लैंगिक तथा अल्पसंख्यक समुदायका कथा
जब उनलाई आफू समलिंगी हुँ भन्ने थाहा भयो, तब समाजले आफूमाथि कस्तो व्यवहार गर्ला भन्ने चिन्ताले गाँज्न थाल्यो।
मन्द मुस्कानका साथ बोलिरहँदा पनि उनको अनुहारमा एउटा प्रश्न थियो– किन समलिंगी व्यक्तिलाई समाजले स्वीकार गर्न सक्दैन? के ऊ मान्छे होइन?
उन्नाइस वर्ष उमेरका यी युवकले आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गरे। अहिले नै मानिसहरूले आफ्नो यौनिकताबारे थाहा पाए भने आफू र आफ्नो परिवारमा तनाव सिर्जना हुने भय उनलाई छ। उनको यौनिकताबारे परिवारजनलाई पनि थाहा छैन।
त्यसैले अहिले उनी आफ्नो परिचय गोप्य राख्न चाहन्छन्।
यी युवक हालै काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा भेटिएका थिए। उनी समलिंगी पुरुष हुन्। आफूलाई परिवारजनले स्वीकार गरिदिऊन् भन्ने उनको अपेक्षा छ।
एउटा डकुमेन्ट्रीपछि पहिलोपटक किम्फको मञ्चमा उभिएर थोरै बोले। त्यो बेला उनका आँखामा भावुकता झल्किएको थिए।
एउटा वृत्तचित्रमा उनी आफैं मुख्य पात्र थिए। वृत्तचित्रले समाजलाई भन्थ्यो– मेरो यौनिक पहिचान स्वीकार गर।
कार्यक्रम सकिएपछि उनी हामीसँग कुरा गर्न तयार भए। आफ्नो विगत साटे। वर्तमान र भविष्यको योजना सुनाए।
स्कुल पढ्दा त उनी यति हच्किँदैन थिए। आफ्नो कुरा सजिलै शिक्षकहरूलाई भन्थे।
उनले भने, 'सधैं होमवर्क गर्थेँ। सरम्याडमको नजिक हुन्थेँ। आफ्ना कुरा भन्थेँ। उहाँहरू मलाई माया गर्नुहुन्थ्यो।'
उनी गाउँ गठित बालक्लबको सदस्य भए। विभिन्न कार्यक्रममा भाग लिन थाले। एकपटक लैंगिक विभेदसम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर पाए। यही अवसर उनको यौनिक जीवनको कोशेढुंगा साबित भयो।
विभिन्न कार्यक्रममा सहभागी हुँदै जाँदा उनलाई समाजसेवामा संलग्न हुन मन लाग्यो। बोल्न पनि सिपालु थिए। बालक्लबमार्फ उनले गाउँमा सडक नाटक र जनचेतनामूलक कार्यक्रमहरू गरे। बालक्लब छाड्नुपर्ने उमेर भएपछि पनि उनलाई विभिन्न संस्थाहरूले बोलाउन थाले। कार्यक्रमहरूमा सहभागी हुँदै जाँदा उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय (एलजिबिटिक्युआइए-प्लस) का बारेमा केही जानकारी पाए तर उति ध्यान दिएनन्।
यस्तै एक कार्यक्रममा एक जना सहभागीले उनलाई प्रश्न गरे– एलजिबिटिक्युआइए समुदाय भनेको के हो?
अब त राम्ररी नै जान्नुपर्ने भयो। गुगलमा खोजी गरे। पढ्दै जाँदा आफू पनि त्यही समुदायको पो रहेछु कि भन्ने लाग्यो।
'सुरूमा त हो कि होइन जस्तो लागेको थियो। तर केटाहरूप्रति आकर्षित हुने मेरो बानी थियो। किन यस्तो भएको हो भन्ने चाहिँ थाहा थिएन,' उनले भने।
लैंगिक तथा अल्पसंख्यक/ एलजिबिटीक्युआइए समुदायमा पारलैंगिक व्यक्तिहरू मात्र हुन्छन् भन्ने उनलाई लाग्थ्यो। उनलाई केटीजस्तो हुन पनि मन लाग्दैन थियो।
दस कक्षामा पढ्दा नै यौनिक रूपमा केटाप्रति आकर्षित छु भन्ने थाहा पाएका थिए। उनलाई लाग्थ्यो– मैले त केटी मन पराउनु पर्ने! तर म केटा पो मन पराउँछु!
तैपनि आफूलाई किन यस्तो भएको हो भन्ने भेउ पाएनन्।
यो अलमल अन्त्य हुन एक वर्ष लाग्यो।
एक पटक 'युवा नेपाल' नामको एक गैरसरकारी संस्थाले जेन्डरसम्बन्धी कार्यक्रम गरेको थियो, उनी पनि सहभागी भए। कार्यक्रममा एलजिबिटीक्युआइए समुदायबारे सबै कुरा खुलस्त बताइएको थियो। आफ्नो यौनिक पहिचानबारे उनी प्रष्ट भए।
यौन गतिविधिका लागि केटा मान्छे केटातिरै आकर्षित हुनु र केटी मान्छे केटीतिरै आकर्षित हुनु समलिंगी हुनु रहेछ भन्ने थाहा पाए।
आफू पनि समलिंगी पुरूष रहेछु भन्ने यकिन भयो।
आफ्नो यौनिकता थाहा पाएका सुरूका दिनमा उनी खुसी हुन भने सकेनन्।
यसको मुख्य कारण समाजको अस्वीकृतिको भय नै थियो।
'वर्षौंको अलमलबाट पर्दा खुल्दा खुसी हुनुभन्दा म निराश थिएँ,' उनले भने, 'विस्तारै एलजिबिटीक्युआइए समुदायको अधिकारका लागि संघसंस्था र व्यक्तिहरूले आन्दोलन गरेको थाहा पाएँ। म एक्लो होइन रहेनछु भन्ने भयो। अनि ढुक्क भएँ।'
आफ्नो यौनिकता यकिन भए पनि पहिचान सार्वजनिक गर्न सकेका छैनन् उनले। आफूभित्रै दबाएर राखेका छन्। एक वर्षयता यस्तै अवस्थामा रहेका उनले आमालाई पनि भनेका छैनन्। आमालाई सम्झाउन सक्छु भन्ने लागेको छ, तर छिमेक र समाजको डर छ।
'मेरो पहिचान थाहा पाएपछि छिमेकीले आमालाई के भन्लान्, कस्तो व्यवहार गर्लान् भन्ने चिन्ता छ। डर छ,' उनी भन्छन्, 'सहरमा के छ थाहा छैन तर गाँउघरमा मजस्तालाई हिजडा भन्छन्। हाम्रो समाज फरक यौनिक व्यक्तिको अस्तित्व नै स्वीकार गर्दैन। समाजमा किन यस्तो हुन्छ मलाई थाहा छैन। आफ्नो खुसीअनुसार बाँच्न नदिने समाज छ।'
आफ्नो पहिचान कहिलेसम्म लुकाउने त?
सधैं लुकेर चल्दैन भन्ने उनलाई थाहा छ। खुलेर बाँच्ने तयारी गर्दैछन्।
अपमानविरूद्ध विद्रोह गर्ने, विस्तारै संघर्षमा अघि बढ्ने र आफ्नो पहिचान सार्वजनिक गर्ने सोच छ।
आफ्नो यौनिक समुदायको पहिचान र अधिकार प्राप्तीका लागि संघर्षमा सामेल हुन्छु भन्नेमा पनि दृढ छन्।
उनलाई यो पनि थाहा छ, आफ्नो यौनिक व्यवहार यही हो। अब बदलिने छैन। त्यसैले यसलाई अपनाएर खुसी हुन चाहन्छन्।
हाल उनी एलजिबिटीक्युआइए समुदायकै एक संस्थामा काम गर्छन्। कामको कुरा आमालाई थाहा छ। छोराले काम गरेर पैसा ल्याएकाले खुसी छिन् तर त्यहाँ काम नगरे हुन्थ्यो भन्ने ठान्छिन्।
उनी आमालाई सम्झाउँछन्, 'आमा, केटाले केटा नै मन पराउनु, केटीले केटी नै मन पराउनु गलत होइन। यो त प्रकृतिले नै दिएको हो। यस्ता मान्छेलाई हेला गर्नु हुँदैन।'
यस्तो कुरामा आमा सकारात्मक हुँदै गएकी छन्।
कहिलेकाहीँ मेलापातमा छिमेकीहरूले आमासँग उनको कामको कुरा काट्छन्। त्यस्तो जागिर राम्रो होइन भनिदिन्छन्। जजसले जेजे भने पनि उनले एकदिन आफ्नाबारे आमालाई भन्नै पर्नेछ, कुरा बुझाउनै पर्नेछ। उनी यसको तयारीमा लागेका छन्।
'मलाई विश्वास छ, मेरो पहिचान थाहा भएपछि आमा खुसी हुनु हुनेछ,' उनले भने।
त्यो दिन आउन केही समय भने कुर्नुपर्छ भन्ने उनलाई लाग्छ।
घरका एक्ला छोरा हुन् उनी। आमाले बिहेको कुरा निकाल्न थालेकी छन्। यो कुराले उनलाई झस्काउँछ।
आफूले आफैंलाई भन्छन्, 'म कहाँ केटीसँग बिहे गर्छु र! केटा नै भित्र्याउने हो।'
यही कुरा आमालाई पनि भन्ने साहस बटुल्दै छन्।
'छोराको बिहे वंश धान्ने कुरासँग जोडिँदो रहेछ। मेरी आमाको चाहना पनि यस्तै होला,' उनले भने।
उनी आफूचाहिँ समलिंगी केटासँगै बिहे गरेर पनि वंश धान्न सकिन्छ भन्ने विश्वासमा छन्। उनले मन मिल्ने प्रेमी पनि भेटेका छन्। भेट समाजिक सञ्जालमार्फत भएको हो। दुई प्रेमीबीच मनको कुरा हुन्छ, दुवैको मन हलुका बनाउँछ। उनका प्रेमी आफूलाई 'बाइसेक्सुअल' (द्विलिंगी) भन्छन्।
'एकअर्कालाई भेटेदेखि हामी दुवै जनामा छुट्टै आनन्दको भाव पैदा भएको छ। मनको कुरा गर्न पाउँदा हलुका अनुभव हुन्छ,' उनले भने।
उनीहरू एकअर्कालाई दिलैबाट माया गर्छन् रे। दुवै प्रेमी दुवैका घरमा साथीका रूपमा आउजाउ गर्छन्। यौनिक पहिचान र सम्बन्धबारे भने दुवैका परिवारजन र समाज बेखबर छन्।
उनलाई एलजिबिटीक्युआइए समुदायले खुलेर परिचित हुने आधारभूत अधिकार पनि नपाएको भन्ने लागेको छ। यो समुदायका लागि सरकारले पनि धेरै काम गर्न बाँकी छ। तर यसमा ध्यान दिइएको छैन।
'सरकार पनि समाजको परम्परागत नजरबाट माथि उठ्न सकेको छैन,' उनी भन्छन्।
अप्ठ्याराका बाबजुद उनी लड्न डराएका छैनन्। आफ्ना प्रेमीलाई पनि लड्न प्रेरित गर्छन्। भाग्नु हुँदैन, आफूलाई बलिलो बनाउनुपर्छ भन्छन्। प्रकृतिले दिएअनुसारको जीवन भोग्न पाउनुपर्छ भन्ने उनको दृढ मान्यता छ।
'यो मान्यताबाट विचलित नभई अघि बढ्नेमा म प्रतिबद्ध छु,' उनले भने।