बुटवलका सर्वसाधारणको बचत संकलन गरेका सहकारीहरू धमाधम बन्द गरेर सम्पर्कविहीन हुन थालेपछि बचतकर्ताहरू तनावमा परेका छन्।
केही महिनायता बुटवलको राजमार्ग चौराहमा रहेको सुप्रिम सहकारी संकटमा परेको चर्चा सेलाउन नपाउँदै बुटवलका अरू केही सहकारी संस्थाका सञ्चालकहरू पनि कार्यालय बन्द गरेर बेखबर हुन थालेका छन्।
बुटवलको अमरपथमा प्रधान कार्यालय रहेको आगन्तुक सहकारीले बुटवलका व्यवसायी तथा सर्वसाधारणसँग दैनिक रूपमा एक हजारदेखि ५ हजार रुपैयाँसम्म बचत संकलन गर्दै आएको थियो। तर उक्त सहकारी केही दिनयता कार्यालय बन्द गरेर हिँडेको एक बचतकर्ताले बताए।
‘मासिक १५ हजारको जागिर गरेर दैनिक ५० रुपैयाँ सहकारीमा जम्मा गर्दै आएको थिएँ, १०/१२ दिनदेखि सहकारीको कार्यालय नै बन्द छ,’ सहकारीका सदस्य ज्ञानहरी खनालले भने।
सहकारीले कार्यालय बन्द गरेर सम्पर्कविहीन बनेपछि दुखजिलो गरेर जम्मा गरेको रकम पनि डुब्छ कि भन्ने जोखिम बढेको उनले बताए।
बुटवलमा सबैभन्दा पहिले राजमार्ग चौराहको सुप्रिम सहकारी आर्थिक संकटमा परेको चर्चा सुरू भएको थियो।
पाँच-छ महिना पहिले नै उक्त सहकारी संकटमा परेको भए पनि बचतकर्ताहरूले भने पछिल्लो डेढ-दुई महिनायता मात्रै चाल पाउन थालेका हुन्।
सहकारीको रकम जोखिममा रहेको चाल पाएपछि अहिले दैनिक सयौं बचतकर्ताहरू सहकारीमा रकम निकाल्ने भन्दै लाइन लाग्ने गरेका छन्।
रूपन्देही र कपिलवस्तुमा कार्यक्षेत्र रहेको सुप्रिम सहकारीले बुटवल, भैरहवा र कपिलवस्तुमा गरी ५० जना जति संकलकहरूबाट दैनिक रूपमा रकम संकलन गर्दै आएको थियो। तर आफैंले जम्मा गरेको रकम नै सहकारीले डुबाइदिएको भन्दै बचतकर्ताहरू दैनिक सहकारीको कार्यालयमा जाने गरेका छन्।
कार्यालयमा बचतकर्ताहरूको दैनिक भिड बढ्न थालेपछि सहकारीले बचतकर्ताले रकम जम्मा गरेको आधारमा तालिका बनाएर ५ हजारदेखि २५ हजार रुपैयाँका दरले दैनिक ५० जनालाई रकम फिर्ता गर्न थालेको छ।
सहकारीले अहिले सूचना जारी गरेर १० लाख रुपैयाँसम्म बचत गरेका बचतकर्ताहरूलाई ५ हजार, २५ लाख रुपैयाँसम्म जम्मा गरेकालाई १० हजार र त्यो माथि जम्मा गरेकाहरूलाई २० हजार रुपैयाँ फिर्ता गरिरहेको जनाएको छ।
सहकारीले तालिका नै बनाएर आइतबार र बुधबार ५ हजार, सोमबार र बिहीबार १० हजार तथा मंगलबार र शुक्रबार २० हजार रुपैयाँ फिर्ता गर्ने सूचना जारी गरेको छ।
सहकारीले जारी गरेको तालिका अनुसार रकम फिर्ता गर्दै गए पनि सबै बचतकर्ताहरूको रकम फिर्ता गर्न कम्तीमा ५ वर्ष लाग्ने बचतकर्ताहरू बताउँछन्।
बुटवलमा उद्योग संचालन गर्दै आएकी एक बचतकर्ताले सहकारीमा २० लाख रुपैयाँ बचत गरेको भए पनि लाइन लागेर १० हजार रुपैयाँ मात्रै फिर्ता ल्याएको बताइन्।
‘सानो तिनो उद्योग संचालन गरेर बचत गरेको रकम डुब्छ कि भन्ने डरले तनाव बढाएको छ,’ उनले भनिन्।
सहकारीका कार्यकारी अध्यक्ष ओम गुरूङले संस्थाले प्रवाह गरेको ऋण लगानी नउठेपछि बचतकर्ताहरूको रकम फिर्ता गर्न केही समस्या भएको बताए।
‘ऋण लगानी नउठेपछि हामीसँग अहिले पर्याप्त रकम भएन, रकम अभावकै बीचमा थोरै-थोरै भए पनि दैनिक ५० जनालाई रकम फिर्ता गरिरहेका छौं,’ अध्यक्ष गुरूङले भने।
गुरूङले यही मंसिर २४ गते विशेष साधारण सभा बोलाइएको र त्यसपछि कसरी अगाडि बढ्ने भन्ने निर्णय गरिने बताए।
सहकारी ऐन अनुसार कुनै पनि सहकारी संस्थाले आफ्ना सदस्यभन्दा बाहिरका ऋणीलाई ऋण लगानी गर्न मिल्दैन। तर, काठमाडौं शैलीको व्यवसाय नाम दिइएको सुप्रिम सहकारीले बढी ब्याज असुल्ने नाममा रूपन्देही र कपिलवस्तुका बचतकर्ताबाट संकलन गरेको रकम काठमाडौंमा रहेका व्यापारीलाई बिना धितो लगानी गर्दै आएको देखिन्छ।
सर्वसाधारणसँग दैनिक बचतको रूपमा रकम संकलन गर्ने र व्यवसायीलाई चर्को ब्याजमा लगाउने कार्यलाई यस क्षेत्रका सहकारी अभियान्ताहरू काठमाडौं शैलीको सहकारी व्यापारको रूपमा व्याख्या गर्दै आएका छन्।
सुप्रिम सहकारीले बुटवल बजारबाट मात्रै १ अर्ब २० करोड रुपैयाँ संकलन गरेको थियो। तर उक्त रकम बढी ब्याज पाउने लोभमा सहकारी ऐनविपरीत बिना धितोमा लगानी गरेपछि ब्याजमात्र होइन लगानी समेत डुब्ने अवस्थामा पुगेको हो।
अध्यक्ष गुरूङले विश्वासका आधारमा बिना धितो रकम लगानी गरेकोले उठाउन समस्या भएको बताए।
‘विश्वासका आधारमा प्रवाह गरेको ऋण नउठेकोले समस्या भएको हो, अहिले मिलाउने प्रयत्न गर्दैछौं,’ उनले भने।
हजारौं बचतकर्ताको करोडौं रकम जोखिममा परे पनि लुम्बिनी प्रदेशमा नियमक निकायको संरचना नहुँदा सहकारीको रकम अब के हुन्छ भन्नेमै अन्यौलता बढेको छ।
सहकारीका सदस्य बाहिरका व्यक्तिलाई बिना धितो करोडौं रकम ऋण प्रवाह गर्दा सुप्रिममा समस्या उत्पन्न भएको र सुप्रिम समस्यामा परेको सूचना चारैतर्फ फैलिँदा अरू सहकारीहरू समेत समस्यामा परेको सहकारीकर्मीहरूको बुझाइ छ।
बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले मूल कारोबार काठमाडौंमा लक्षित गरेर बुटवलमा कार्यालय संचालन गरेका आगन्तुक र सुप्रिमसँगै, विश्व बिराज, सार्थक, स्टार लगायतका सहकारीहरूका सन्दर्भमा गुनासो आए पनि आफूहरूको कार्यक्षेत्र भन्दा बाहिरको रहेकोले केही गर्न नसकिने बताए।
‘बुटवलमा कार्यालय सञ्चालन गरेका केही सहकारीहरूमा राखेको बचत संकटमा परेको सूचना प्राप्त भएको छ। तर बुटवल उपमहानगरपालिकाको कार्यक्षेत्र भन्दा बाहिरका सहकारी भएकोले हामीले केही गर्न सक्ने अवस्था रहेन,’ खनालले भने।
सुप्रिम सहकारीले असार महिनाअघि सम्म गरेको लगानी संकटमा परेपछि बचत तथा ऋण सहकारी संघको सहजीकरणमा व्यवस्थापनको प्रयास गरिएको थियो। तर बिनाधितो ठूलो रकम काठमाडौंमा लगानी गरिएकोले रकम उठ्न सकेन। लगानी गरेको ठूलो रकम उठ्न नसक्ने भएपछि समस्या फेरि बल्झिएको हो।
सुप्रिम सहकारीले बुटवलमा रकम संकलन गरे पनि काठमाडौंका मिटरब्याजीहरूलाई लगानी गरेको र सरकारले मिटरब्याजीहरूलाई कडाइ गरेपछि रकम उठ्न नसकेको आशंका सहकारी अभियान्ताहरूको छ।
‘ठ्याक्कै यही नै कारण हो भन्न सकिँदैन तर, सरकारले मिटरब्याजीहरूलाई कडाइ गर्न थालेपछि सुप्रिम सहकारी पनि संकटमा पर्न थालेको हो,’ एक सहकारी अभियन्ताले भने, ‘हामीले सुप्रिमलाई साउन महिनामै सचेत गराएका पनि थियौं, नेफ्सकुनले समन्वय पनि गरेको थियो तर ठूलो खाडल परेकोले कठिन हुँदै गयो।’
सहकारीको कार्यालय बुटवलमा रहे पनि सहकारीका अधिकांश लगानीकर्ताहरू बुटवल बाहिरका छन्।
सहकारीका संस्थापक अध्यक्ष डिबी राई हुन्। हर्वो नेचर नामक नेटवर्किङ शैलीको व्यवसायका सञ्चालक राई अहिले सहकारीका संरक्षक छन्। सहकारीका सचिव दिपेश पुन उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन्।
प्रदेश स्तरका सहकारीको अनुगमन, निरीक्षण र व्यवस्थापनको जिम्मेवारी ऐनले सहकारी रजिष्टार कार्यालयलाई दिएको छ। लुम्बिनी प्रदेश सरकारले भालुबाङमा सहकारी रजिष्टार कार्यालय स्थापना गरे पनि उक्त कार्यालयले सहकारीहरूको अनुगमन गरेको पाइँदैन।
लुम्बिनी प्रदेश सहकारी रजिष्टार भीमप्रसाद तिवारीले गत चैत महिनामा सहकारी रजिष्टार कार्यालय स्थापना गरिएको भए पनि आफू केही दिन अघि मात्रै जिम्मेवारीमा आएकोले यो सबै विषयमा आफूले जानकारी नपाएको बताए।
‘म रजिष्टारको रूपमा आएको धेरै दिन भएको छैन यसअघि मन्त्रालयले नै हेर्थ्यो, मन्त्रालयका सचिवसँग सल्लाह गरेरमात्रै के भएको हो भन्ने बताउन सकिएला,’ रजिष्टार तिवारीले भने।