२०७० सालमा कालिका माविको भवन मागेर स्नातक कक्षा शुरू गरेको बुटवल कालिका क्याम्पस स्थापनाको ९ वर्षमै उत्कृष्ट क्याम्पस बन्न पुगेको छ।
बिबिएस, बिएड र बिसिएको पढाई हुने यो क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमध्ये सबैभन्दा कान्छो सामुदायिक क्याम्पस हो।
कक्षा १२ सम्मको पढाईमा देशकै उत्कृष्ट सामुदायिक विद्यालय ‘कालिका मानव ज्ञान मावि’ का विद्यार्थीलाई उच्च शिक्षाका लागि कहाँ जाने भन्ने चिन्ताले सताउँथ्यो।
सर्वसुलभ शुल्कमा स्तरीय शिक्षा प्रदान गरि पटकपटक पुरस्कृत भएको यहाँका विद्यार्थी उच्च शिक्षा पनि कालिाकामै पढ्न पाए हुन्थ्यो भन्ने आशा राख्थे।
२०७० सालमा कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीलाई विदाई गर्ने क्रममा एकजना छात्राको भनाईले क्याम्पस प्रमुख घनश्याम पाठकको मन छोयो।
‘म त्यतिबेला कालिका मानव ज्ञान माविमा प्रधानाध्यापक थिएँ, विद्यार्थीलाई प्रमाणपत्र दिइरहेका बेला एक जना छात्राले स्नातक तहको कक्षा पनि यहीँ भएको भए पढाईलाई निरन्तरता दिन पाउँथे भनेको कुराले क्याम्पस सञ्चालनको योजना बनेको हो,’ क्याम्पस सञ्चालन गर्दाको क्षण सम्झिँदै पाठकले सेतोपाटीसँग भने।
शुरूको वर्ष ३५ जना विद्यार्थीबाट बिबिएस कक्षा सञ्चालन गरेको बुटवल कालिका क्याम्पसमा हाल ३ हजार भन्दा बढी विद्यार्थी स्नातक तहमा अध्ययनरत छन्। यो अवधिमा विद्यार्थीको संख्या मात्रै बढेको होईन अध्यापनका लागि विषयहरू समेत थपिँदै गएका छन्।
हाल बिबिएस, बिसिए र बिएड अध्यापन हुने क्याम्पसमा बिसिएमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण हुँदै आएको क्याम्पस प्रमुख पाठकको दाबी छ। यहाँ अध्ययनरत मनिराम गौतम बिसिएतर्फ नेपाल प्रथम भएका छन्।
‘बिसिएमा अहिलेसम्म शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्, सातौं सेमेष्टर चलिरहेको छ यहाँसम्म आईपुग्दा कुनै पनि विद्यार्थी असफल भएका छैनन्, क्याम्पसको यो स्तरलाई खस्किन दिनुहुन्न भन्नेमा हामी गम्भीर छौं,’ पाठकले भने।
प्रयोगात्मक र विद्यार्थीकेन्द्रीत सिकाई पद्दतिले उत्कृष्ट नतिजा दिन थालेपछि बुटवल आसपासका मात्र होईन लुम्बिनीका अरू जिल्ला र छिमेकी प्रदेशबाट समेत विद्यार्थीको आकर्षण बढ्न थालेको छ।
क्याम्पस प्रमुख पाठकका अनुसार भर्ना भएका ५० प्रतिशत विद्यार्थी पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, स्याङ्जा, नवलपरासी, पर्वत, बाग्लुङ र जुम्लालगायतका छन्।
झापाको कचनकवलका विशाल पौडेल बुटवल कालिका क्याम्पसमा बिसिए अध्ययनको लागि भर्ना भएका छन्। प्लस टु सम्म झापामै पढेका उनको चाहना स्नातक अध्ययनको लागि काठमाडौं जाने थियो। बुवा र दाजु रोजगारीको शिलशिलामा बुटवल आएपछि उनी पनि बुटवलनै आएर कालिका क्याम्पस भर्ना भए।
‘पहिलेको मेरो योजना त काठमाडौं जानुपर्छ भन्ने थियो तर, क्याम्पस शुल्क, कोठा भाडा र खाने खर्च जोड्दा महँगो पर्ने भएपछि यहीँ भर्ना भएँ, अहिले ठिकै गरेछु भन्ने लागेको छ,’ विशालले भने।
बुटवल कालिका क्याम्पसको पढाई मात्र होईन यहाँको पारिवारिक वातावरणले छिटो घुलमिल बनाउने र टाढाबाट आएर भर्ना भएको अनुभूति नै नहुने उनले बताए।
बुटवलकै निजी क्याम्पसमा प्लस टु गरेकी पश्चिम नवलपरासी सुनवलकी सन्ध्या पौडेल पनि बुटवल कालिका क्याम्पसमै बिसिए अध्ययन गर्दैछिन्। क्याम्पस भर्ना भएको पहिलो वर्षमै राम्रो वातावरण मिलेको उनले बताईन्।
क्याम्पसका बिसिए को-अर्डिनेटर आशिष न्यौपानेका अनुसार अहिले आइटी क्षेत्रमा विद्यार्थीको धेरै आकर्षण देखिएको छ। ‘बिहान क्याम्पसमा अध्ययन गर्दै दिउँसो सोही अनुसारका काम गर्ने विद्यार्थी पनि धेरै छन्, कतिपय विद्यार्थीले अध्ययनसँग आफ्नै व्यवसाय समेत सञ्चालन गर्नुभएको छ,’ न्यौपानेले सेतोपाटीसँग भने।
न्यौपानले पहिलो व्याचका ३२ जना विद्यार्थीमध्ये ३० जना अध्ययनसँगै जागिर र व्यवसायमा आवद्ध भईसकेको दाबी गरे।
बुटवल योगिकुटीका सुरज बस्याल आफैंले ल्यापटप रिपेयरिङ सेन्टर खोलेका छन्। सानैदेखि प्राविधिक क्षेत्रमा रूची राख्ने सुरजले कक्षा ९ देखि नै कालिका माविमा प्राविधिक विषय अध्ययन गरे। सोही माविबाट टेक्निकल साईन्समा प्लस टु गरेका उनले २ वर्ष भारतमा गएर ल्यापटप रिपेयरिङको काम सिके। त्यहाँ ल्यापटपको हार्डवेयरको काम सिकिसक्दा बुटवल कालिका क्याम्पसमा बिसिए कक्षा संचालन भएसँगै थप अध्ययनको लागि भर्ना भए।
ट्राफिक चोकमा ‘माईक्रो चिप्स एक्स्पर्ट’ ल्यापटप रिपेयरिङ सेन्टर सञ्चालन गरेका उनी बिहान क्याम्पसमा सिकेको ज्ञानलाई दिउँसो आफ्नै सेन्टरमा प्रयोग गर्छन्।
प्राविधिक क्षेत्रबाट राम्रो आन्दानी गर्न सकिने बताउने सुरज हार्डवेयरकै कामबाट मासिक ३ लाखसम्म आम्दानी गर्छन्।
‘हार्डवेयरको काम भारतमा सिके पनि सफ्टवेयरको ज्ञानको लागि क्याम्पस भर्ना भएको छु, क्याम्पसमा सिकेको कुरा तत्काल एप्लाई गर्न आफ्नै रिपेयरिङ सेन्टर भएकोले सहज भएको छ,’ उनले भने।
क्याम्पस आफैंले पनि ८० लाख रूपैयाँ खर्चेर अत्याधुनिक कम्प्यूटर ल्याब बनाएको छ। शिक्षक न्यौपानेका अनुसार क्याम्पसमा त्रिभुवन विश्वविद्यालयले दिएका ४८ वटा विषयका कोर्ष सँगै क्याम्पस आफैंले डिजाईन गरेका थप ८ वटा कोर्षमा अध्यापन हुँदै आएको छ।
क्याम्पसले बिसिएको मात्र होईन बिबिएसका विद्यार्थीलाई समेत कम्प्यूटर र लेखा सम्बन्धि अतिरिक्त तालिम दिने गरेको छ। ‘बिहान ११ बजेदेखि ३ बजेसम्म कोर्षभित्रको नियमित पठनपाठन हुन्छ, त्यसपछिको १ घण्टा अतिरिक्त कक्षा सञ्चालन गरि निःशुल्क कम्प्यूटर, लेखा सम्बन्धि तालिमहरु दिँदै आएका छौं,’ क्याम्पस प्रमुख पाठकले भने।
‘बिबिएसमा भर्ना भएका विद्यार्थीलाई पहिलो वर्ष कम्प्यूटर सम्बन्धि कक्षा सञ्चालन गराउँछौं, दोस्रो वर्ष एकाउण्ट सम्बन्धि अहिलेसम्म प्रयोगमा आएका सफ्टवेयर चलाउन सक्ने बनाउँछौं, तेस्रो वर्ष कोर्ष सकिएपछि हरेक विद्यार्थीलाई न्यूनतम ३ महिना प्रयोगात्मक अभ्यासको लागि वित्तिय संस्था, उद्योग, अडिटर्स कम्पनीमा ईन्टर्नसिपको लागि पठाउँछौ भने चौथो वर्ष विभिन्न विषयमा डाटा संकलनको लागि पठाउने र त्यसबाट रिपोर्ट प्रस्तुत गर्न लगाउँछौं,’ उनले भने।
चार वर्षमा क्याम्पसभित्र कोर्षभित्रको पढाई सकिँदा शैक्षिक प्रमाणपत्र सँगै कम्प्यूटर र एकाउण्ट सम्बन्धि ज्ञान दिने र कार्यक्षेत्रमा ईन्टर्नशिप गरेका प्रमाणपत्र समेत दिएर पठाउने गरेको उनले बताए।
‘यहाँबाट पासआउट भएर गएका विद्यार्थीले कम्प्यूटर र एकाउण्ट प्याकेज सिक्न भन्दै फेरि थप समय खर्चिन नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘हाम्रा विद्यार्थी पास भएर जाँदा हातमा सर्टिफिकेट बोकेका मात्र होईन व्यवहारिक रूपमा पनि दक्ष छन् भन्ने बनाउनु हाम्रो उद्देश्य हो।’
क्याम्पसले ईन्टर्नसिपकै लागि हालसम्म ८४ वटा बैंक, विभिन्न सिए कम्पनी र उद्योग व्यवसायीसँग सम्झौता गरेर विद्यार्थी पठाउने गरेको छ।
‘अब हरेक वर्ष यहाँबाट स्नातकमा पास आउट भएर जानेको संख्या ३ हजार भन्दा बढी हुन्छ, उनीहरूलाई शिप र प्रमाणपत्र बिना पठाउने हो भने हाम्रो क्याम्पस शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो मात्र हुन्छ जुन हामी चाहँदैनौं,’ पाठकले दाबी गरे।
२०७७ सालसम्म कालिका माविकै कक्षा कोठामा सञ्चालन गरिएको यो क्याम्पस अहिले आफ्नै सुविधासम्पन्न भवनमा सञ्चालन हुँदै आएको छ।
जग्गा र पुर्वाधार कसरी बनाउने भन्ने अलमलमा रहेको क्याम्पसका लागि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बुटवल रामनगरमा जग्गा प्राप्तिमा सहयोग गरेको पाठकले बताए।
‘जग्गा प्राप्तिमा यस क्षेत्रका माननीय पूर्वअर्थमन्त्री विष्णु पौडेलको ठूलो सहयोग भयो, ‘लुम्बिनी प्रदेश सरकारका तत्कालीन सामाजिक विकास मन्त्री सुदर्शन बराल र शिक्षामन्त्री वसिउद्दिन खांको पनि सकारात्मक सहयोगले जग्गा प्राप्ती र पूर्वाधार निर्माण सम्भव भएको हो,’ उनले भने।
भौतिक पूर्वाधार निर्माण, पुस्तकालय, फर्निचर, उपकरण, खेलकुद सामग्री, सवारी साधन लगायतमा गरि हालसम्म ५० करोड बढी लगानी भइसकेको क्याम्पसको भवन निर्माणको लागि अर्थ मन्त्रालयबाट ६ करोड रुपैयाँ उपलब्ध भएको छ।
‘तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले भवन निर्माणको लागि मन्त्रालयबाट ६ करोड रुपैयाँ उपलब्ध गराएपछि भवन निर्माण गर्ने आँट आएको थियो,’ पाठकले भने।
पूर्वाधार निर्माणका लागि क्याम्पसले आफ्नै स्रोतबाट १५ करोड बढी लगानी गरेको छ भने विश्वविद्यालय अनुदान आयोग र लुम्बिनी प्रदेश सरकारबाट समेत झण्डै साढे ३ करोड रकम प्राप्त भएको छ। त्यसैगरि क्याम्पस प्रमुख तथा सञ्चालक समितिका सदस्यको जग्गा धितो राखि २ करोड रूपैयाँ बैंकबाट ऋण लिएर भवन निर्माण गरिएको क्याम्पस प्रमुख पाठकले जानकारी दिए।
बुटवल १० रामनगरस्थित कालिका मानवज्ञान मावि रहेको १० कठ्ठा क्षेत्रमा अहिले क्याम्पसको सुविधा सम्पन्न ६० कोठाको भवन तयार भएको छ।
क्याम्पसमा ८ वटा प्रयोगशाला, एक हजार जना क्षमताको सभा हल, दुई वटा सेमिनार हल, गेष्ट हाउस र चमेना गृहसहित लुम्बिनी प्रदेशस्तरिय पुस्तकालय र अनुसन्धान केन्द्र समेत निर्माण गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष अर्जुनमान सैंजूले बताए।
पुस्तकालय र अनुसन्धान केन्द्र सञ्चालनमा आएपछि विभिन्न विषयका शोधकर्तालाई अध्ययन अनुसन्धानका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने सैंजूको दाबी छ।
प्राध्यापक र कर्मचारी गरि ७५ जना कार्यरत क्याम्पसमा अब छिटै बिएस्सी अन्तर्गत सिएसआईटी, बिबिए र एमबिएसका कक्षा सञ्चालन हुने तयारीमा रहेको क्याम्पस प्रमुख पाठकले बताए।