नाबालिगमाथि बलात्कार आरोपित सन्दीप लामिछाने भोलि छुट्दै छन्।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालले उनलाई धरौटीमा छाड्न बिहीबार आदेश दिएका हुन्। उनीसँग २० लाख धरौटी मागिएको छ।
यो मुद्दाको किनारा भने लागिसकेको छैन।
इजलासले सन्दीपको मानसिक अवस्था राम्रो नभएको, पीडितको बकपत्र भएकाले त्यसलाई दबाब दिन सक्ने अवस्था नभएको, सार्वजनिक शान्तिमा खतरा नभएको, भाग्न सक्ने अवस्था नभएको, पीडितलाई दबाब र प्रलोभनमा पार्न सक्ने अवस्था नभएको भन्दै धरौटीमा छाड्न आदेश दिएको हो।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई अदालतले ५ वटा शर्तमा मात्रै थुनामुक्त गरेको हो। उक्त आदेशको पालना नगरी उल्लंघन गरेको पाइएमा उनी पुन: थुनामा पठाइने छन्।
थुनामुक्त भएपछि क्रिकेटर रहेका सन्दीपले अहिले नै क्रिकेट खेल्न पाउँछन् वा पाउँदैनन् भन्ने पनि चासोको विषय बनेको छ।
आदेशमा उनी खेल्न पाउँछन् वा पाउँदैनन् भन्नेबारे उल्लेख गरिएको छैन।
उनलाई अदालतले विदेश जान रोक लगाएको छ। काठमाडौं उपत्यका छाड्न पनि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुमतिमा मात्रै पाउने छन्।
अदालतले उनीमाथि निगरानी राख्न पनि भनेको छ।
आदेशहरूको पालनाको प्रभावकारिताको प्रयोजनका लागि सन्दीपको गतिविधिको निगरानी गर्ने एवं उनको मोबाइल नम्बर, वा विवरणको सञ्चार संचार अभिलेख गर्न प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्ने भनिएको छ।
पढ्नुहोस्ः यी ५ शर्त उल्लंघन गरे सन्दीप लामिछाने फेरि जाने छन् थुनामा
त्यस्तै अहिले राष्ट्रिय क्रिकेट टिमबाट सन्दीप निलम्बनमा छन्। नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको छ।
यस्तो अवस्थामा उनले क्रिकेट खेल्न पाउँछन् त भनेर हामीले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई सोध्यौं।
अध्यक्ष चन्दले सुरूमा सन्दीपको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर अगाडि बढ्ने बताए।
सन्दीपको निलम्बन फुकुवा गर्ने/नगर्ने विषयमा भने कानुन व्यवसायी र क्यानका पदाधिकारीसँग पनि छलफल गर्ने उनले बताए।
'क्यानले पहिले उनको मनस्थिति र स्वास्थ्य अवस्था बुझ्छ र सरसल्लाह गरेर निर्णय गर्छ। सन्दीप लामिछाने जत्तिको मान्छे नेपाली क्रिकेटका लागि चाहिन्छ। त्यसमा क्यान स्पष्ट छ,' उनले भने।
यसबारे जानकारी गराउन क्यानको बोर्ड बैठक राखिने पनि उनले बताए। त्यहीँ यसबारे छलफल समेत गरिने उनको भनाइ छ।
उनले अदालतको आदेशप्रति आफू व्यक्तिगत रूपमा खुसी भएको समेत बताए।
'अदालतको निर्णयप्रति म व्यक्तिगत रूपमा खुसी नै छु। अदालतको निर्णयको सम्मान गर्छु। उनले बाहिर नै बसेर आफ्नो न्यायका लागि लड्ने छन्। उनी अब निर्दोष नै होऊन् भन्ने कामना पनि गर्छु,' अध्यक्ष चन्दले भने, 'बोर्डको बैठक पहिलो हप्तामा बस्छौं। त्यहाँ यसबारे जानकारी गराउने, कमी-कमजोरीबारे पनि छलफल गर्छौं।'
उच्च रजिष्ट्रार ठगिन्द्र कट्टेलले भने अदालतले प्रतिबन्ध लगाएको विषयमा बाहेक अरू उनले गर्न पाउने बताए। राष्ट्रिय खेलाडी रहेकाले उनको जनजीविका नै त्यही भएको हिसाबले सन्दीपले क्रिकेट खेल्न पाउने उनको भनाइ छ।
'अदालतले उनलाई विदेश जान रोक लगाएको छ। पीडित परिवारलाई दबाब दिन पनि पाइन्न भनिएको छ। यसबाहेक खेलाडीको बारेमा आदेशले केही बोलेको छैन। खेल खेल्न नपाइने भन्नेबारे बोलेको छैन,' कट्टेलले भने, 'ती आदेशले रोक लगाएका बाहेकका काम उनले गर्न पाउँछन्।'