जिल्ला प्रशासन कार्यालय रूपन्देहीले गत कात्तिक १९ गते मंसिर ४ गते हुन गइरहेको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाएको सूचना जारी गर्यो।
सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालद्वारा जारी गरिएको उक्त सार्वजनिक सूचनामा मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सु-सम्पन्न गर्ने सन्दर्भमा 'निर्वाचन आचार संहितालाई कडाइका साथ पालन गराउन, मतदानको दिन भन्दा १५ दिन आगाडिको प्रचारप्रसार अवधिमा मदिरा बिक्री वितरण र सेवन गर्न निषेध गरिएको' उल्लेख गरिएको छ।
तर आफ्नै कार्यालय इलाका प्रशासन कार्यालयबाहिर सडक किनारमै घरेलु मदिरा बिक्री वितरण हुँदा भने बेखबर बनेको छ।
यसअघि गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा) ले गत भदौ ३० गते नै पत्र काटेर निर्वाचन प्रचारप्रसारको १५ दिनको अवधिमा मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाउन निर्देशन गरेको थियो।
सोही निर्देशन अनुरूप कात्तिक १९ गतेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार मदिराजन्य पदार्थ बिक्री-वितरण र सेवन गर्न रोक लगाएको सूचना जारी गरेको थियो।
निषेध गरिएका कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने भन्दै सूचना जारी गरेको जिल्ला प्रशासनले आफ्नै कार्यालय बाहिर भइरहेको खुलेआम घरेलु मदिरा बिक्री-वितरणलाई रोक लगाउन सकेको छैन।
इलाका प्रशासन कार्यालय बुटवलको परिसरसँगै जोडिएको लुम्बिनी बस टर्मिनलको मुखैमा बर्सौंदेखि घरेलु मदिरा र सेकुवा बेचबिखन हुँदै आएको छ।
'कहिलेकाहीँ प्रहरी आउँछन् भोलिदेखि नआउनू भन्छन्, केहीबेर कुरा मिलाएपछि फर्केर जान्छन्, अबदेखि नआउनू है भन्दै फर्किएको प्रहरी १०/१५ दिनसम्म देखिँदैन, ठेलामा मदिरा र सेकुवा बिक्री गर्नेहरूलाई भोलि कहिल्यै आउँदैन,' सँगैको ट्याक्सी पार्कमा भेटिएका एक ट्याक्सी चालकले भने।
एक महिना अघिसम्म इलाका प्रशासन कार्यालयको गेटैमा समेत बिक्री वितरण हुने गरेकोमा त्यसलाई हटाएको प्रहरीले इलाका प्रशासन कार्यालयसँगै जोडिएको दक्षिणतर्फको बस टर्मिनल अगाडिका ठेलाहरू भने हटाउन सकेको छैन।
सरकारले घरेलु मदिराको बिक्री-वितरणलाई अवैध मान्दै आएको छ भने सरकारी कार्यालय, विद्यालय र अस्पतालको पाँच सय मिटर आसपास क्षेत्रमा कुनै पनी मदिराजन्य वस्तु बिक्री-वितरण गर्न निषेध गरेको छ।
त्यसैमाथि निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने भन्दै १५ दिन सम्मका लागि मदिराको बेचबिखन र सेवन निषेध गरेको जिल्ला प्रशासनले इलाका प्रशासन कार्यालय अगाडि खुल्लम खुला घरेलु मदिरा बेचबिखन हुँदा समेत बेखर हुनु आश्चर्यजनक छ।
यो स्थानमा साँझ पर्नासाथ सेकुवा तथा मदिरा व्यवसायीहरू आफ्ना घुम्ती ठेला लिएर त्यहाँ पुग्छन्। मदिरा सेवन गर्नेहरू पनि साँझ नपर्दै त्यहाँ पुग्छन्।
दैनिक हजारौं यात्रुहरू ओहोरदोहोर गर्ने बस टर्मिनलको मुखैमा खुलेआम सडकमै घरेलु मदिरा बिक्री-वितरण र सेवन हुँदा यात्रुहरू असुरक्षित हुने गरेका छन्।
'नौ/दस बजेसम्म यस्तै हुन्छ, कहिलेकाहीँ त आपसमा लडाइँ पनि गर्छन्', ती ट्याक्सी चालकले भने।
सडकमै लहरै ठेला राखेर धुवाँको मुस्लो उडाउँदै पोलेको सेकुवासँगै ग्यालेन र मिनिरल वाटरका बोतलमा राखेर मदिरा बिक्री गर्छन्।
यसका साथै बस टर्मिनलभित्र बुटवल उपमहानगरपालिकाको नवनिर्मित व्यावसायिक भवनमा केही सटरबाट समेत घरेलु मदिरा बेचबिखन हुने गरेको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको सूचना कार्यान्वयन गर्नका लागि भएकोले तत्काल उक्त क्षेत्रमा अनुगमन गरी नियन्त्रण गरिने बताए।
´हामीले जारी गरेको सूचना साँच्चै नै कार्यान्वयन गर्नका लागि हो, हामी कडाइका साथ कार्यान्वयन गर्छौं। कहीँकतै कमजोरी या जानकारी नआएकोले हुन सक्छ म प्रहरीलाई तुरून्त निर्देशन दिन्छु,´ पाण्डेले भने।