सुर्खेतदेखि दैलेख जाने (सुर्खेत–दैलेख) सडक खण्डको एउटा मात्र घुम्तीमा अगाडिबाट आएको सवारीसाधन सहजै ऐनामा देख्न सकिन्छ।
सडक खण्डको सुरूआती मोड कपासे नजिक राखिएको ऐना (कन्भेक्स मिरर) अहिले पनि बाँकी छ। यो ऐना राखिएको मोडैमा नेपाली सेनाको ब्यारेक छ। यो ब्यारेकका दुवैतर्फका गेटमा सैनिक तैनाथ हुने भएकाले यहाँको ऐना फुटेको छैन।
सडक डिभिजन कार्यालय सुर्खेतले यो सडक खण्डको छेडासम्म ८ वटा ‘कन्भेक्स मिरर’ राखेको थियो। यी आठ वटा ऐनामध्ये बचेको एउटा मात्र हो। बाँकी ऐना फुटालिएका छन्।
‘कपासेनजिक सेना बस्ने भएकाले त्यहाँ कसैले ऐना फुटाल्न सकेका छैनन्, बाँकी हामीले राखेका ऐनाहरु सबै फुटिसकेका छन्,’ सडक डिभिजन सुर्खेतका ईञ्जिनियर टोपनारायण पौडेलले भने, ‘कसले फुटाल्यो भन्ने पनि थाह हुँदैन, सबै खेर गएका छन्।’
ईञ्जिनियर पौडेलका अनुसार सुर्खेत आसपासमा पर्ने तीन वटा सडक खण्डमा १६ वटा कन्भेक्स मिरर राखिएको थियो। तीमध्ये १५ वटा ऐना अहिले छैनन्।
सडक डिभिजन कार्यालयका अनुसार सुर्खेत–नेपालगञ्ज सडक खण्ड रत्न राजमार्गको हर्रेसम्म ५ वटा, कर्णाली राजमार्गको गिरीघाटसम्म ३ वटा र सुर्खेत–दैलेख सडक खण्डको छेडासम्म ८ वटा कन्भेक्स मिरर मोडहरुमा राखिएको थियो।
डिभिजन कार्यालयले यहीँ आर्थिक वर्षको भदौमा आफैंले खरिद गरी ऐनाहरु राखेको हो। सुर्खेत आसपास राखिएका यी ऐनाहरूको खर्च एउटाको १२ हजार रूपैयाँ लागेको थियो। यस हिसाबले १६ वटा ऐना जडानको लागत १ लाख ९२ हजार हुन्छ।
जंगल क्षेत्रमा नियमित सुरक्षा नहुने भएकाले सडक सुरक्षाका लागि घुम्तीहरुमा राखिएको ऐनाहरु नटिकेको ईञ्जिनियर पौडेलले बताए।
‘हामीले ऐना राख्ने, अरूले फुटाएर फाल्दिने भए, बजेटिङको सिस्टमले अहिले फुटेका ठाउँमा फेरि ऐना राख्यो भने एउटै काममा दोहोरो खर्च देखिन्छ,’ उनले भने, ‘कसले फाल्यो भन्ने पनि पत्ता लाग्दैन, हामीले यो विषयमा सुरक्षा निकायका प्रमुखसहित छलफल पनि गरेका थियौं। केही निश्कर्ष आएन।’
अहिले तीन वटा सडक खण्डका सुरूआती भागमा राखिएको ऐनाहरु नटिकेपछि अरु क्षेत्रमा राख्ने की नराख्ने भन्नेमा पनि अन्यौल सिर्जना भएको छ। सडक डिभिजन कार्यालय सुर्खेतले आफ्नो कार्य क्षेत्रभित्र पर्ने अरू सडक खण्डमा पनि ‘कन्भेक्स मिरर’ जडान गर्ने योजना बनाएको थियो।
तर अहिले राखिएको ऐनाहरू नै सुरक्षित नभएपछि बाँकी निर्णय लिन नसकिएको ईञ्जिनियर पौडेलले बताए। ‘राखिएको ऐनाहरु सबै फुटालिदिएपछि हामीले अरु क्षेत्रमा राख्ने कुराको निर्णय लिन सकेका छैनौं,’ पौडेलले भने।
सडकका घुम्तीमा राखिएको ‘कन्भेक्स मिरर’ लाई दीगो बनाउन नागरिकको सचेतनाबाहेक अरू कुनै उपाय नदेखिएको ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख नेत्र कुँवरले बताए। सडक दुर्घटनाको जोखिमलाई मध्यनजर गरी यसमा राज्यले गरेको लगानी खेर गएको उनले बताए।
‘यी ऐना बचाउन सुरक्षाकर्मी खटाउने सम्भावना पनि भएन, सिसी क्यामरा जडान गर्दा हरेक ऐनामा राख्नुपर्यो, त्यति धेरै लगानी पनि सम्भव नहोला,’ प्रहरी निरीक्षक कुँवरले भने, ‘केही मानिसका गलत हर्कतले गर्दा राज्यको लगानी पनि खेर गयो, सडक दुर्घटनाको जोखिम त छँदैछ।’
सरोकारवालाहरुलाई ऐनाहरु फुटाएको वा झिकेर लिएको तस्विर, भिडियो भए प्रहरीलाई दिन भनेको उनले बताए।
‘हामीले सम्बन्धित सरोकारवाला वा यस्तो कार्य गरेको देख्ने व्यक्तिलाई कुनै प्रमाण भए दिनुस् पनि भन्यौं, तर त्यस्तो केही संकेत आएन,’ कुँवरले भने, ‘यदि हामी त्यस्तो प्रमाण पाएको भए मुद्दा चलाएर क्षति पुर्याउने मान्छेबाटै पूर्ति गर्न सकिन्थ्यो होला।’