१७ वर्षीया नाबालिग (किशोरी) माथि बलात्कार गरेको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेले इन्कारी बयान गरेका छन्।
आरोपित लामिछानेले प्रहरी र सरकारी वकिलसमक्ष इन्कारी बयान गरेको सोमबार काठमाडौं जिल्ला अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ।
किशोरीकै आग्रहमा भेट भएको, उनकै योजनामा नगरकोट पुगेको, उनकै करले राती होटलमा बसेको लामिछानेको बयानमा उल्लेख छ। तर उनले किशोरीसँग कुराकानीमात्र भएको उल्लेख गरेका छन्।
उनको बयान अनुसार अर्का क्रिकेटर देव खनालमार्फत् किशोरीसँग चिनजान भएको थियो।
किशोरीले नै आफूलाई स्न्याप च्याटमा फ्रेन्ड रिक्वेस्ट पठाएको, भदौ ५ गते पीडितकै करले आफूले भेटेको र कुराकानी गरेको उनको भनाइ छ।
‘पीडित भनिएकी युवतीले मलाई समय समयमा स्न्याप च्याटमार्फत् केही भिडिओ र फोटो पठाउने गरेको र मैले त्यसको बदला सामान्य उत्तर दिने गरेको थिएँ,’ उनले भनेका छन्, ‘कुराकानी हुँदै गर्दा मलाई विभिन्न कुराकानी गरी भेट्ने प्रस्ताव गर्नुको साथै म तपाईंको फ्यान हुँ। तपाईंसँग एकदमै धेरै भेट्ने इच्छा छ भनेकी थिइन्।’
कुराकानी गर्दा आफ्नो अवस्था दयनीय भएकाले मद्दत चाहिएको र ती कुराहरू भेटेरमात्रै भन्ने बताएपछि आफू भेट्न तयार भएको लामिछानेको भनाइ छ।
युवतीले बारम्बार बोलाएपछि भदौ ५ गते बेलुकी ७ बजेतिर आफूहरूबीच भेट भएको उनले बताएका छन्। बयान अनुसार पीडितलाई लिन आफ्नो गाडी लिएर पुगेका थिए। नगरकोट जाने योजना पनि ती पीडितकै भएको लामिछानेको जिकिर छ।
‘बरू दरबारमार्गतिर जाऊँ अनि कफी खाऊँ भन्दा हैन मैले आज बिहानदेखि नै नगरकोट जाने मुड बनाएको छु जाम भनेकोमा मैले भोलि गेम खेल्न केन्या जानुपर्नेछ र त्यसको तयारी गर्नुपर्छ भन्दा पनि, होइन मैले होस्टेलबाट साथीहरूलाई पनि नगरकोट जाँदैछु भनेर आएकी छु, एकछिन भए पनि नगरकोट गएर आउनुपर्छ भनेर कर गरेको गर्यै गरिन्,’ उनले भनेका छन्, ‘त्यसपछि खाजा खाएर फिर्ता आउने सर्तमा चित्त नदुखोस् भनेर सहमत भएर नगरकोट गएका थियौं। उनको नगरकोट जाने पूर्व तयारीको बारेमा मलाई केही जानकारी थिएन।’
नगरकोटमा जानेक्रममा पीडित किशोरीले आफ्नो उमेर पनि १९ वर्षकी भएको बताएको उनको दाबी छ।
नगरकोटको एक रिसोर्टमा पुगेर बाहिरै बसेर आफूहरूबीच सामान्य कुराकानी भएको समेत उनले बताएका छन्। त्यसक्रममा आफूले गीत गाएर रमाइलो गरेको उनले बताएका छन्।
खाजा खाएपछि भने आफूले फर्किने कुरा निकाल्दा समेत किशोरीले त्यही बस्न कर गरेको पनि लामिछानेले बयानमा बताएका छन्।
‘यतै बसौंला भन्ने कुरा गरेपछि मैले हुँदैन, तिम्रा साथीलाई तिमीले मसँग आएको छु भनी बताएकी छौ, फेरि हामी फर्किने गरी आएको, भोलि मेरो आफ्नो कामको तयारी गर्नुपर्ने छ, तिमी बुझ न भन्दा उनले सायद सन्दीप मसँग बस्दैन भनेर होला रिसले मुरमुरिएर मलाई गाडीको ढोका खोली दिनुस् भनेपछि मैले टाढैबाट गाडीको लक खोली दिएको थिएँ,’ उनले भनेका छन्, ‘ त्यसपछि उनी गाडीमा गएर बसिन् भने म बिल तिर्न काउण्टरमा गएँ। बिल तिरिसकेपछि हामी दुबै जना करिब ११:०५ बजे रिसोर्टबाट हिँडेका थियौं।’
त्यसपछि भने अरू खेलाडीहरू समेत बसिरहेकै होटलमा कोठा बुक गरिदिन खोजे पनि किशोरीले नमानेको सन्दीपले बताएका छन्।
लामिछानेले पीडित किशोरीको लागि मात्रै एउटा कोठा बुक गरी कुरा सुनेर फर्किने भनेर बुक गरेको उनको दाबी छ।
उक्त होटलको ३०५ नम्बर कोठामा उनीहरू बसेका थिए।
‘कोठामा पुगेपछि म कुराकानी गर्नका कुर्चीमा बसेँ भने म पछि उनले कोठाको ढोका लगाएर भित्रबाट लक गरेकी थिइन्। मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन भनेर जवाफ फर्काइन्। मैले यो कुरालाई सामान्य रूपमा लिएर कुर्चीमा बसिरहें भने उनी बेडमा बसिन् र कुराकानीकै बीचमा म फ्रेस हुनका लागि बाथरूम गई पुनः कुर्चीमा आई बसेँ,’ उनले भनेका छन्।
उनले आफ्नो गर्लफ्रेन्ड समेत भएको र एक/दुई वर्षमै विवाह गर्ने योजना सुनाएको बताएका छन्।
लामिछानेले बयानमा आफूले बलात्कार गरेको भनेका छैनन्। बरू उनले कुराकानी गर्दागर्दै पौने ३ देखि ४ बजेको बताएका छन्।
होस्टेलमै कुराकानी गर्दा पनि १९ वर्षकी भएको र जन्मदर्ताको पनि कुरा खुलाएको उनले बताएका छन्।
यो कुरा सुनेपछि शंका लागेर आफूले होटल जाने सोच बनाएको उनले बताएका छन्।
तर युवतीकै आग्रहमा कुराकानी गरी बसौंला भनेपछि भने नफर्किएको सन्दीपको भनाइ छ। उनले अर्को कोठा पनि लिन खोजेको तर युवतीले नै लिन नदिएको सन्दीपले बताएका छन्। सन्दीपले बयानमा आफू कुर्चीमै सुतेको समेत दाबी गरेका छन्।
‘म धेरैबेर कुर्सीमा बसेको देख्दा उनले मलाई बेडमा आएर बस्न समेत आग्रह गरेकोमा हैन म यही ठिक छु भनेर अस्वीकार गरी कुर्चीमा बसेँ, उनी बेडमै थिइन्,’ उनले भने, ‘मैले मेरो मोबाइलमा बिहानको ०६:०० बजेको अलार्म लगाएर कुराकानी गर्दागर्दै म कुर्चीमा निदाएँ। बिहान अलार्म बजेपछि निद्राबाट बिउँझिएर हेर्दा उनी सुतेकी थिइन्, मैले उनलाई उठाएँ।’
उनीहरू होटलबाट पौने ७ बजे निस्किएको होटलको सिसिटिभी फुटेजमा पनि देखिएको छ। त्यसपछि उनले किशोरीलाई होस्टेल नजिकै छाडेर आफू केन्या गएको पनि उनले बताएका छन्।
केन्या गैसकेपछि स्न्याप च्याटमा एकपटक कुराकानी भएको त्यसपछि भने खेलमा ध्यान केन्द्रित गर्नुपर्छ भनेको उल्लेख गरेका छन्।
आफूविरूद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको पनि सामाजिक सञ्जालमार्फत् नै थाहा पाएको उनले बताएका छन्।
उनले इन्कारी बयान गरे पनि पीडित किशोरीले भने दुईपटक बलात्कार गरेको बयान दिएकी छन्।
क्रिकेटर सन्दीप लामिछानेले आफूलाई दुई पटक बलात्कार गरेको भन्दै नाबालिग (किशोरी)ले प्रहरीलाई बयान दिएकी हुन्।
सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको अभियोगपत्रमा क्रिकेटर लामिछानेले किशोरीलाई आफैं भेट्ने प्रस्ताव गरेको, भेट्न कर गरेको र पछि बलात्कार गरेको उल्लेख छ।
यो पनि:
यस्तो छ क्रिकेटर लामिछानेविरूद्ध पीडित बालिकाले प्रहरीमा दिएको बयान