बिनामूर्ति पूजा गरिँदै आएको ठाउँमा मूर्ति राख्न हुन्छ कि हुँदैन?
पाटनको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति अरू ठाउँमा स्थापना गर्न पाइन्छ कि पाइँदैन?
सदियौंदेखि चलिआएको संस्कृति र परम्परामा कसैले थोरै संशोधन गर्न मिल्ने कि नमिल्ने?
रातो मच्छिन्द्रनाथ अर्थात् ‘बुंगद्यः’ सँग जोडिएको एउटा परम्परालाई लिएर पाटनको बुंगमती र कीर्तिपुरको प्यंगथाँबीच डेढ महिनादेखि उत्पन्न विवाद यिनै प्रश्न वरिपरि घुमेको छ।
संस्कृति, परम्परा र मानवीय आस्थाका विषयमा कुनै विवाद उत्पन्न भयो भने त्यो कतिसम्म बल्झिँदै जान्छ भन्ने बुंगमती र प्यंगथाँको विवादले छर्लंग पार्छ।
तपाईंहरूले यो विषय फलो गर्नुभएको छैन भने सबभन्दा पहिला विवाद कसरी उत्पन्न भयो, त्यसबारे छोटो जानकारी दिऊँ —
रातो मच्छिन्द्रनाथको कथामा कीर्तिपुर, प्यंगथाँकी एक कन्या केटीको प्रसंग छ। कीर्तिपुरवासी ती कन्या केटीलाई मच्छिन्द्रनाथकी ‘प्रेमिका’ मान्छन् र याकः मिसा (एक्ली केटी) का रूपमा पूजा गर्छन्।
याकः मिसा कसैगरी पनि मच्छिन्द्रनाथबाट अलग हुन चाहँदिनन्। उनी मच्छिन्द्रनाथलाई आफूसँगै प्यंगथाँमा राख्न चाहन्छिन्। तर लोकले मानेका लोकेश्वर निम्ति यो सम्भव हुँदैन। याकः मिसाले ‘मलाई छाडेर नजानू देव’ भन्दै लाख बिन्ती गर्दा पनि उनी हरेक वर्ष भेट्न आउने बाचा गर्दै बुंगमती फर्कन्छन्।
आज पनि मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल लैजानुभन्दा चार दिनअघि मूलपुजारी (पानेजु) खाली खुट्टा हिँडेर प्यंगथाँ आउने र याकः मिसालाई फूल–प्रसाद चढाउने परम्परा छ। प्यंगथाँकी ७२ वर्षीया लक्ष्मीकुमारी महर्जनलाई ‘जीवित देवी’ याकः मिसाका रूपमा पूजा गरिन्छ।
प्यंगथाँ बहालमा एउटा मन्दिर छ, जहाँ केही समयअघिसम्म एउटा ठूलो ढुंगा र ढुंगाको सामुन्ने तीनवटा मण्डपबाहेक अरू दैवी मूर्ति केही थिएन। फूल–प्रसाद चढाउँदा मूलपुजारी ढुंगामाथि बस्ने र याकः मिसा मण्डपमा बस्ने परम्परा छ।
विवाद तब सुरू भयो, जब प्यंगथाँवासीले गत मंसिर १५ गते त्यही मन्दिरमा मच्छिन्द्रनाथको पूर्ण कदको प्रतिमूर्ति र याकः मिसाको सानो मूर्ति स्थापना गरे।
अहिलेसम्म कथामा सीमित पात्रलाई जीवन्त रूप दिँदै रातो मच्छिन्द्रनाथ र कीर्तिपुरको सम्बन्धबारे सबैलाई सूचित गराउन यी मूर्ति स्थापना गरिएको प्यंगथाँका स्थानीय बताउँछन्।
रातो मच्छिन्द्रनाथको नित्यपूजा गर्ने ३२ जना पुजारीहरूको संगठन ‘श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघ’ ले भने कुनै हालतमा मूर्ति राख्न नदिने अडान लिएको छ। मूर्ति स्थापनाले याकः मिसासँग जोडिएको संस्कृतिको औचित्य नै समाप्त हुने भन्दै पुजारीहरूले मूर्ति नहटाए अर्को वर्ष मच्छिन्द्रनाथको जात्रामा फूल–प्रसाद लिएर नआउने चेतावनी दिएका छन्। दुवै मूर्ति गुठी संस्थानको जिम्मा लगाएर भण्डारमा थन्क्याउनुपर्छ भन्ने पुजारीहरूको मत छ।
यी अहिलेसम्मका कुरा भए, अब अगाडि —
प्यंगथाँको सुखी गछेँ समाज, जसको सक्रियतामा मूर्ति स्थापना गरिएको थियो, उसले विवाद सल्टाउन चारवटा प्रस्ताव अघि सारेको छ।
समाजका सचिव नारायण महर्जनका अनुसार ती चार प्रस्ताव यस प्रकार छन् —
पहिलो, कुनै पनि मन्दिरमा देउताको मूर्ति स्थापना गर्न प्राण प्रतिस्थापन नगरी हुँदैन। प्राण प्रतिस्थापन नगरेसम्म मूर्तिमा देउताको आत्मा प्रवेश गर्दैन भन्ने मान्यता छ। जहाँसम्म प्यंगथाँको मन्दिरमा राखिएको रातो मच्छिन्द्रनाथ र याकः मिसाको मूर्तिको सवाल छ, यी दुवै मूर्तिको अहिलेसम्म प्राण प्रतिस्थापन गरिएको छैन।
‘विवाद सल्टाउने एउटा उपायका रूपमा हामीले यी मूर्तिको प्राण प्रतिस्थापन गर्दै नगर्ने भनेका छौं,’ महर्जनले भने, ‘त्यसैले यसलाई देउताका रूपमा मान्नु पर्दैन।’
उनले अगाडि भने, ‘प्राण प्रतिस्थापन नगरेपछि धार्मिक वा सांस्कृतिक रूपले मूर्तिमा देउताको आत्मा छैन भन्ने मानिन्छ। त्यसैले हामीकहाँ जे रहन्छ, त्यो मच्छिन्द्रनाथ र याकः मिसाको फोटो बराबर मात्र हुनेछ। हामी मच्छिन्द्रनाथको दर्शन गर्नुपरे कि त पाटनको मच्छिन्द्रबहाल जान्छौं कि बुंगमती नै पुग्छौं।’
दोस्रो प्रस्तावमा प्यंगथाँवासीले याकः मिसालाई फूल–प्रसाद चढाउन आउने दिन दुवै मूर्ति छोपेर राख्छौं भनेका छन्।
‘पहिले ढुंगा मात्र रहेको मन्दिरमा मूर्ति राखेपछि मच्छिन्द्रनाथका नाममा फूल–प्रसाद चढाउन आउनुको औचित्य छैन भनेर पुजारीहरू भन्नुहुन्छ। हाम्रो विचारमा त दुवै देवदेवीको उपस्थितिमा यो कर्म गर्नु अझै महान हुन्थ्यो कि भन्ने लाग्छ। तर, यदि उहाँहरूलाई अप्ठ्यारो नै पर्छ र यसले संस्कृति बिगार्छ भन्ने उहाँहरूको मत हो भने हामी फूल–प्रसाद चढाउने बेला केही पनि नदेखिने गरी मूर्ति छोपेर राख्न तयार छौं,’ महर्जनले भने।
‘मूर्ति स्थापना गर्यौं भन्दैमा हामीले त्यहाँको ढुंगा र मण्डप उखेलेर फालेका होइनौं। पुजारीहरूले विगतमा जस्तै आफू ढुंगामाथि बसेर मण्डपमा बसेकी याकः मिसालाई फूल–प्रसाद ग्रहण गराउन सक्नुहुन्छ।’
तेस्रो प्रस्ताव प्यंगथाँवासीले सुरूदेखि भन्दै आएको कुरा हो।
मूर्ति राखेर धार्मिक वा सांस्कृतिक रूपले गल्ती भएको रहेछ भने एउटा ठूलो क्षमापूजा आयोजना गरेर मच्छिन्द्रनाथ र याकः मिसा दुवैसँग माफी मागौं भन्ने प्यंगथाँको प्रस्ताव छ।
‘देउताको काम बिग्रँदा क्षमापूजा गरेर माफी माग्ने चलन छ। यसरी क्षमापूजा गर्दा देउताले सबै गल्ती माफ गर्दिन्छन् भन्ने हामी विश्वास गर्छौं। विगतमा रथ तान्दा नियमभन्दा तलमाथि केही भयो भने क्षमापूजा गरिएको उदाहरण छ। हामी पनि दुवै पक्ष बसेर बुंगद्यः र याकः मिसासँग क्षमा मागौं,’ महर्जनले भने।
चौथो प्रस्ताव पनि क्षमासँगै सम्बन्धित छ।
मच्छिन्द्रनाथ र याकः मिसाको मूर्तिलाई तान्त्रिक विधिबाट घचेटेर ती मूर्ति त्यहाँ नरहेको संकेत गर्न सकिने महर्जनको भनाइ छ। यसलाई नेवार परम्परामा ‘घ्वायगू’ भनिन्छ।
‘शान्तिपूर्ण रूपमा विवाद समाधान गर्न यी चारवटामध्ये जुनसुकै उपाय अपनाउन हामी तयार छौं,’ महर्जनले भने, ‘हामीले यसको निर्णयसमेत गरिसकेका छौं।’
औपचारिक रूपमा अघि सारिएका यी चार प्रस्तावमा सहमति हुन सकेन भने अन्तिम विकल्प पनि उनीहरूले सोचेका छन्।
पुजारीहरू कसैगरी सहमत भएनन् भने फूल–प्रसाद चढाउने दिन दुवै मूर्ति मन्दिरबाट झिकेर याकः मिसाको पुर्ख्यौली घरमा राख्न सकिने उनले बताए।
‘मूर्ति छोपेर राख्दा पनि चित्त बुझेन भने हामी त्यो एकदिन पुजारीहरूले भनेजस्तै मन्दिरबाट मूर्ति हटाउन तयार छौं। पुजारीहरू आएर फूल–प्रसाद चढाएपछि फेरि क्षमापूजा गरेर मूर्तिलाई मन्दिरभित्र राख्ने छौं,’ उनले भने।
यी पाँच विकल्पमध्ये कुनै पनि विकल्प मान्न पुजारीहरू तयार नभए र दुवै मूर्ति गुठी संस्थानलाई जिम्मा लगाएर भण्डारमा राख्नुपर्छ भन्ने भनाइमै अडिग रहे सहमति हुन गाह्रो भएको महर्जनको भनाइ छ।
सहमति हुन सकेन भने तपाईंहरू के गर्नुहुन्छ त?
जवाफमा उनले भने, ‘सहमति हुँदै भएन भने पनि मूलपुजारीले जुन दिन फूल–प्रसाद लिएर आउनुपर्ने हो, त्यो दिन हामी सधैंझैं मन्दिर लिपपोत गरेर, पुजारी र याकः मिसाको निम्ति आसन बनाएर, याकः मिसालाई शृंगारपटार गराएर विधिअनुरूप पूर्ण तयारीका साथ बस्नेछौं। याकः मिसालाई पनि उहाँको आसनमा राख्छौं। त्यसपछि फूल–प्रसाद ग्रहण गराउन आउने–नआउने दायित्व पुजारीहरूको हो। तैपनि उहाँहरू आउनुभएन भने हाम्रो केही लागेन।’
यसबीच पुजारीहरूले ‘प्यंगथाँमा जीवित देवीको मूर्ति र श्री मच्छिन्द्रनाथको प्रतिमूर्ति रहुञ्जेल कीर्तिपुरमा प्रसाद ग्रहण गराउने कार्य बन्द गर्ने’ अडान छाडेका छैनन्। पुजारीहरूको संघले आउँदो जात्रादेखि नै प्रसाद ग्रहण गराउन कीर्तिपुर नजाने निर्णय गरिसकेको छ।
पुस २४ गते मच्छिन्द्रबहालमा आयोजित पत्रकार सम्मेलनमा पनि संघका अध्यक्ष यज्ञरत्न शाक्यले यही कुरा दोहोर्याए।
कुनै मूर्ति नभएको ऐतिहासिक तथा धार्मिक स्थलमा मच्छिन्द्रनाथको प्रतिमूर्ति र शक्तिस्वरूपा कन्या याकः मिसाको मूर्ति स्थापनाले जनतामा भ्रम सिर्जना गर्नुका साथै धार्मिक आस्थामा विचलन ल्याउने उनले बताए।
‘कीर्तिपुरको प्यंगथाँस्थित पवित्र स्थलमा रातो मच्छिन्द्रनाथको प्रतिनिधि भएर जल पानेजु (पुजारी) ले शक्ति स्वरूपा कन्या कुमारी याकः मिसालाई फूल–प्रसाद ग्रहण गराउन जाने हाम्रो परम्परा हो। उहाँहरूले रातो मच्छिन्द्रनाथको प्रतिरूप नै प्यंगथाँमा लगेर राखेपछि हामी मच्छिन्द्रनाथको प्रतिनिधि भएर किन जानुपर्यो?’ शाक्यले भने, ‘यो संस्कृतिलाई निरन्तरता दिनुको औचित्य नै अब रहेन। हजारौं वर्षदेखि मूर्ति नभएको ठाउँमा मूर्ति राख्न हामी सहमत छैनौं। परम्परा तोड्ने काम उहाँहरूले सुरू गर्नुभयो, त्यसमा सहमति जनाएर विकृतिलाई निरन्तरता दिनमा हामी भागीदार बन्न सक्दैनौं।’
उनले अगाडि भने, ‘आज हामी कीर्तिपुरको मागमा सहमत भयौं भने भोलि अरूले पनि आफ्नो टोल–बहालमा मच्छिन्द्रनाथको मूर्ति राख्न सक्छन्। कसैले हामी पनि जात्रा गर्छौं भन्लान्। यसरी त विकृतिको अनन्त शृंखला सुरू हुन्छ।’
उनले यो पनि भने, ‘संसारकै लामो जात्रा भनी चिनिएको रातो मच्छिन्द्रनाथ रथयात्राको मौलिकता र विशेषतामा आँच पुर्याउने कार्य कसैबाट नहोस्।’
पत्रकार सम्मेलनमा अध्यक्ष शाक्यले यो विवाद कसरी सुरू भयो भन्नेबारे पनि आफ्नो धारणा राखेका थिए।
‘उहाँहरू मूर्ति राखौं भनेर सोध्न आउँदा हामीले सदियौंदेखि मूर्ति नभएको ठाउँमा राख्न हुँदैन भनेर जवाफ दिएका थियौं,’ उनले सम्झे।
त्यसपछि उनीहरूले ‘वसुन्धराको मूर्ति त छ नि’ भनेर भनेछन्।
वसुन्धरालाई मच्छिन्द्रनाथकी आमाका रूपमा पुजिन्छ। दस–बाह्र वर्षअघि प्यंगथाँको खाली मन्दिरमा के राख्ने भनेर छलफल हुँदा पाटनका एक गुर्जुले वसुन्धराको मूर्ति राख्न सुझाएका थिए।
प्यंगथाँवासीको यो जिज्ञासामा पुजारीहरूको जवाफ थियो, ‘अरू मूर्ति भए फरक परेन, तर करूणामय लोकेश्वर र याकः मिसाको मूर्ति राख्न भएन। राख्ने नै भए पौभा चित्रसम्म राख्न मिल्छ।’
आफूहरूले यति भन्दाभन्दै प्यंगथाँले जिद्दी गरेपछि ‘सबै सरोकारवालासँग अनुमति लिनुपर्छ, पुजारीहरूको संघमा पनि निवेदन दिनुपर्छ र संघले औपचारिक बैठक बसेर निर्णय गर्नेछ’ भनेर जवाफ दिएको अध्यक्ष शाक्यले बताए।
‘उहाँहरूले निवेदन दिनुभएन, अहिलेसम्म दिनुभएकै छैन,’ उनले भने, ‘त्यसपछि पाटनका कलाकार रवि शाक्यले सामाजिक सञ्जालमा मूर्तिको नमूना सार्वजनिक गर्नुभयो। हामीले त्यो देख्नेबित्तिकै उहाँहरूलाई सम्पर्क गरेर मूर्तिको नमूनालाई मूर्तरूप नदिन सुझायौं। मूर्तरूप दिइयो भने याकः मिसालाई फूल–प्रसाद ग्रहण गराउने कार्यक्रम बन्द हुनसक्छ भनेर त्यति बेलै सचेत गराएका थियौं। तर उहाँहरूले आफूखुसी गर्नुभयो।’
पछि पाटनको महाबुद्ध विहारमा मूर्ति हस्तान्तरण बेला निम्ता आए पनि विरोधस्वरूप सहभागी नभएको उनले जानकारी दिए।
प्यंगथाँकी जीवित देवी याकः मिसालाई मच्छिन्द्रनाथकी ‘प्रेमिका’ मान्ने र फूल–प्रसाद चढाउन जाने चलन रथयात्रा जत्तिकै पुरानो भएको जनविश्वास छ। रातो मच्छिन्द्रनाथको जात्रा कम्तिमा १४ सय वर्षदेखि चल्दै आएको मानिन्छ।
रातो मच्छिन्द्रनाथसँग जोडिएको र वर्षौं वर्षदेखि अनवरत चल्दै आएको यो सांस्कृतिक सम्पदा बुंगमती र कीर्तिपुरको विवादका कारण पहिलोचोटि अवरूद्ध हुने सम्भावना बढेको छ।
दुवै पक्षले सरोकारवाला निकायहरूलाई समन्वय गराएर विवाद सल्टाइदिन माग गरिरहेका छन्।
पुजारीहरूको संघले पुस २० गते संस्कृति मन्त्रालयदेखि पुरातत्व विभाग, गुठी संस्थान, ललितपुर महानगरपालिका र ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए।
त्यसको केही दिनपछि ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन यो विषयमा समन्वय गर्न कीर्तिपुर नगरपालिका गएका थिए। त्यहाँ प्यंगथाँवासीले मूर्ति राख्नुको कारण र आफूहरूको धारणाबारे मेयरलाई जानकारी गराएको सचिव नारायण महर्जनले बताए।
‘उहाँले दुवै पक्ष राखेर वार्ता गराउने प्रयास गर्छु भन्नुभएको छ,’ उनले भने, ‘हामी वार्ताको निम्ति खुला छौं। समस्या समाधानका लागि विकल्पहरू प्रस्ताव गरेका छौं। यही आधारमा सहमति होस् भन्ने अपेक्षा छ।’
‘मूर्ति झिकेर गुठी संस्थानको भण्डारमा राख्नेबाहेक अरू विकल्प के–के हुन सक्छन्, हामी छलफल गर्न तयार छौं,’ उनले भने।
रातो मच्छिन्द्रनाथको जात्रा वैशाखमा सुरू हुन्छ। कीर्तिपुरकी याकः मिसालाई फूल–प्रसाद ग्रहण गराउने दिन जेठ दोस्रो सातातिर पर्छ। गएको वर्ष जेठ १५ गते परेको थियो।
यी पनि पढ्नुहोस्: