यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा
'नमस्ते म आदित्य राई। समलिंगी पुरूष साथै शारीरिक अपांगता भएको व्यक्ति। म आफूलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हुनुमा गर्व गर्छु,' १२ वर्षअघि आदित्यले एफएम रेडियो 'पहिचान' मा आफ्नो परिचय दिएका थिए।
गर्वसाथ आफ्नो वास्तविक पहिचान बताउने हिम्मत गर्दा आदित्यले स्याब्बासी भने पाएनन्। सार्वजनिक रूपमा आफ्नो पहिचान खुलाएकै कारण थुप्रै अवसर गुमाए। खाने-बस्नेदेखि पढ्नेसम्म।
'रेडियोमा तिम्रो बारेमा हामीले सुन्यौं, अब हामी तिमीलाई राख्न सक्दैनौं। लुगाफाटा बोकेर यहाँबाट निस्केर जाऊ भनेपछि म त छानोबाट खसेजस्तै भएँ त्यति बेला,' उनले भने।
उनी त्यो बेला काठमाडौंको एक संस्थामा बस्थे। संस्था सञ्चालकहरूले आदित्य लैंगिक तथा अल्पसंख्यक समुदायका भएको सार्वजनिक गरेपछि नराख्ने भने।
'मैले त जीवनको सबै थोक गुमाएँ,' उनले भने।
पोखरामा जन्मेका आदित्य अपांगता भएका व्यक्ति हुन्। उनी तीन वर्षका हुँदा घरमा आगलागी भएको थियो। आगोले उनको देब्रे हात जल्यो। हत्केलाको भाग काटियो।
ऊ बेला, जलेको हातलाई परिवारले पनि खास वास्ता गरेन। उनको अवस्था देखेर एउटा संस्थाले पालनपोषण गर्ने भन्दै काठमाडौं ल्यायो।
संस्थामा सबभन्दा कम उमेरका थिए उनी। हातको आलो घाउ बिसेक भइसकेको थिएन। आदित्यका अनुसार संस्थाले त्यहाँ भएका केटाकेटीलाई काम गराउँथे। उमेरअनुसार झिनामसिना कामदेखि भाँडा माझ्ने र सरसफाइको कामसम्म।
'संस्थामा मभन्दा ठूला दाइहरूले त भाँडा माझेन भने गाली र कुटाइ पनि खान्थे,' उनले भने, 'दिनभर काम गरेर बिहान बेलुका खान चाहिँ पाइन्थ्यो।'
संस्थाको बसाइमा आदित्यको चुनौती यो मात्र थिएन। उनको आफ्नो वास्तविक पहिचानसँगको संघर्ष सुरू हुँदै थियो। सानैदेखि गाजल र जामा लगाउन, कपाल पाल्न मनपराउँथे। यस्ता गतिविधिले उनलाई आफ्नो पहिचानबारे अलमल हुन्थ्यो।
बिस्तारै उमेर बढ्दै गयो। दस कक्षा पढ्दै गर्दा संस्थामा सँगै बस्ने ठूला उमेरकाहरूबाट यौनहिंसामा परेको उनी बताउँछन्।
'मभन्दा ठूला उमेरका केही व्यक्तिहरूले ममाथि यौनहिंसा गर्न थाले। तीन वर्षसम्म म सधैं यौनहिंसा परेँ। तर म केही बोल्न सक्दिनँ थिएँ,' आदित्यले भने, 'अहिले उनीहरू धेरै अगाडि बढिसके। कारबाही गर्न त मन छ नि। तर हाम्रो लागि बोलिदिने कोही छैन!'
उनका अनुसार यौनहिंसाबारे उनले संस्था सञ्चालकलाई भने। तर उनले पनि वास्ता गरेनन्।
'सञ्चालक पनि उनीहरूसँग डराउँथे,' आदित्यले भने।
एकातिर यौनहिंसा, अर्कातिर अपमान।
उक्त संस्थामा शारीरिक अपांगता भएका उनी मात्र थिए। पुरूष भएर केटीको पहिरनमा नाच्ने-गाउने पनि उनी मात्रै। यही कारण उनीमाथि दुर्व्यवहार हुन्थ्यो। स्कुलको कक्षामा समेत उनी मजाक बन्थे।
'साथीहरू छक्का भनेर जिस्काउँथे। शिक्षकहरू एउटा हात भएको केटी भनेर गाली गर्नुहुन्थ्यो,' आदित्यले सुनाए, 'केटा भएर केटीको जस्तो बानीबेहोरा गर्न हुँदैन भन्दै शिक्षकले हप्काउँथे। यी कुराले मलाई साह्रै मानसिक तनाव हुन्थ्यो। स्कुल जान मन हुन्थेन।'
तैपनि उनले हार मानेनन्। शिक्षा चाहिन्छ भन्ने उनले बुझेका थिए। पढेर मात्र यी कुराहरूसँग लड्न सकिने महसुस भइसकेको थियो। नृत्यसँगै उनलाई चित्रकलामा रूचि बढ्यो। त्यसैले एसएलसी पास गरेपछि कला नै पढे।
उनी निलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) ले सञ्चालन गरेको कार्यक्रम 'पहिचान' सुन्थे। त्यहीँबाट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिका कथाहरू सुन्ने मौका पाए। कथाहरू सुन्दै गर्दा विस्तारै उनले आफू पनि यही समुदायको हुँ भन्ने बुझ्दै गए। तर आफू समलिंगी पुरूष भनेर प्रष्ट थिएनन्।
प्लस-टु परीक्षा दिएपछि उनले पनि त्यही कार्यक्रममा आफ्नो कथा भने।
'मेरो जन्म केटाको रूपमा भए पनि मेरो व्यवहार केटीजस्तो छ। म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हुँ र यसमा गर्व गर्छु,' उनले त्यो बेला एफएममा भनेका कुरा सम्झिए।
यसपछि उनी निलहिरा समाजमा परामर्शका लागि गए। त्यहाँ उनले आफ्नो पहिचान बुझे। समलिंगी पुरूष अर्को पुरूषसँग यौनिक, मानसिक, शारीरिक, भावनात्मक र प्रणयात्मक रूपमा आकर्षित हुन्छ भन्ने थाहा पाए। अनि आफूलाई समलिंगी पुरूषको पहिचान दिन थाले।
उनले समुदायको अधिकारका लागि बोल्ने मान्छेहरूसँग भेटेपछि धेरै राम्रो हुने सोचेका थिए। तर केही व्यक्तिले त्यहाँ पनि उनलाई विभेद गरेको उनी बताउँछन्।
'समलिंगीहरू यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा नसमेटिने भन्दै विभेद हुन्थ्यो,' उनले भने, 'मेरो अपांगताका कारण पनि हेपाइमा पर्थेँ। मसँग हिँड्न नमान्ने, कार्यक्रमका बारेमा जानकारी नदिनेजस्ता व्यवहार हुन्थे। आफ्नै समुदायका मान्छेले विभेद गर्दा मन दुख्छ।'
'अपांगता भएको समलिंगी मान्छे' भन्दै जिस्काउने, हेप्ने हुँदा आदित्यलाई नराम्रो लाग्थ्यो।
उनले एउटा घटना सुनाए- एक दिन समुदायको अधिकारबारे कार्यक्रममा उनी सहभागी भएका थिए। कार्यक्रममा उनको बोल्ने पालो आयो। अरू बोल्दा सबैले ध्यान दिएर सुनिरहेका थिए। उनी अगाडि जानेबित्तिकै हल्ला गर्न थाले।
'जब म सम्मेलनहरूमा जान्छु तब मलाई अपहेलित महसुस हुन्छ। मेरो हात देखेपछि केही बोल्न सक्दैन यसले भन्नेजस्तो व्यवहार गर्छन,' उनले थपे, 'अरू बोल्दा शान्त कोठा हुन्छ, मलाई सुन्ने कोही हुँदैन।'
आदित्यका अनुसार उनलाई कोठा पाउन पनि मुस्किल छ।
'एउटा हात नभएकोले कसरी भाडा तिर्छ भनेर सोध्छन् घरभेटीहरू,' उनले भने, 'यता परिवारले बेवास्ता गर्छ। उता आफ्नै समुदायका व्यक्तिले विभेद गर्छन्। आखिर मेरो पहिचान कहाँ छ?'
यस्ता कुराहरूले उनलाई रातभरि सुत्न दिँदैन। हार भने मान्दैनन्। यहाँसम्म त लडेँ, अब किन आत्तिने भन्दै मनोबल बढाउँछन्। आफूलाई मजबुत बनाएर अघि सर्दै जानुपर्ने र कर्म गर्नुपर्नेमा विश्वास राख्छन्।
त्यसैले उनले आफ्नो शिक्षालाई सधैं प्राथमिकता दिए। निलहिरा समाजमा काम गर्दा विस्तारै उनको पारिश्रमिक बढ्न थालेपछि बीचमा रोकिएको पढाइलाई उनले निरन्तर दिए। तीन वर्षे स्नातकको परीक्षा दिएर बसेका उनी अहिले नतिजाको पर्खाइमा छन्।
बाधा र अड्चन भए पनि उनी आफ्नो अधिकारको मुद्दा राख्न डराउँदैनन्। जुनसुकै कार्यक्रममा अधिकारको कुरा प्रष्ट राख्न जान्छन्। केही समयअघि बेलायतमा भएको सम्मेलनमा पनि पुगेका थिए।
उनका अनुसार 'वन यङ वर्ल्ड' सम्मेलनमा उनी नेपालबाट 'युवा शान्ति दूत' का रूपमा सहभागी भएका थिए। त्यहाँ एक सय ९५ देशका व्यक्तिहरूको सहभागिता थियो। सम्मेलनमा उनले नेपालको झन्डा देखाए। आफ्नो कथा सुनाए।
'फेसबुकमा देखेर आवेदन दिएको थिएँ। अन्तर्वार्तामा पास भएँ अनि सम्मेलनमा जान पाएँ,' उनले भने, 'नयाँ मान्छेहरूसँग भेट भयो। आफ्नो कथा सुनाउने मौका पाएँ। खुसी लाग्यो।'
उनी ८ दिनसम्म सम्मेलनमा बसेका थिए।
आदित्यले आफ्नो कलाबाट पनि सम्मान पाएका छन्। गत सेप्टेम्बर ११ मा 'फ्रेडरिक नौमन फाउन्डेसन फर फ्रिडम साउथ एसिया' ले आयोजना गरेको 'प्राइड भिजुअल आर्ट प्रतियोगिता- २०२२' मा उनी विजेता भएका थिए। उनले समलिंगीको चित्र बनाएका थिए।
चित्रमा आदित्यले आफ्नै कथाको सार कोरेका थिए।
'एक अनाथ, अपांगता भएको समलिंगी मानिस। जलेर बाँचे। अनाथका रूपमा बाल्यकालमा मैले उपनाम, यौन उत्पीडन र सबै प्रकारका भेदभाव र दुर्व्यवहारको सामना गरेँ। हरेक चुनौतीलाई गर्वका साथ जितेको छु,' आफूले बनाएको चित्रको सार उनले बताए।
शारीरिक अपांगता भएका समलिंगी व्यक्तिहरूका लागि उनी संस्था पनि खोल्दै छन्।
'इन्द्रेणी अपांगता नेपाल' नामक संस्था दर्ताको प्रक्रियामा लागेका आदित्य भन्छन्, 'पहिले म बोल्न सक्दिनँ थिएँ। त्यसैले दुःख पाएँ। अब पहिचानका लागि लड्छु, अधिकारका लागि बोल्छु।'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
यी पनि पढ्नुहोस्ः
जुन २८ को त्यो घटनाले संसारभर ल्याएको तरंग'
घरगाउँ गएर आफ्नो कथा सुनाउने सपना छ'
जब नागरिकता बनाउनका लागि संगीता डाक्टरका अगाडि नांगो हुनुपर्यो
पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ'
'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ'
'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ'
अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो
'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ'
उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्
'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ'
'अन्य वा महिला होइन, पारलैंगिक लेखेको नागरिकता चाहिन्छ'
६५ वर्षे छुटकनु भन्छिन्- पुरुष होस् वा महिलाको नाममा, नागरिकता चाहियो
'आमा र दाइले मलाई कहिले अँगालो हाल्नुहोला?'
'आमा बन्न चाहन्छु तर कानुनी बाटो छैन'
अबिना चौधरी, जसलाई नयाँ नाम र कामले दिलायो खुसी
हार नमानी चुनौतीसँग लडिरहेकी नग्मा खान