त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम), महाराजगञ्ज मेडिकल क्याम्पसमा एमबिबिएस पढिरहेका विद्यार्थीहरू सोमबारदेखि आन्दोलनमा छन्।
क्याम्पसले उनीहरूलाई होस्टल उपलब्ध नगराएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। विद्यार्थीहरूको आन्दोलन मंगलबार पनि जारी छ। आक्रोशित विद्यार्थीहरूले सोमबार क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी समेत गरेका छन्।
सरकारले छात्रवृत्तिबाट छानिएका एमबिबिएस ७५ प्रतिशत विद्यार्थीहरूलाई निःशुल्क होस्टल व्यवस्था गरेको छ। तर क्याम्पसले आधा विद्यार्थीलाई पनि नराखेको विद्यार्थीहरूको आरोप छ।
'छात्रावासमा बस्न पाउने हाम्रो अधिकार भए पनि हामीलाई बस्न दिइएन। आधाभन्दा कम विद्यार्थी राखिएको छ,' आन्दोलनमा सरिक एक विद्यार्थीले भने।
नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजले पूरा गर्नुपर्ने मापदण्ड पुस्तिका; 'एक्रिडेसन स्ट्यान्डर्डस् फर द एमबिबिएस- २०१७' मा उल्लेख छ, 'एमबिबिएस पढ्न छात्रवृत्ति पाएकामध्ये कम्तीमा ७५ प्रतिशत विद्यार्थीलाई होस्टल सुविधा उपलब्ध गराउनुपर्नेछ।'
यही नियमका आधारमा यहाँका विद्यार्थीले पनि प्रवेश परीक्षा दिएका थिए। ७५ प्रतिशत विद्यार्थी होस्टलका लागि छानिएका पनि थिए। तर उनीहरूलाई होस्टलमा ठाउँ खाली नभएको भन्दै बस्न नदिइएको विद्यार्थीहरू बताउँछन्।
'होस्टलमा बस्न नाम निस्किएको भए पनि हामी बस्न पाएनौं। ठाउँ छैन भन्दै बारम्बार फिर्ता पठाइयो,' एमबिबिएस तेस्रो वर्षमा पढिरहेका अर्का विद्यार्थीले भने।
उनीहरू ठाउँ खाली होला भन्दै कुरिरहे। नाम निस्किए पनि होस्टल नपाएपछि ७१ जना विद्यार्थी बाहिरै बस्दै आएका छन्। तीन वर्षदेखि उनीहरू आफ्नै खर्चमा निजी होस्टलमा बसिरहेको उनले जानकारी दिए।
'हामीले पाएको सुविधा छाडेर बाहिर खर्च गरेर बस्नुपरेको छ। पढाइ आधा सकिन लागिसक्यो। बस्ने अझै टुंगो भएको छैन,' उनले भने, 'यसले त हाम्रो पढाइमा बाधा पारेको छ।'
उनीहरू निजी होस्टलमा एक जनाले कम्तीमा पन्ध्र हजार रूपैयाँ तिरेर बसेका छन्। राति १२ बजेसम्म क्याम्पसको पुस्तकालयमा बसेर पढेर होस्टल फर्किँदा समस्या हुने गरेको छ। बाटोमा लुटपाट समेत भएको उनीहरूले बताए।
एक विद्यार्थीले भने, ‘हाम्रा कति साथीको मोबाइल लुटिएको छ। क्याम्पसमा हामीले पाउनुपर्ने होस्टल सुविधा पाएको भए दुःख पाउनु पर्दैन थियो। हाम्रै लागि भनेर बनाएको होस्टल हो, हामी बस्न नपाएर यस्तो बिजोग छ।'
महाराजगञ्ज मेडिकल क्याम्पसमा होस्टलका पाँच वटा ब्लक छन्। यसमध्ये ए, बी र सी पुराना भवन हुन्। यिनमा विद्यार्थीहरू बस्दै आएका छन्। डी र ई भने नयाँ बनेका भवन हुन्। यिनीहरू अहिलेसम्म औपचारिक रूपमा सञ्चालनमा आएका छैनन्।
विद्यार्थीहरूले क्याम्पस प्रशासनसँग गएर बारम्बार नयाँ भवन खुला गर्न र उनीहरूलाई बस्न दिन आग्रह गरिरहे। तर प्रशासनले उनीहरूको कुरै नसुनेको विद्यार्थीहरू बताउँछन्। आफूहरूको समस्या सुनुवाइ नभएपछि तीन साताअघि विद्यार्थीहरू आफैं गएर ती नयाँ भवनमा बस्न थालेका थिए।
'डी र ई ब्लकमा कोही बस्दैन थियो। प्रशासनले नखोलेपछि हामी आफ्नै सुरमा बस्न थालेका थियौं,' विद्यार्थीले भने, 'तीन हप्तासम्म हामी बस्यौं। कसैले केही भनेन। हामीलाई पढ्न धेरै सजिलो भएको थियो।'
तर गत माघ ३ गते क्याम्पसले सूचना जारी गर्दै माघ ८ गतेसम्म होस्टल भवन खाली गर्न भन्यो। सरसफाइ तथा मर्मतसम्भार कार्य गरी होस्टल वैधानिक रूपमा विद्यार्थीलाई वितरण गर्ने भन्दै क्याम्पसले सूचना निकालेको थियो।
सूचनापछि पनि विद्यार्थीहरू त्यहाँबाट निस्केनन्। उनीहरू बसिरहेकै थिए। त्यसपछि क्याम्पसले डी र ई ब्लकको बिजुली काटिदिएको ती विद्यार्थीले बताए।
'बत्ती काटिदिएपछि हामीले पढ्न त पाएनौं नै, त्यति बेला हामीमध्ये धेरै विद्यार्थीलाई रूघाखोकी र ज्वरो आएको थियो। यो जाडोमा पानी तताएर समेत खान पाएनौं,' उनले गुनासो गरे, 'परीक्षा नजिकिएको छ। हामी भने आन्दोलन गर्दै अँध्यारोमा बस्नपरेको छ।'
ब्लक डी र ईका विद्यार्थीहरू यसपछि गुनासो बोकेर प्रशासनकहाँ पुगे। उनीहरूले आफ्नो समस्या राखे, प्रशासनले होस्टल खाली गर्न दबाव दिइरह्यो।
‘समस्या समाधान गर्नतिर नलागेर हामी त विद्यार्थी नै होइन जस्तो व्यवहार गरियो,' उनले भने, 'हामीले कुरा राख्दा क्याम्पस प्रमुखले जेसुकै गर, मनलागे तालाबन्दी गर, म तिमीहरूका लागि केही गर्दिनँ भन्नुभयो।’
क्याम्पस प्रमुख डा. अर्जुन प्रसाद लामिछानेले उनीहरूलाई होस्टल नछाडे क्याम्पसबाट हटाइदिने भन्दै धम्की दिएको समेत विद्यार्थीहरूको आरोप छ। उनले भिडिओ खिचेरै धम्क्याएको र दुर्व्यवहार गरेको उनीहरूको भनाइ छ।
आन्दोलनरत विद्यार्थीले सोमबार प्रमुख लामिछानेको कोठामा तालाबन्दी गरे। यसपछि लामिछाने निस्केर गए। विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन कार्यालयलाई पनि आफ्नो माग राखे। डिन कार्यालयले २४ घन्टाको समय मागेको थियो।
विद्यार्थीहरूले चारवटा माग राखेका छन्- विद्यार्थीहरूलाई होस्टल व्यवस्था गर्नुपर्ने, डी र ई ब्लकमा बसिरहेका सबै विद्यार्थीलाई उचित ढंगले व्यवस्थापन गर्नुपर्ने, सबै ब्लकका होस्टलका विद्यार्थीको विवरण प्रकाशित गर्नुपर्ने र कोठा नपुगे बाहिर भाडामा भवन लिएर भए पनि उपलब्ध गराउनुपर्ने।
यी मागमाथि मंगलबार पनि डिन कार्यालयले कुनै कारबाही अगाडि नबढाएको भन्दै उनीहरू फेरि आन्दोलनमा उत्रेका छन्। मंगलबार उनीहरूले डिन कार्यालयमै तालाबन्दी गरे। कार्यालय कर्मचारीहरूले प्रहरी बोलाएर तालाबन्दी खुलाउन लगाए। यसक्रममा विद्यार्थी र प्रहरीबीच झडप समेत भएको छ।
यस विषयमा हामीले सोमबारदेखि नै क्याम्पस प्रमुख डा. अर्जुन लामिछानेसँग कुराकानी गर्न खोज्यौं। बारम्बार सम्पर्क गर्न खोज्दा पनि उनले विभिन्न काम भएको भन्दै फोन काटे। मंगलबार भने उनको फोन नै नलाग्ने भएको छ।