जंगलको राजा सिंहको बालकथा सुन्नु भएकै होला। सिंहले जंगलका जनावरलाई दुःख दिएको र जनावरले लिएको बदलामा आधारित छ।
सिंहको त्रासले दिक्क भएपछि सबक सिकाउन सबै जनावर आफैं आहारा बनेर उपस्थित हुने वाचा गर्छन्। र पछि खरायोले जुक्ति लगाएर सिंहलाई कुवामा खसाल्छ र जंगलमा खुसी छाउँछ।
यस्तै खालको कथामा आधारित छ, सातगाउँको जात्रा।
इतिहासविद् प्रयागमान प्रधानका अनुसार कीर्तिपुर अस्पताल नजिकै दुनिग भन्ने ठाउँमा 'लाखे'को बस्छ भन्ने विश्वास गरिन्छ। लाखेलाई ठाउँअनुसार कहीँ देवता त कहीँ राक्षस मानिन्छ। कीर्तिपुरको यो लाखे राक्षस मानिन्छ।
यी लाखेले पनि जंगलको राजा सिंहले झैं दुःख दिन्थे रे।
'त्यति बेलाको लाखेले कीर्तिपुरमा अहिलेका टोले डनले जस्तै सताउँथे,' इतिहासविद् प्रधानले भने, 'हप्ता उठाउने भन्छन् नि त्यस्तै थियो।' उनका अनुसार लाखे सबैसँग खानेकुरा माग्दै हिँड्थे।
कीर्तिपुरमा मात्रै नभइ त्यहाँ वरपरका सातगाउँका स्थानीयलाई सताउँथे। धेरै सास्ती भएपछि स्थानीय मिलेर लाखेलाई ठीक पार्ने निधो गरेछन्। यी सात गाउँ पागाँ, नगाउँ, मच्छेगाउँ, सतुन्गल, बोशीगाउँ, नैकाप र कीर्तिपुर हुन्।
सातगाउँलेले आ-आफ्ना ठाउँमा भएका देवीदेवतालाई साधना गरी लाखेसँग जोरी खोज्ने निर्णय गरे। अघिल्लो रात दुनिगमा एक अग्रज व्यक्ति 'लाखेपालो' बसे। अर्थात् लाखे कुर्ने पालो।
अन्य दिन जस्तै त्यो दिन कसको पालो हो, सो मान्छे जाँड, रक्सी, राँगा मासुको परिकार लगायतका ८४ व्यञ्जनका खाना लिएर उपस्थित भए।
त्यो दिन विभिन्न तान्त्रिक पूजाआजा गरी निस्कनुपर्छ। ठाउँअनुसार विष्णुदेवी, इन्द्रायणी, ब्रम्हायणी, माहेश्वरी, कुमारी, बाराही, सिंहिनी, ब्याघिनी, गणेश, भैरवको पूजा गर्ने चलन रहेको प्रधानले जानकारी गराए।
'लाखेपालो बस्नेको ज्यानको समेत खतरा हुन्छ' प्रधानले स्थानीय विश्वास सुनाए, 'रिसले त्यो मान्छेको रगत खाएर मार्न पनि सक्छ, त्यहाँ जे पनि हुन सक्छ।'
सातै गाउँका मान्छे भेला भएपछि लाखेमा एक किसिमको भय उत्पन्न भयो। लाखे आफ्नो बासस्थानबाट निस्किन सक्दैन। रातभर लाखेलाई पर्खेर बस्ने मान्छेलाई बहादुरको सम्मान दिइयो।
'त्यो दिनदेखि त्यस मान्छेलाई बहादुरीको नाम दिइयो,' प्रधानले भने, 'इन्द्रायणी माईको शक्तिले लाखे आउन नसकेको भनेपछि जात्रा गरियो।'
लाखेलाई तर्साएपछि पालो बस्ने व्यक्तिलाई प्रधान थरका अग्रजबाट पूजाआजा, बाजासहित जात्रा गरी घर फर्काइन्छ।
यसवर्ष पनि जात्रा सुरू भइसकेको छ। कीर्तिपुरको जात्रामा अहिले 'खल गुठी' ले यो चलन धानिरहेको छ। गुठीमा श्रेष्ठ, महर्जन र गोपाली समुदाय छन्।
यी तीन समुदाय मिलेर बनेको गुठीयारहरू पालैपालो लाखेपालो बस्दै आएका छन्। प्रायः परिवारका अग्रज मान्छे बस्ने गर्छन्। लाखेपालो बस्न एक घ्याम्पो जाँड, राँगाको मासुको परिकार, चिउरा, भात लगायत चाहिन्छ भने आफ्नो रक्षाका लागि एउटा निगालो राख्ने चलन छ।
शनिबार कीर्तिपुरको इन्द्रयणी जात्रा छ। लाखेपालो बस्न जाँदा सानो परालको छाप्रो बनाइ बस्न पर्ने नारायण बहादुर श्रेष्ठ बताउँछन्।' आगो तापेर एक्लै बस्छौं,' तेस्रोपटक लाखेपालो बसेका श्रेष्ठले भने।
पहिले पहिले रातिदेखि नै पालो बस्ने परम्परा रहे पनि अचेल भने बिहानपख मात्र जाने गरिएको छ। यो वर्ष कीर्तिपुर १ का नारायण बहादुर श्रेष्ठ आफैं लाखे बसेका छन्।
कीर्तिपुरमा एकैपटक दुई ठाउँ जात्रा निकालिन्छ। एक लाखेपालो बसेकाको विजय जात्रा गरिन्छ भने अर्को, इन्द्रायणीको जात्रा विभिन्न साँस्कृतिक बाजाका साथ बस्तीमा घुमाइन्छ। साँझपख सबै कार्य सकेर इन्द्रयाणी देवीलाई सिंह भैरव मन्दिर परिसरभित्र रहेको देगलमा विसर्जन गर्न लगिन्छ।