क्रिकेटर सन्दीप लामिछानेले आफूलाई दुई पटक बलात्कार गरेको भन्दै नाबालिग (किशोरी) ले प्रहरीलाई बयान दिएकी छन्।
सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको अभियोगपत्रमा क्रिकेटर लामिछानेले किशोरीलाई आफैं भेट्ने प्रस्ताव गरेको, भेट्न कर गरेको र पछि बलात्कार गरेको उल्लेख छ।
बयान, उनीहरू गएको होटलको सिसिटिभी फुटेज, घटनाबारे थाहा पाउने व्यक्तिहरूको लगायतका प्रमाणहरूका आधारमा सरकारी वकिलले लामिछानेविरूद्ध बलात्कारको अभियोग लगाएको हो। लामिछानेलाई १६ वर्षभन्दा माथि र १८ वर्ष मुनिकी नाबालिगमाथि बलात्कार गरेको अभियोगमा १२ वर्ष कैद सजाय मागिएको छ।
सोही अभियोगपत्रमा पीडितले प्रहरीमा गरेको घटना विवरण कागज (बयान) पनि संलग्न छ।
उक्त बयान लामिछानेविरूद्ध लागेको अभियोगको मुख्य आधार मानिएको छ। पीडितको जाहेरी र बयान नै बलात्कार मुद्दामा बलियो प्रमाण मानिन्छ।
उनको बयान अनुसार भदौ ५ गते बिहानैदेखि किशोरी र लामिछानेबीच कुराकानी भएको थियो।
उनले दिएको बयान अनुसार लामिछानेले भेट्ने प्रस्ताव गरेका थिए। किशोरीले भने काम छ भन्दै भेट्न इन्कार गरेकी थिइन्। त्यसपछि लामिछानेले आफू भदौ ६ गतेदेखि केन्यामा हुँदै गरेको क्रिकेट म्याच खेल्न जान लागेकोले आफ्नो मेन्टल रिफ्रेसमेन्ट पनि हुन्छ कतै घुम्न जाउँला भनेका थिए।
आफूले यसबारे सोचौंला भन्दाभन्दै सन्दीपले कर गरेको बयान किशोरीले दिएकी छन्।
'निजले मलाई भेट्नका लागि प्रस्ताव गरको र सोलगत्तै मैले आफूले भ्याउँदिनँ भनेपछि निज सन्दीपले निकै जोडबल गरी आफू अर्को दिन (२०७९ साल भदौ ६ गते) को बेलुका ०८:०० बजे केन्याको लागि फ्लाइट भएको र त्यसपछि केन्याबाट नेपाल नफर्किइकन क्यारेबियन प्रिमियर लिग खेल्नका लागि क्यारेबियन आइल्यान्डतर्फ जाने र सोको दुई महिनासम्म पनि नेपाल फर्कन नपाउने भएकाले आजै भेटौं भनी निकै जोडबल गरिरहेका थिए। सोही कुराकानीका क्रममा निजले आफ्नो मेन्टल रिफ्रेसमेन्ट पनि हुन्छ, कतै घुम्न जाउँला भनी प्रस्ताव गरेकामा मैले निजलाई हेरौं के हुन्छ भनेकोमा निज प्रतिवादीले सो भन्दा पनि आई विल क्याच यु लेटर भनेर सो बखतका लागि कुराकानी टुङ्गाएका थिए,' बयानमा भनिएको छ।
साँझ लामिछाने आफ्नो होस्टल नजिकैको बाटोमा आएको र गाडीमा बस्न भनेको, गाडीमा बसेपछि कहाँ जाने भन्दा हेरौं भन्दै जवाफ दिएको बयानमा उल्ल्लेख छ।
कोटेश्वर पुग्दा आफूले फेरि कहाँ जाने भनी सोधेको र मन्जुरीबिनै नगरकोट पुर्याएको किशोरीले प्रहरीलाई बताएकी छन्।
'निजले मलाई आऊ बस भनेपछि म उक्त गाडीको अगाडिको सिटमा बसेपश्चात् निज प्रतिवादीले नाइस टु मिट यु भनेर साइडबाट अंगालोमा राखे। केही पनि नभनीकन गाडी चलाउन थालेको र मैले कहाँ जाने भनेर निजलाई सोध्दा निज प्रतिवादीले लेट्स सी भनेर सिनामंगलतर्फ मोडिएर भित्री बाटो हुँदै तीनकुने हुँदै कोटेश्वरतर्फ लगे,' किशोरीले भनेकी छन्, 'त्यसपछि निजलाई मैले हामी कता जान लागेको हो र भनेर सोध्दा मेरो मञ्जुरीबिना भित्री बाटो हुँदै भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ लगी त्यसपछि निजले मलाई नगरकोटको बोजिनी नगरकोट रिसोर्टमा अँध्यारो भइसकेपछि करिब २०:२० बजे मा पुर्याए।'
नगरकोटको बोजिनी रिसोर्ट खाजा खाँदै गर्दा लामिछानेले ड्रिङ्क्स गर्ने भन्दै सोधेका थिए। युवतीले खान्न भनेपछि खाजा मगाएका थिए। नगरकोटमै राती बस्ने लामिछानेको प्रस्तावलाई किशोरीले इन्कार गरेको बताएकी छन्।
त्यसपछि उनीहरू त्यहाँबाट फर्किएका थिए। नगरकोटबाट फर्किंदा लामिछानेले राती साढे ११ फर्किंदा होस्टल जान नमिल्ने भएपछि दुइटा कोठा बुक गर्न आफूले प्रस्ताव गरेको किशोरीको बयानमा उल्लेख छ। बुक गरेको कोठामा पुगेर आफू पहिले नै सुतेको युवतीले बताएकी छन्। त्यतिन्जेल लामिछाने सोफामै मोबाइल चलाएर बसेको र आफू निदाएकै बेला आएर बलात्कार गरेको उनले बताएकी छन्।
आफू रूँदा पनि लामिछानेले बलजफ्ती गरेको बयानमा उल्ल्लेख छ।
'...त्यसको करिब एक घण्टापछि निज प्रतिवादीले मेरो शरीरमा छाम्ने, कपाल तान्ने गर्दा मैले प्रतिरोध गर्दा मेरो ढाडमा निकै जोडले हाने त्यसपछि मलाई डर लागि रूँदै गर्दा मलाई चल्न नदिई पुनः दोस्रो पटक जबरजस्ती करणी गरी बिहानपख निज प्रतिवादीले मलाई आफ्नो ०७:०० बजे हायात प्लेसमा पि.सि.आर परीक्षण रहेकोले आफू जानुपर्ने भएको भनी मलाई ब्रेकफास्ट खाएर जाऊँ भन्दा मैले नमानेपछि निज प्रतिवादीले मलाई गाडीमा राखी मेरो होस्टल नजिकै लगेर छोडी गाडी लिई फरार भएका हुन,' बयानमा भनिएको छ, 'यसरी मलाई प्रतिवादीले फकाई फुल्याई तिलगंगास्थित होटल काठमाडौं इनमा लगी जोरजुलुम गरी डर त्रासमा पारी मेरो इच्छाविपरीत २ पटक जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादी उपर कानूनबमोजिम कारबाही र सजाय गरी क्षतिपूर्ति समेत दिलाई भराई पाऊँ।'