भारतीय नागरिक सञ्जय जैसवाल र उनका दिदी नितु जैसवाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छन्।
तर उनीहरू एकअर्कालाई एउटै अस्पतालमा भएको थाहा छैन। नितु अपरेसनमार्फत सुत्केरी भएर अस्पतालको बेडमा छिन् भने सञ्जय आइतबार भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएर प्रहरीले अस्पतालको पोष्टमर्टम भवनमा राखेको छ।
सुत्केरी भएर अस्पतालमा बसेकी नितुलाई भाइ पोखरा आएर अस्पतालकै अर्को भवनमा मृत अवस्थामा रहेको थाहा छैन। दिदी नितुलाई भेट्न काठमाडौंबाट पोखरा उडेका सञ्जयले पोखरामा दिदीलाई भेट्न पाएनन्।
पोखराको लामाचौरमा भारतीय नागरिक विकास कुमार जैसवाल हार्डवेयर पसल चलाउँछन्। भारतको विहारबाट ८ वर्षअघि नेपाल आएर हार्डवेयर व्यापार गरेका विकासकी श्रीमती नितु गर्भवती थिइन्। शनिबार रातिदेखि उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो।
‘नितु गर्भवती थिइन्। व्यथा लागेपछि हामीले हिजो बिहान ४ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्यायौं,’ विकासले भने।
श्रीमतीलाई अस्पताल ल्याएर भर्ना गरेपछि विकासले सालो सञ्जयलाई फोन गरे। सञ्जय काठमाडौंमा हार्डवेयर सामग्रीको मार्केटिङ गर्थे। फोन लागेन। त्यसपछि विकासले भारतमा ससुरालाई फोन गरे। श्रीमतीलाई डेलिभरीका लागि अस्पताल भर्ना गरेको जानकारी गराए।
भारतबाट परिवारले काठमाडौं बसेका सञ्जयलाई फोन गरेछन्। पोखरामा दिदी सुत्केरी हुन लागेको बताएछन्। त्यसपछि सञ्जयले पोखरा आउने निधो गरे।
‘हामीले भनेका थिएनौं, घरबाट सम्पर्क भयो होला,’ विकासले सेतोपाटीलाई भने, ‘म आउँछु पोखरा भनेर बिहान ९ बजे फोन गरेको थियो।’
सञ्जयका एक जना भाइ छन्। उनी भारतमै छन्। उनकी दिदी-बहिनी भने नितु मात्र हुन्। यसअघि पनि उनी पोखरा आउने-जाने गर्थे। दिदीको घरमा बस्थे।
सञ्जयको शव फेला पारेर प्रहरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेको छ। उनको सनाखत पनि भइसकेको विकासले बताए। प्रतिष्ठान अगाडिका चौरमा सञ्जयको शव बुझ्न विकाससहित उनका साथीहरू जम्मा भएका छन्।
विकासकी श्रीमती नितुले आइतबार बिहान नै छोरी जन्माएकी छिन्। अस्पतालमा अरू बिरामीले कुरा गरेको सुनेर नितुले श्रीमान विकासलाई भाइ भेट्न आए-नआएको सोधेकी थिइन्। विकासले भने भाइ काठमाडौंमै भएको बताएका छन्।
‘भाइ भेट्न आयो कि आएन भनेर नितुले सोधेकी छन्। हामीले आएको छैन भनेका छौं,’ विकासले भने, ‘अहिले जानकारी दिएका छैनौं, उनको मोबाइल पनि मैले राखेको छु। थाहा पायो भने आत्तिएर अपरेसन गर्दा लगाएको टाँका फुस्किन सक्छ।’
रौतहटपारि भारतको विहार राज्य सीतामढीका सञ्जय ६ वर्षअघि मात्र काठमाडौं आएका थिए। उनका अंकल परिवारसहित काठमाडौंमा बस्छन्। सञ्जय भने एक्लै छुट्टै कोठा लिएर बसेको विकासले बताए।
सञ्जयको काठमाडौंमा कुनै पसल थिएन। हार्डवेयरका होलसेल पसलबाट सामान किनेर साना हार्डवेयर पसलमा बेच्ने काम गर्थे।
‘काठमाडौंमा उसको पसल थिएन, होलसेलमा सामान लिएर सानो पसलमा बेच्थ्यो, कमाइ- खाइराखेकै थियो,’ विकासले भने।
आइतबार भएको दुर्घटनामा परेर सञ्जयसहित ५ जना भारतीय नागरिकको मृत्यु भएको छ। भारतीय नागरिकहरू सोनु जैसवाल, अनिलकुमार राजभाल, अभिषेक कुशवाह र विशाल शर्माबारे भने अहिलेसम्म केही जानकारी आएको छैन। अहिले उनीहरूका आफन्त पनि कोही नभेटिएको विकासले बताए।
‘अरू भारतीयका बारे अहिलेसम्म कोही सम्पर्कमा आएको छैन,’ विकासले भने, ‘हाम्रो जैसवाल परिवार र पोखरामा रहेका भारतीयलाई पनि हामीले बुझ्यौं, कसैले चिनेका छैनन्।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सनाखत भएका शव आफन्तलाई बुझाउने तयारी गरेको छ। विदेशी नागरिकको शव काठमाडौं पठाएर सम्बन्धित देशका दूतावासलाई बुझाउने तयारी सरकारले गरेको छ। सनाखत नभएका नागरिकका शव पनि काठमाडौं पठाउने प्रतिष्ठानका चिकित्सकले बताएका छन्।
विकास भने आफ्ना साला सञ्जयको शव पोखरामै बुझ्न चाहेका छन्। यसका लागि सञ्जयका बुबाले भारतीय दूतावास काठमाडौंमा शव बुझ्नेबारे लेखेको पत्र पर्खेका छन्। दूतावासले निरन्तर सम्पर्क गरिराखेको उनले बताए।
‘हामी यहीँ भएपछि सञ्जयको शव यहीँ बुझ्न चाहन्छौं, उनको शव भारत लिएर जाने हो, उतै दाहसंस्कार गर्ने हो,’ उनले भने।