौं।’
४८ घन्टाभित्र लुट्ने समूह पक्राउ नगरे र क्षतिपूर्तिको व्यवस्था नगरे नेपालभरी नै आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले यस घटनाबारे अनुसन्धान अघि बढाइसकेको छ।
परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरिसकेको बताए। यस्तै केही मोबाइल सेट पनि बरामद भएको उनले बताए।
लुटपाटबाट कति क्षति भएको हो भन्ने पनि अनुसन्धानबाट खुल्ने कार्कीले बताए।
‘मोबाइल खरिदका बिल होलान्। मोबाइलका आइएमआइई नम्बर हुन्छन्। अनुसन्धान गर्दै जाँदा सबै खुल्छन्,’ उनले भने।
प्रहरीले पक्राउ गरेकामाथि मुद्दा चलाउने तयारी पनि गरिरहेको छ। अन्यको पनि खोजी भइरहेको उनले बताए।
मोबाइल व्यवसायीहरूले सरकारसँग क्षतिपूर्तिको माग गरे पनि त्यसको भरपाई लुटपाट गर्नेहरूबाटै गराउने गृह मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले बताए।
अनुसन्धानको क्रममा क्षति विवरण सबै खुल्ने भएकाले सबै क्षतिपूर्ति दोषीहरूबाटै भराउनले उनले बताए।
‘छानबिन गर्दा सबै विवरण खुल्छन्। दोषीबाट नै भराउने हो। चोरी भएका मोबाइलहरू त पत्ता लागेका छन् भने लुटेको त फेला पर्छन्। भिडिओ क्लिप्स नै नभएका घटनाका चोरीहरू त समातिएका छन्, यसमा त भिडिओहरू नै छन्,’ उनले भने, ‘यसमा चिनिने गरी आएका छन्। त्यसैले क्षतिपूर्ति जसले लगेको हो त्यसैबाट भरपाइ गराउने हो। अहिले अनुसन्धान गर्न दिउँ पछि तथ्यहरू बाहिर आउलान्।’
सोमबार भएको आन्दोलनमा प्रदर्शनकारीले प्रहरीका दुई वटा भ्यान र प्रहरी अस्थायी बिटमा आगजनी गरेका थिए।यस्तै ट्राफिक आयल्यान्ड पनि भत्काएका थिए। मजदुरको संघले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन ठप्प पार्ने निर्णय पनि गरेको थियो।
मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपप्रधान तथा मन्त्री नारायणकाजी श्रेष्ठसँगको छलफलपछि मजदुरले निर्णय फिर्ता लिएका थिए।
वार्तामा मन्त्री श्रेष्ठले यातायात क्षेत्रका समस्या कार्यदल बनाएर समाधान गरिने प्रतिबद्धता जनाएका थिए।
'सबैको समस्या एक ठाउँमा राखेर सम्बोधन गर्न हामीले कार्यदल बनाइसकेका छौं। तत्काल तपाईंहरूले उठाएका जरिवाना तथा लाइसेन्स सस्पेन्सका विषयमा सम्बोधन गर्दै जान्छौं,' मन्त्री श्रेष्ठले भनेका थिए।
छलफलमा यातायात मजदुरहरूले उपत्यका ट्राफिक प्रहरीको व्यवहारका कारण आफूहरू आन्दोलनमा उत्रिनु परेको बताएका थिए।
आफूहरुले यातायात क्षेत्र सुधारका लागि सरकारलाई पटक-पटक राखे पनि नसुनिएका कारण यातायात ठप्प पार्नु परेको उनीहरूको तर्क थियो।