ललितपुर, झम्सिखेलको एक किराना पसलमा काम गर्छन् विश्राम चौधरी। उनको काम साइकलमा पानीको जार बोकेर घरघरमा पुर्याउनु हो।
तीस वर्षीय विश्रामले लामो समयदेखि यो काम गर्दै आएका हुन्। साइकलमा तीन वटा जार बोकेर कुद्न उनलाई कुनै सकस थिएन। दिनमा पन्ध्र-बीस पटक जार बोकेर साइकलमा ओहोरदोहोर सहजै गर्थे।
तीन महिनायता भने उनलाई सास्ती हुन थालेको छ। उनी यी तीन महिनामा तीनै पटक साइकल र जारसहित लडिसके। एकपटक त जार पनि फुट्यो। पछारिनुको कारण उनको शरीर कमजोर भएर होइन, न त साइकल बिग्रेर वा पानीको जार धेरै भएर हो।
उनलाई लडाएको त फुटपाथले हो।
झम्सिखेल क्षेत्रमा काम गर्ने उनलाई तीन महिनाअघि भत्काएर छाडेको फुटपाथले अचेल दिनहुँ सास्ती दिन्छ।
'जताततै ढुंगा र माटोको थुप्रो छ। साइकल चलाउन त के, डोर्याउन समेत असजिलो भएको छ,' उनले भने।
उनले पानी पुर्याउँदा फुटपाथ छिचोलेर, घरका गेट पार गरेर भित्र जानुपर्छ। ललितपुर महानगरपालिका वडा नम्बर ३ मा पर्छ यो ठाउँ। वडा कार्यालयले नयाँ बनाउने भन्दै झन्डै तीन महिनाअघि फुटपाथ भत्काएको हो। ब्लकहरू निकालेर लगेको छ, खाली भएको ठाउँमा धूलाम्मे छ।
फुटपाथ जोड्ने घरका गेट र कालोपत्रे सडकको डिल भने उस्तै छ। फुटपाथको करिब एक मिटर भित्री भाग मात्र खाल्डो परेकाले खुट्टा जोगाएर हिँड्नुपर्छ।
'भारी बोकेको साइकललाई त ज्यानकै भारले धान्नुपर्छ। बीचमा फसेपछि निकाल्न कम्ता गाह्रो हुँदैन,' उनले भने, 'बरू जस्तो थियो त्यही ठीक थियो, नभत्काएको भए हुन्थ्यो।'
भत्केको फुटपाथका कारण मोटरसाइकल, अझ स्कुटरलाई झनै जोखिम भएको छ। गेटभित्र र बाहिर निकाल्दा बीचमा फसेका दुईपांग्रे निकाल्न हम्मे हुन्छ। उत्रेरै निकाल्न सके ठिकै हो, नभए धकेलिदिने मान्छे पर्खिनुको विकल्प हुँदैन।
अझ कम उचाइ भएकाले त बीचमा परेपछि खुट्टा टेक्न भ्याउँदैनन्। सवारी लड्खडाएर थुप्रै चालकहरू लडिसके। केही त घाइते समेत भएका छन्। यसरी घाइते हुनेमा दुईपांग्रे चालक मात्र होइन, पैदलयात्रु पनि छन्।
ब्लक उक्काइएको भाग समथर भए त सिधा हिँड्न सक्नु! कहीँ माटोको ढिस्को बनेको छ, कहीँ ब्लक र ढुंगाको टुक्राको थुप्रो। अनि कहीँ खाल्डो। दमकल, पुलचोकस्थित सुमेरू अस्पताल गेटबाट झम्सिखेल चोकसम्म भत्काइएको एक किलोमिटरभन्दा लामो फुटपाथको अवस्था यस्तै छ।
'कहिलेकाहीँ औषधि वा कुनै सामान लिन जानुपर्दा साह्रो सकस हुन थालेको छ,' सुमेरूको मेडिकलमा औषधि किन्न आइपुगेका कुपन्डोलका बासिन्दा ७० वर्षीय वृद्धले भने, 'रोडमा त गाडी गुड्छ। हिँड्ने बाटो भनेको यही हो। तर कहीँ खाल्डा, कतै ढुंगा राखेर यस्तो बिजोग बनाइदिए। हरेकचोटि लडिएला कि भनेर डराउँदै पाइलो टेक्नुपर्छ।'
मर्मतका नाममा भत्काएर अलपत्र पारिएको फुटपाथले यो बाटो हिँड्ने र यहाँका घरहरूमा आउजाउ गर्नेलाई जोखिम भएको छ। अर्कातिर धूलोले घर, पसल, रेस्टुरेन्ट जस्ता बाटामै पर्ने व्यवसायको हैरानी पनि बढाएको छ। कि सफा गरिरहनु पर्यो, नभए फुटपाथमा पानी छम्किरहनु पर्यो।
'एक-दुईपटक पानी छम्केर नि हुँदैन, सफा गरेर नि हुँदैन। यसले खर्च र समय दुबै धेरै खाइसक्यो,' एक रेस्टुरेन्ट व्यवसायीले भने, 'सफा नभए त ग्राहक छिर्न नि मान्दैनन्। छिर्न पनि यस्तो अप्ठ्यारो बाटो छ। किन नबनाएको होला यो बाटो?'
हामीले यही प्रश्न वडा कार्यालयलाई सोध्यौं।
वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जनले फुटपाथ बनाउने सामान नआइपुगेकाले ढिलाइ भएको बताए। उनका अनुसार यो फुटपाथ अपांगता भएका व्यक्तिहरूका लागि सहज हुने गरी बनाउन लागिएको हो। अर्थात् यसमा दृष्टिबिहीनहरूले बाटो पहिचान गर्न सक्ने लामो धर्के ब्लक राखिनेछ। त्यस्तै पहिलेका ब्लक पुराना भएकाले मर्मत गर्नुपर्ने भएको उनको भनाइ छ।
'यिनै सामान आउन ढिला भएकाले हो,' वडा अध्यक्ष महर्जनले भने, 'यी सामान कपिलवस्तुबाट आउने हो। अहिले एक गाडी मात्र सामान आएको छ। अरू आइपुगेको छैन, त्यसैले काम रोकिएको हो। अर्को साताबाट तुरून्तै मर्मतको काम सुरू हुन्छ।’
हाम्रा सानादेखि ठूलासम्मका पूर्वाधार मर्मत गर्दा होस् वा नयाँ बनाउँदा, भत्काएर अलपत्र छाड्ने चलन सबैतिर छ।
सामानको टुंगै नगरी, भइरहेको फुटपाथ भत्काउन किन हतार त?
'बाटो अवरोध हुँदा विरोध हुन्छ भनेरै हामीले छिट्टै सामान मगाएका थियौं,' वडा प्राविधिक ईश्वरकुमार श्रेष्ठले भने, 'तर नारायणगढ मुग्लिङ सडकखण्डको बाटो बिग्रिएकाले सामान ल्याउन ढिला भयो।'
यो फुटपाथ मर्मत उपभोक्ता समिति मार्फत् हुन्छ। यो समिति पनि यही माघमा मात्र गठन भएको हो। वडा सचिव रिना मर्हजनका अनुसार पहिलो किस्ताको लागि बजेट विनियोजन भइसकेको छ। वडाको आर्थिक वर्ष २०७९/०८० को योजनाअनुसार फुटपाथ मर्मतका ३४ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी