मानव बेचबिखन मुद्दामा अदालतबाट ३० वर्ष कैद सजाय भई फरार रहेका एक जनालाई रूपन्देही प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ।
कपिलवस्तुको चन्द्रौटाका दुई जना महिलालाई भारतमा लगेर बेचेको अभियोगमा २०७४ सालमा जिल्ला अदालत कपिलवस्तुबाट ३० वर्षको कैद र २ लाख ५० हजार जरिवाना तोकिए पनि फरार रहेका रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ५ रूद्रपुरका मिनबहादुर विकलाई इलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको हो।
प्रहरीले दिएको घटना विवरण अनुसार गाउँमा आरने माइला भनेर चिनिने विकले शालिकराम विकको सहयोगमा २०७० साल कात्तिकमा ज्याला मजदुरी गर्दै आएका ती महिलालाई राम्रो काममा लगाइदिने भन्दै भारतको पञ्जाव पुर्याउँछन्।
शालिकरामले जिम्मा लगाएका महिलाहरूलाई मिनबहादुरले चन्द्रौटादेखि दाङको भालुबाङदेखि बसबाट नेपालगञ्ज हुँदै रुपेडिया नाकाबाट भारतको पञ्जावस्थित जालन्धर शहरको फिरोजपुर पुर्याएका थिए।
फिरोजपुरमा बग्गी नामका व्यक्तिले काम लगाइदिने र उनीहरूले त्यही काम गर्ने भन्दै खाली कागजमा ल्याप्चे लगाउन लगाई आफू त्यहाँबाट निस्किन्छन्।
गाउँमा ज्याला मजदुरीको काम भन्दा भारतमा भए पनि राम्रो काम पाइने आशामा त्यहाँ पुगेका उनीहरूलाई जब बग्गीले होटलमा पुर्याउँछन् आफूहरू बेचिएको पत्तो पाएपछि छाँगाबाट खसेजस्तै हुन्छन्।
भारतको होटलमा बेचिएको थाहा पाए पनि उनीहरू त्यहाँबाट उम्किन सक्दैनन्। झण्डै १ महिनापछि होटलमा अरू कोही नभएको मौका छोपी एकदिन दुबै जना त्यहाँबाट भाग्न सफल हुन्छन्। आफूहरूलाई बिक्री गरिएको होटलबाट भागेका उनीहरू कपिलवस्तुको कृष्णनगरस्थित नेपाल भारत सिमामा रहेको पुनर्स्थापना गृहको संरक्षणमा पुग्छन्।
पुनर्स्थापना गृहको संरक्षणमा आएपछि उनीहरूले आफूलाई नारकीय जीवनमा पुर्याउनेविरूद्ध कानुनी लडाइँ लड्ने र उसलाई कारबाहीको दायरामा पुर्याउने निधो गर्छन्। त्यसपछि २०७० साल पुस महिनामा इलाका प्रहरी कार्यालय कृष्णनगरमार्फत् मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरेका थिए।
उक्त मुद्दामा गरिएको अनुसन्धान तथा शालिकराम विक समेतको बयानपछि जिल्ला अदालत कपिलवस्तुले २०७४ साल असार १९ गतेको फैसलामा आरने माइला भनिने मिनबहादुरलाई मुख्य कसुरदार मानी ३० वर्ष कैद तथा २ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो।
मानव बेचबिखन ओसारपसार ऐन २०६४ अनुसार गरिएको उक्त फैसलामा कैद र जरिवानासँगै पीडित महिलाहरूलाई १ लाख २५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरे पनि विक फरार थिए।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले ६ वर्षदेखि फरार रहेका विकलाई खोजतलास गर्दै जाँदा गत सोमबार सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कपिलवस्तु पठाएकोमा अदालतले कैद भुक्तानको लागि कारागार चलान गरेको जानकारी दिए।