साउन ३० गते सुर्खेतको वीरेन्द्रनगरमा ४७.६२ ग्राम ब्राउन सुगरसहित स्थानीय सरला शाही र किरण गिरी प्रक्राउ परे। प्रहरीले उनीहरूविरुद्ध मुद्दा चलाएको छ।
उनीहरूको बयानबाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ का ४९ वर्षीय कल्लु कबडिया पनि संलग्न रहेको थाहा भयो। सुर्खेत प्रहरीले कल्लुलाई पक्राउ गर्न अदालतबाट पुर्जी जारी गराएर बाँके पठायो।
बाँके प्रहरीले गत कात्तिक १७ गते कल्लुलाई पक्राउ गरेर सुर्खेत पठायो। प्रहरीले कल्लुलाई पनि सरला र किरणकै मुद्दामा समावेश गर्यो।
यो घटनापछि प्रहरीले सुर्खेत र आसपासमा भेटिने लागुऔषधका कारोबारी र लागुऔषध प्रयोगकर्ताको सञ्जाल नेपाल–भारत खुला सीमानासँग जोडिएको निष्कर्ष निकालेको छ।
‘लागुऔषध कारोबारीहरूले आफ्नो लिंक (सम्बन्ध) कोसँग छ, कहाँको मानिसबाट कारोबार हुन्छ भन्ने कुरा खोल्दैनन्,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी (प्रहरी नायव उपरीक्षक) सुरज कार्की भन्छन्, ‘धेरै दिनको सोधपुछका क्रममा खुलिहाले पनि अधिकांशको लिंक बाँकेका कारोबारीसँग हुने गरेको भेटिन्छ।’
उनका अनुसार सुर्खेत र आसपासका भित्री नाकाहरूबाट पक्राउ परेका र मुद्दा प्रक्रियामा गएका धेरैजसो लागुऔषध कारोबारी र दुर्व्यसनीहरूले आफूलाई 'सामान' दिने व्यक्तिबारे केही पनि बताउँदैनन्।
उनीहरू आफूले पनि कारोबारीलाई नचिनेको बताउँछन्।
‘हामी रुपैडिहा जान्छौँ, पारिपट्टि एक जना दाइ बसेको हुन्छ, त्योबाट ल्याउँछौँ भन्छ,’ डिएसपी कार्की भन्छन्, ‘भारतीय कारोबारीसँग पनि उनीहरूको लिंक छ भनेर त अन्दाज गर्न सकिन्छ र हामीले त्यसमा एक्सन लिन सकिँदैन।’
उनका अनुसार भारतीय सीमावर्ती बजारसँग सम्बन्ध बनाएर बाँकेका लागुऔषध कारोबारी सुर्खेतमा पनि बस्छन्। उनीहरूले आफ्नो सञ्जाल प्रयोग गरेर भारतबाट लागुऔषध ल्याउने र सुर्खेतमा कारोबार गर्ने गरेको केही घटनाले देखाउँछन्।
सुर्खेत प्रहरीले नेपालगञ्जका २७ वर्षीय साइवा हल्वाई र ३५ वर्षीय सलिम हल्वाईलाई ५६० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित गत भदौ १७ गते पक्राउ गरेको थियो। प्रहरीले उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको छ।
नेपालगञ्जका ४२ वर्षीय वसिम अन्सारी र ३९ वर्षीय काधिर अली जोलाह विरुद्ध पनि असोजमा सुर्खेतमा दर्ता भएको छ। प्रहरीका अनुसार उनीहरूसँग ५४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो।
भारतको बहराइच, नानपारा स्थायी ठेगाना भएका २६ वर्षीय लियाकत अलीविरुद्ध पनि लागुऔषध सम्बन्धी एउटा मुद्दा छ। उनी सुर्खेतको वीरेन्द्रनगरमा बस्थे।
इलाका प्रहरी कार्यालय छिन्चुको टोलीले उनलाई सुर्खेत आउँदै गर्दा छिन्चुमा पक्राउ गरेको थियो।
उनीविरुद्ध गत कात्तिकमा मुद्दा दर्ता भएको छ। प्रहरीका अनुसार उनको साथमा ३.५५ ग्राम ब्राउनसुगर फेला परेको थियो।
भारतसँगको खुला सीमा नै कर्णाली प्रदेशमा लागुऔषध कारोबार र प्रयोगको दर बढाउने मुख्य कारणका रूपमा रहेको छ। कर्णाली प्रदेशका विभिन्न ठाउँबाट पक्राउ पर्ने अधिकांशको सञ्जाल रुपैडिहा नाकासँग जोडिएको प्रहरीको भनाइ छ।
डिएसपी कार्की भन्छन्, ‘कर्णाली भित्रिन सुर्खेतका दुइटा नाका छन्। सल्यानको एउटा नाका हो। यहाँ (सुर्खेत) लागुऔषध कारोबारमा भेटिएका धेरै मानिस बाँके हुँदै आएको देखिएको छ।’
प्रहरीका अनुसार लागुऔषध कारोबारीहरू सीमानाकाबाट पैदल हिँडेर पनि सुर्खेत आउँछन्।
‘पारिसम्म कसरी आएका हुन्छन्, थाह हुँदैन। यता प्रवेश गर्दा हिँडेर आउँछन्। यसले चेकजाँचमा चुनौती थपेको छ,’ डिएसपी कार्की भन्छन्, ‘यस्ता मान्छेलाई चेकजाँच गर्ने भनेकै विशेष सूचनाका आधारमा हो। सबैलाई चेकजाँच गर्दा प्रहरीले अनावश्यक दुःख दिएको भन्ने हुन्छ।’
सूचनाबिना पैदल यात्री वा सवारीसाधन चेकजाँच गर्न नमिल्ने भएकाले लागुऔषध कारोबारीहरू पनि ओहोरदोहोर गर्न सक्ने उनले बताए।
खुला सीमाबाट प्रवेश गरेको लागुऔषध कर्णालीका अरू जिल्लामा पनि पुग्ने गरेको छ। तथ्यांकअनुसार कर्णाली प्रदेशका हुम्ला जिल्लाबाहेक अरू नौ जिल्लामा लागुऔषधका मुद्दा दर्ता भएका छन्।
यो तथ्यांकले कर्णालीमा गाडी चल्ने सडक पुगेका सबै जिल्लामा लागुऔषध पुगेको देखाउँछ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा कर्णाली प्रदेशमा लागुऔषध कारोबारका ७० वटा मुद्दा दर्ता भएका छन् जसमा १३६ व्यक्ति परेका छन्।
उक्त आर्थिक वर्षमा सुर्खेतमा ४९ वटा, दैलेखमा तीन वटा, जाजरकोटमा दुई वटा, रुकुम पश्चिममा चार वटा, जुम्लामा पाँच वटा तथा डोल्पा र मुगुमा एक–एक वटा मुद्दा दर्ता भएका थिए।
यी सात जिल्लामा ब्राउनसुगर मात्र ८४.५२७ ग्राम फेला परेको छ। यस्तै ३६ किलो ८४ ग्राम चरेश, ४० किलो सात सय ग्राम अफिम र विभिन्न लागुऔषधका ट्याबलेटहरू बरामद भएका छन्।
यस्तै २०७८/७९ मा लागुऔषध सम्बन्धी ९५ मुद्दा दर्ता भएका छन्। यी मुद्दा सुर्खेत, जाजरकोट, सल्यान, जुम्ला, कालीकोट, मुगु, दैलेख र रुकुम पश्चिमका हुन्।
यी आठ जिल्लामा दर्ता भएका ९५ वटा मुद्दाका अभियुक्तहरूबाट ११० ग्राम २२० मिलिग्राम ब्राउनसुगर बरामद भएको उल्लेख गरिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) माधवप्रसाद श्रेष्ठका अनुसार यी मुद्दामा १७२ जना अभियुक्त छन्।
यस्तै चरेश दुई किलोग्राम, अफिम दुई किलोग्राम, गाँजा दुई किलोग्राम, विभिन्न ट्याबलेट एक हजार ८७४ वटा र कोरेक्स ६०० एमएल बरामद भएको थियो।
चालु आर्थिक वर्ष २०७९÷८० को पुस मसान्तसम्म कर्णाली प्रदेशका विभिन्न जिल्लामा लागुऔषध सम्बन्धी ४१ वटा मुद्दा दर्ता भएका छन्।
यी मुद्दामा ७२ जना अभियुक्त छन् जसमा तीन जना महिला छन्। यो अवधिमा ११३ ग्राम ५८० मिलिग्राम ब्राउनसुगर, २.८७ ग्राम चरेश, ४०६ ग्राम गाँजा र ४४ वटा ट्याबलेट बरामद भएको जनाइएको छ।
‘अहिले सडक सञ्जालले जोडिएका जिल्लाहरूमा मात्र लागुऔषधको कारोबार र सेवनकर्ता देखिएको भन्ने छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी कार्की भन्छन्, ‘विभिन्न माध्यमबाट सबै क्षेत्रमा पुगेको हुन सक्छ।’
प्रहरी तथ्यांकले लागुऔषध दुर्व्यसन बढ्दो क्रममा रहेको देखाउँछ। आर्थिक वर्ष २०७५÷७६ मा सुर्खेतमा ६८ वटा मुद्दा दर्ता भएका थिए जसमा ११४ जना अभियुक्त थिए।
त्यसपछिका दुई वर्ष केही घटेको थियो। आर्थिक वर्ष २०७६/७७ मा ५२ वटा र २०७७÷७८ मा ४९ वटा मुद्दा दर्ता भएका थिए।
त्यसपछि २०७८/७९ मा १२३ जनाविरुद्ध ६९ वटा र चालु आर्थिक वर्षको पुस मसान्तसम्म ४१ वटा मुद्दा दर्ता भएका छन्।
डिएसपी कार्की भन्छन्, ‘अहिलेसम्म दर्ता भएका मुद्दा हेर्दा यस वर्ष (चालु आर्थिक वर्ष) मुद्दाको संख्या अहिलेको भन्दा दोब्बर हुन सक्छ।’
उनका अनुसार चालु आर्थिक वर्षको हालसम्ममा सुर्खेतमा प्रहरीको तर्फबाट दर्ता भएका कुल मुद्दामध्ये लागुऔषधका धेरै छन्।
बरामद भएका लागुपदार्थमा ब्राउनसुगर, ह्वाइटसुगर, चरेस, गाँजा, ट्याबलेट र कोरेक्स छन्। ट्याबलेटमध्ये नाइट्रोजेपान, ट्रामेल–५०, नाइट्रोभेट, ट्रामोफेन, नाइट्राभाइट, ट्रामाडोल लगायत छन्।
प्रहरीका अनुसार लागुऔषधमा संलग्न सबैजसो व्यक्ति १८ देखि ४५ वर्ष उमेर समूहका छन्।
युवाहरूमा बीचैमा पढाइ छोडेका, अभिभावक नभएका वा अभिभावकको हेरचाह नपाएका धेरै छन्। केही त निकै धनी आमाबाबुका सन्तान पनि छन्।
लागुऔषधमा संलग्न केही व्यक्ति चोरीका घटनामा पनि संलग्न छन्।
हाल सुर्खेतमा मोबाइल फोन चोरीका घटनामा लागुऔषधमा संलग्न व्यक्ति फेला पर्ने गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले यही साताको आइतबार यस्तै एक व्यक्तिलाई पक्राउ गरेको थियो।
डिएपी कार्कीका अनुसार लागुपदार्थका दुव्र्यसनीले जसको मोबाइल फोन चोरेको वा लुटेको हो, पैसा लिएर उसैलाई दिने वा बेच्ने गरेको पाइएको छ।
सुर्खेतको पश्चिम क्षेत्रसँग सीमाना जोडिएको कैलाली क्षेत्रबाट पनि लागुऔषध भित्रिने गरेको प्रहरीको आशंका छ।
कैलालीको चिसापानीबाट सुर्खेत भित्रिन नजिक पर्ने सुर्खेतको अर्को पश्चिमी नाका कुहिने हो। यो क्षेत्रमा पनि निगरानी बढाउन चाहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
कर्णाली प्रदेशको उच्च भूगोलमा फैलिँदै गएको लागुऔषधको समस्या चुनौतीका रूपमा रहेको डिएसपी कार्कीको भनाइ छ। उनका अनुसार खुला नाका र युवाहरूमा बढ्दो लागुऔषध दुर्व्यसनले चुनौती बढाएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार हाल हरेक साता लागुऔषध कारोबारीहरू पक्राउ पर्ने गरेका छन्।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दुर्व्यसनीका लागि पाँच वटा सुधार केन्द्र छन्। गैरसरकारी संस्था ‘रिकभरी नेपाल’ मातहतका ती केन्द्रमा हाल करिब डेढ सय जना रहेको जनाइएको छ।
वीरेन्द्रनगरस्थित ‘भैरव युवा सशक्तीकरण केन्द्र’ का अध्यक्ष ललित भट्टराईका अनुसार तीमध्ये केही व्यक्ति मदिरा सेवनका दुव्र्यसनी हुन्।