निर्माण सम्पन्न भएर पनि सञ्चालन कार्यविधि नबन्दा बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगमा आउन सकेको छैन।
बुटवल उपमहानगरपालिका–१०, रामनगरस्थित बुटवल मण्डपमा बनेको सुविधा सम्पन्न सम्मेलन केन्द्र प्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ ११ गते एक समारोहमा उद्घाटन गरेका थिए।
बुटवलमा ठूला गोष्ठी, सेमिनार, राजनीतिक दलका सभा सम्मेलन इत्यादिका लागि ठूलो क्षमताको सभाहल थिएन। नेकपा एमालेले २०६५ सालमा आठौं महाधिवेशन गर्न बुटवलमा ठूलो क्षमताको सभाहल खोजेको थियो। नभेटिएपछि बुटवल मण्डपमा खुला आकाशमुनि नै गरिएको थियो।
यसपछि बुटवल मण्डपमै अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको परिकल्पना गरिएको थियो।
सरकारले सभाहल निर्माण गर्ने निर्णय २०६५ सालमै गरे पनि २०७१ साल माघ १५ गतेमात्रै निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो।
निर्माण सुरू नगर्दै २०७२ सालमा गएको विनाशकारी भूकम्प, त्यसपछिको नाकाबन्दी र मधेस आन्दोलन अनि कोभिड महामारीका कारण सम्मेलन केन्द्रको निर्माण कार्यमा असर परिरह्यो।
आठ वर्षमा निर्माण पूरा भई उद्घाटन भएको साढे तीन महिना बित्दा पनि सम्मेलन केन्द्र सञ्चालन भएको छैन।
सम्मेलन केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीका अनुसार सञ्चालन कार्यविधि तयार नहुँदा सम्मेलन केन्द्र बन्द राख्नु परेको हो।
सहरी विकास तथा भवन निर्माण विभागले सञ्चालन कार्यविधि तयार गरेर संघीय सहरी विकास मन्त्रालयमा बुझाएको उनले बताए। उनका अनुसार कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत हुन बाँकी छ।
पन्थीका अनुसार सहरी विकास तथा भवन निर्माण विभागले सभाहल सञ्चालन कार्यविधि तथा निर्देशिका तयार पारेर संघीय मन्त्रिपरिषदमा पठाएको छ।
कार्यविधिमा प्रस्ताव गरिएअनुसार पाँच सय जना क्षमताको सभाहल नगरपालिका वा गाउँपालिकाले सञ्चालन गर्न पाउँछन्।
उपमहानगरपालिकाले सात सय जना क्षमताको र महानगरपालिकाले एक हजार सिट वा सोभन्दा बढी क्षमताको सभाहल सञ्चालन गर्न पाउँछन्।
बुटवलको सम्मेलन केन्द्र एक हजार जनाभन्दा बढी अटाउने क्षमताको छ। यो सम्मेलन केन्द्र बुटवल उपमहानगरले छुट्टै विकास समिति बनाएर सञ्चालन गर्ने गरी कार्यविधि प्रस्ताव छ।
यस्तो विकास समिति सहरी विकास मन्त्रालय मातहत रहने पनि पन्थीले बताए।
आयोजना प्रमुख पन्थीले निर्वाचनका कारणले कार्यविधि स्वीकृतिमा ढिलो भएको हुन सक्ने बताए।
उनका अनुसार उद्घाटन भएयता झन्डै एक दर्जन सामाजिक संघसंस्था, सहकारी संस्था तथा व्यक्तिहरूले समेत कार्यक्रमका लागि सभाहल मागेका थिए।
उनले रोटरी क्लबको सम्मलेन, चिकित्सकहरूको सेमिनार, शैक्षिक प्रदर्शनी, सहकारी संस्थाहरूका साधारणसभा तथा विवाहको लागि समेत सभाहल माग भएको थियो।
सञ्चालन कार्याविधि नभएकाले कसैलाई पनि उपलब्ध हुन सकेन।
पन्थीले मन्त्रिपरिषद्ले कार्यविधि स्वीकृत गरेपछि सभाहल सञ्चालन हुने बताए।
उनी भन्छन्, ‘निर्माण सम्पन्न भएको छोटो अवधिमै आएको माग हेर्दा बुटवलको सभाहल खाली राख्नुपर्ने अवस्था आउँदैन।’
उनले अब नयाँ सरकार बनेपछि कार्यविधि स्वीकृत हुनसक्ने अनुमान गरे।
पन्थीका अनुसार बुटवलको सभाहल काठमाडौं बाहिर सबैभन्दा बढी क्षमताको हो। यसको मासिक सञ्चालन खर्च १३ लाख रुपैयाँ अनुमान गरिएको छ।
सभाहलले कुल साढे १६ बिघा जमिन चर्चेको छ। यसमध्ये ९ दशमलव ६ बिघा क्षेत्रफलमा सम्मलेन केन्द्रको मूल संरचना बनेको छ।
सतहबाट हेर्दा ब्लकअनुसार फरक–फरक तीन वटा भवन देखिए पनि आकाशबाट हेर्दा आपसमा जोडिएर नेपालको राष्ट्रिय झण्डाको आकार बनेको छ।
सम्मेलन केन्द्रसँगै सय जना अटाउने दुई वटा मल्टी-पर्पोज भवन छन्। सर्भिस ब्लक दुई वटा छन्। एक क्यान्टिन, एक ग्रीन हाउस, कर्मचारी आवास भवन र सुरक्षा गार्ड भवन पनि छन्।
सम्मलेन केन्द्रमा दुई वटा प्रवेशद्वार छन्। निकासद्वार एउटा छ। भिआइपी र सर्भिसका लागि समेत गरी पाँच वटा गेट छन्।
सम्मेलन केन्द्रमा लिफ्ट पनि राखिएको छ। बाटो, फुटपाथ, बगैंचा लगायतका संरचना निर्माण गरिएका छन्।
सम्मेलन केन्द्रमा हेलिप्याड पनि छ। चार सय गाडी र चार सय मोटरसाइकल अटाउने पार्किङ छ।
आयोजना प्रमुख पन्थीका अनुसार भौतिक संरचना निर्माण, रङरोगन, फर्निचर व्यवस्थापन, साउन्ड सिस्टम, विद्युत, सिसिटिभी जडान लगायतका सबै काम सम्पन्न गर्दा एक अर्ब ११ करोड रुपैयाँ खर्च भएको छ।
बुटवल मण्डपमा रहेका १३८ रूख कटान गरी सम्मेलन केन्द्र निर्माण गरिएकोले क्षतिपूर्तिका लागि हरियालीमा विशेष जोड दिइएको छ।
सम्मेलन केन्द्र परिसरमा आकासे पानी जमिनमा पुनर्भरण हुने संरचना पनि बनाइएको छ।