सरकारले यसै वर्षभित्र दादुरा निवारण गर्ने लक्ष्य राखेको भए पनि बाँके र कैलालीमा संकमण बढेको पाइएको छ।
केही दिनदेखि दादुराका लक्षण देखिएका बालबालिकाहरूको परीक्षण गर्दा कैलालीमा मात्रै ८ जनामा संक्रमण पुष्टि भएको हो। जसमा धनगढी उपमहानगरपालिकाका ४, गोदावरी नगरपालिकाका ३ जना र गौरीगंगाका १ जनामा दादुरा देखिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमख लालबहादुर धामीले जानकारी दिए।
उनले दादुरालाई सन् २०२३ मा निवारण गर्ने लक्ष्य राखिएको भए पनि नेपालगन्ज र धनगढी आसपासका क्षेत्रमा धेरैमा देखिन थालेको बताए।
उनले कतिपय खोप लगाएकोमा पनि संक्रमण देखिएको, खोप लगाउन नमानेकामा बढी देखिएको बताए।
केही भारत गएर बस्ने, तराई पहाड गरिरहने भएर खोप छुटेकाहरू दादुराको जोखिममा छन्। अहिले ८ वर्षमुनिका बालबालिकामा संक्रमण पाइएको छ।
संक्रमण देखिएका वडामा ६ देखि १५ वर्षकालाई दादुरा विरूद्धको खोप लगाउन थालिएको छ।
संक्रमण भएकालार्ई लक्षण पाइए अनुसार उपचार हुँदैछ। दादुराबाट बच्न खोप लगाउनै पर्छ। बच्चा जन्मेको ९ महिनामा पहिलो र १५ महिनामा दोस्रो डोज दादुरा विरूद्धको खोप लगाउनुपर्छ। सबैले यो खोप लगाए दादुरा निवारण हुन सक्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ। दादुरा सरूवा रोग हो। एकलाई संक्रमण भए थुक, खकार, सिंगान आदिको सम्पर्कमा आउने रोगप्रतिरोधी क्षमता कम भएका बच्चालाई यो सर्न सक्छ। अहिले कैलालीमा भयावह अवस्था नआइसकेको भए पनि उच्च सावधानी आवश्यक देखिन्छ। खोप लगाउने र लक्षण देखिए तुरून्तै अस्पताल जान स्वास्थ्यकर्मीको सुझाव छ।
दादुरा भएको थाहा पाउन प्रमुख लक्षणहरू ज्वरो आउनु र शरीरमा राता विमिरा देखा पर्नु, रूघाखोकीको लक्षण चिन्हहरू जस्तै नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि हुन्छ।
रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण देखा पर्छ भने १२ देखि २३ दिनपछि रूबेलाको लक्षण देखा पर्छ।