एक विदेशी फोटोग्राफरले हिउँ चितुवाका तस्बिर खिचेको भनेर संसार झुक्याएको भन्ने कुरा अहिले चर्चामा छ। यसबारे छानबिन हुँदै गर्ला।
यही बेला ललितपुर झम्सिखेलस्थित विन्डहर्स ग्यालरी हिउँ चितुवाकै प्रदर्शनी भइरहेको छ। नेपालका वाइल्ड-लाइफ फोटोग्राफर तासी आर घलेले खिचेका हिउँ चितुवाका तस्बिरहरू हेर्न पाइने सुनेर हामी यहाँ गएका थियौं।
फोटो प्रदर्शनीमा छिर्दा हामी नै एकछिन झुक्कियौं।
खै त हिउँ चितुवा! कतै अर्कैको कला प्रदर्शनीमा त आइपुगिएन!
तीनवटा 'एब्सट्रयाक्ट' चित्रजस्तै छन् एकातिरको भित्तामा। अर्को भित्तामा दुइटा ल्यान्डस्केप फोटा छन्। अर्को कुनामा थप दुइटा ल्यान्डस्केप छ।
अगाडि बढ्दै अर्को कोठा पुग्दा बल्ल हिउँ चितुवाहरू देखिए। ती तस्बिर खिच्ने तासी पनि त्यहीँ भेटिए।
'तपाईंहरूजस्तै धेरै जना झुक्किनु हुन्छ,' मुस्कुराउँदै तासीले भने, 'यो त तासीको नभएर अर्कै प्रदर्शनीमा आइयो कि भन्नुहुन्छ। तासीले अरू कलाकारसँग मिलेर प्रदर्शनी गरेछ क्या हो पनि सोच्नु हुँदोरहेछ।'
विन्डहर्स ग्यालरीमा अहिले तासीको 'मेल्टिङ पाराडाइज' शीर्षकको फोटो प्रदर्शनी भइरहेको छ। यो प्रदर्शनीले हिमाली क्षेत्रमा कसरी जलवायु परिवर्तनले हिमाल र हिउँ चितुवालाई असर पुर्याएको छ भन्ने देखाउन खोजेको छ।
तासीको प्रदर्शनीको सुरूआती झलकमै देखिने दुइटा ल्यान्डस्केप तस्बिरहरू मनाङको गंगपूर्ण तालका हुन्।
एउटामा ताल प्रष्टै देखिन्छ, अर्कोमा ताल बालुवाले पुरिएर नामनिसान छैन। एउटा सन् २०१९ मा खिचिएको फोटो हो भने अर्को सन् २०२१ मा। दुई वर्षको अन्तरालमा खिचिएको तस्बिरमा यति धेरै परिवर्तन देखिनु जलवायु परिवर्तनका कारण भएको अविरल वर्षा हो।
'पछिल्लो वर्षको जुनमा महिनामा ८-९ दिन लगातार पानी पर्यो। पानीले बालुवा बगाएर सबै ताल पुरियो,' तासीले भने, 'अब त ताल थियो भन्न सम्झनामा तस्बिरहरू मात्र छन्।'
तीनवटा एब्स्ट्रयाक्ट जस्ता देखिने तस्बिरहरू उनले त्यही तालतिर जमेको हिउँको क्लोज–अप सट खिचेका रहेछन्। ती हेर्दा एब्स्ट्रयाक्ट पेन्टिङजस्तै देखिन्छन्। सानोदेखिको रूचि र केही समय पेन्टिङ पनि सिकेका तासीको पेन्टिङप्रतिको रूचि यहाँ झल्किएको देखिन्छ।
अब कुरा गरौं हिउँ चितुवाको।
मनाङमा जन्मिएका तासीले सानैदेखि हिउँ चितुवा देख्दै आएका थिए। यसको महत्त्वबारे भने धेरैपछि मात्र थाहा पाए। नभए उनलाई यो जनावार खासै मन पर्दैन थियो।
'हाम्रो वस्तुभाउ खाने भएकाले अधिकांश मनाङबासीलाई हिउँ चितुवा खासै मन पर्दैन,' उनले भने।
सन् २००४ मा अन्नपूर्ण क्षेत्र संरक्षण परियोजनाले नेचर-गाइड तालिम दिएको थियो। १३ दिने उक्त तालिममा उनले हिउँ चितुवाको महत्त्व बुझे। तिनले हिमालमा कस्ता भूमिका निर्वाह गर्छन् र किन तिनलाई संरक्षण गर्नुपर्छ भन्ने थाहा पाएपछि सानोदेखि मन नपराउने जनावरप्रति तासीको मन फेरियो।
'हिउँ चितुवा त मेरै गाउँमा पाइन्छ। यसको एकचोटि फोटो त जसरी पनि खिच्नुपर्छ भन्ने त्यही समयदेखि सोच्न थालेँ,' उनले भने।
सन् २००६ मा बल्ल तासीको त्यो सोच पूरा भयो। त्यो साल उनले दुइटा एक साथ हिँडिरहेका हिउँ चितुवाका तस्बिर खिचे। हिउँ चितुवाहरू प्रायः एक्लै हिँड्छन्। जब सम्भोगको समय हुन्छ, उनीहरू एकअर्कालाई खोज्दै आउँछन्। तासीले त्यही क्रममा एकसाथ भएका दुई हिउँ चितुवा क्यामरामा कैद गरेका हुन्। नभए उनको संकलनमा धेरै त एक्ला हिउँ चितुवा नै छन्।
हिउँ चितुवाको फोटो जीवनमा एकपटक भए पनि खिच्नुपर्छ भन्ने सोचले जुर्मुराएका तासी एकपटकमा रोकिएनन्। पटकपटक खिचे। हिउँ चितुवा खिच्ने नशा नै चढ्यो।
कहिले एक्लो, कहिले सँगै हिँडेको, कहिले बालबच्चासँगैका, कहिले उनीहरूको आनीबानी खिच्ने भन्दाभन्दै उनले १६ वर्ष हिउँ चितुवाको खोजी गर्दै फोटो खिच्न बिताइसके। १६ वर्षको अन्तरालमा उनको तीसपटक हिउँ चितुवासँग भेट भयो। २९ पटक फोटो खिच्न सफल भए। एकपटक भने अवसर चुक्यो।
'मनाङको लेदर भन्ने ठाउँबाट फेदीबीच दुई घन्टाको दुरी छ। एकैछिन त हो भनेर म क्यामरा छाडेर गएको थिएँ। खोला तरेको मात्र के थिएँ, हिउँ चितुवा आँखैअगाडि थियो। हतारहतार खोला तरेर क्यामरा लिई आउँदा हिउँ चितुवा गइसकेको रहेछ,' एकपटक गुमेको अवसरबारे उनले भने।
हिउँ चितुवाहरू जहिले पायो त्यहीले भेटिँदैनन्। कहिले महिनौं लाग्छ, कहिले यत्तिकै डुल्दा पनि भेटिने उनी बताउँछन्। विशेषगरी, माघ–फागुन उनीहरूलाई भेट्ने उत्तम समय हो। त्यही समयतिर उनीहरूको सम्भोगको समय पनि हो।
पोथी हिउँ चितुवा बढीमा ३५ किलोका हुन्छन्, भाले ५५ किलोका। जसरी हरेक मान्छेको हातको औंठाछाप फरक हुन्छ, चितुवाका शरीरको बुट्टा र पञ्जा फरक हुन्छ। उनीहरूले आफ्नो पुच्छरमा बोसो जम्मा गर्ने र त्यही बोसो ऊर्जाका रूपमा जाडोमा प्रयोग गर्छन्। जाडोमा चिसो हुँदा त्यही पुच्छरले आफ्नो मुख छोप्ने जस्ता आनीबानी तासीले अवलोकन गरेका छन्।
तासीले खिचेका तस्बिरहरूमा हिउँ चितुवासँग उनको क्यामराले सिधा संवाद गरेजस्तो देखिन्छ। उनीहरूका आँखाले सिधा क्यामरामा हेरेका छन्। त्यसरी हेर्नुको कारण उनले हिउँ चितुवाका तस्बिर खिच्ने दूरी निकै नजिक हुनु हो। तासीका अनुसार उनी ४०–५० मिटर दूरीमै रहेर फोटा खिच्छन्। अझ नजिकमा ६–७ मिटरमै आमनेसामने भएको उनले बताए।
हिउँ चितुवा खिच्न तासीले सबभन्दा धेरै समय बिताएको ११ घन्टा हो।
'गत वर्ष बिहान सातदेखि बेलुका ६ बजेसम्म फोटो खिचेर बसेको थिएँ। कहिले उनीहरू घन्टौं मज्जाले सुतेर बसिदिन्छन्। हामी पनि त्यति बेला सुतेर बस्छौं। एकछिन हेर्यो, बस्यो अनि केही चाखलाग्दो हर्कत गरे भने फोटो खिच्यो,' उनले भने, 'त्यसरी कुर्दा उनीहरूसँग कुरा गरेजस्तै अनुभव हुन्छ। कहिले भनेजस्तै फ्रेममा आइदिन्छन्, कहिले आउँदैनन्।'
त्यसरी नजिकै जाँदा डर लाग्दैन?
अहिलेसम्म हिउँ चितुवाले मानव जीवनलाई क्षति नपुर्याएको तासी बताउँछन्। उनीहरू बरू मान्छे देखेर लजाउने र भाग्ने स्वभावका हुन्छन् रे। उनीहरू नभागून् भनेर हिउँ चितुवा खोज्नेहरू हावाको गति बगेको उल्टो दिशातर्फ हिँड्ने रहेछन्।
'उनीहरूको सुँघ्ने शक्ति एकदम तिखो हुन्छ। मान्छेको गन्ध थाहा पाएर उनीहरू भाग्न सक्ने भएकाले हामीहरू हावाको गतिको उल्टो हिँडेर खोजी गर्छौं,' उनले भने।
तासीको फोटो प्रदर्शनीमा हिमाल र हिउँ चितुवा मात्र होइन, हिउँ चितुवाले खाने जनावरका फोटा पनि छन्। हिउँ चितुवाले खाने प्रमुख खाना नावर (ब्लु शीप), झारल, घोरल हुन्। हुम्लातिर क्याङ (ह्वाइल एस) हो। तिनीहरूको पूरकका रूपमा मार्टिन, मार्मोट, ह्यामस्टर र चराहरू; रूडी सेलडक, हिमालयन स्नोकक लगायत पनि खान्छन्।
'हिउँ चितुवाले नावर खाइदिएन भने तिनीहरूको संख्या बढ्ने भयो। अनि नावरले सबै घाँस खाइदिए भने वस्तुभाउले के खाने?' हिउँ चितुवाले पर्यावरणलाई कसरी सहयोग पुर्याएको छ भन्ने बताउँदै तासीले भने, 'उनीहरूले स्वस्थ र बलियो जनावरभन्दा रोगी र कमजोरलाई मार्ने हुन्। त्यसो हुँदा ति रोगी जनावरले सार्ने रोग पनि नियन्त्रण हुन्छ।'
हिमाली भू–भागको पर्यावरण सन्तुलनमा हिउँ चितुवा यसकारण महत्त्वपूर्ण हुने तासी बताउँछन्।
हिजोआज बढ्दै गएको जलवायु परिवर्तन भने हिउँ चितुवाका लागि खतरा बन्दै गएको छ। हिउँ चितुवा पाइने उचाई तीन हजारदेखि साढे पाँच हजार मिटर हो। जलवायु परिवर्तनले हिमालमा अहिले चिसो कम हुन थालेको छ। तराई र पहाडि भू–भागमा पाइने जनावर पनि हिमालतिर आउन थालेका छन्। कमन लियोपार्ड (चितुवा) र ब्वाँसो अहिले हिउँ चितुवाका लागि मुख्य चुनौती हुन्। कमन लियोपार्ड हिउँ चितुवाभन्दा ठूलो हुन्छ। यी दुई जातका चितुवा एकै ठाउँ भेटिन थाले भने एकअर्काबीच द्वन्द्व हुनसक्छ।
अझ ठूलो चुनौती त ब्वाँसो हो। हिउँ चितुवा प्रायः एक्लै हिँड्छ, ब्वाँसो समूहमा। ब्वाँसो धेरै भए हिउँ चितुवाले खतरा महसुस गर्छ र लोप हुने सम्भावना बढ्दै जान्छ। तासीले एउटा तस्बिरमा मनाङमै भेटिएको ब्वाँसो पनि खिचेका छन्।
'मनाङमा ४०–५० वर्षअघि ब्वाँसो थिए रे। पछि लोप भए। सन् २०१४ यता देखिन थालेका छन्,' उनले भने, 'अहिले पो दुई–तीनटा छन्। धेरै भए भने हिउँ चितुवाहरू यहाँ बस्न सक्दैनन्। बसाइ सर्न पनि सक्छन्। त्यसो भयो भने हामी फोटोग्राफरलाई पनि खोज्न धेरै सास्ती थपिन्छ।'
हिउँ चितुवा पहिल्याउन 'क्यामरा ट्रयाप' थाप्दा तासीले सन् २०१२ मा नेपालमा दुर्लभ मानिने पालस क्याटको तस्बिर पनि खिचेका छन्। यो बिरालो प्रजातिको जनावर उनले फेला पारेकाले नेपालीमा 'तासी बिरालो' पनि भन्ने गरिन्छ। हिउँ चितुवा र जनावर संरक्षणमा काम गरेकाले उनले सन् २०१८ मा 'डिज्ने कन्जर्भेसन हिरो अवार्ड', विश्व वन्यजन्तु कोषको 'अब्राहम कन्जर्भेसन अवार्ड' लगायत अरू थुप्रै अवार्ड पाएका छन्।
हिउँ चितुवाको तरंग विश्वभर अहिले कितिया पावोलोब्स्की भनिने अमेरिकी नागरिकले खिचेको चार तस्बिरले पनि बढेको छ। उनले खिचेका भनिएका तस्बिर फोटोशप गरिएका झुटा हुन् भन्ने कुरा आइरहेको छ।
कितियाका तस्बिर भाइरल हुनु र आफ्नो प्रदर्शनी यही समयमा जुर्नु संयोग मान्छन् तासी।
मेल्टिङ पाराडाइज प्रदर्शनी तीन–चार महिनाअघिबाटै गर्ने तयारी भएको उनी बताउँछन्।
कितियाले खिचेका हिउँ चितुवाका तस्बिरको चर्चा आगोसरि संसारभर फैलिँदा तासीलाई सुरूमा नराम्रो लागेको पनि रहेछ।
भने, 'हामीले यतिका वर्ष फोटो खिच्यौं तर कसैले वास्ता गरेनन्। विदेशीले एकपटक पुगेर खिचेको तस्बिर भाइरल हुँदा नराम्रो भने लागेको थियो।'
जे भए पनि उक्त चर्चाले नेपालमा हिउँ चितुवा भएको र त्यसको संरक्षण गर्नुपर्छ भन्ने जानकारी पुर्याउन सहयोग पुर्याएको उनी बताउँछन्।
एकपटक हिउँ चितुवाको फोटो खिच्छु भनेर लागेका तासीले जीवनको डेढ दशक यसमै बिताइसके। उनको मन अझै भरिएको छैन।
'अब अगाडि पनि हिउँ चितुवा नै खिच्ने हो। थाहा छैन, हिउँ चितुवा र मेरो कस्तो सम्बन्ध छ। उनीहरूलाई खोज्न एकदम गाह्रो हुन्छ तर जब भेट्छु त्यही क्षण सबै दुःख बिर्सिन्छु।'
जलवायु परिवर्तनको प्रभाव कम हुँदो हो त तासी र हिउँ चितुवाको सम्बन्ध झनै प्रगाढ र दीर्घकालीन हुँदो हो!
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी