नेपालमा डेंगी संक्रमणबाट मृत्यु भएका मानिसहरूमा आधाभन्दा बढी मानिस धेरै हिँड्डुल गर्ने उमेर समूहका रहेको पाइएको छ।
रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार गत असोज २७ सम्म नेपालमा ४५ जनाको डेंगी संक्रमणबाट मृत्यु भएको छ। तीमध्ये २७ जना १५ देखि ५९ वर्ष उमेर समूहका मानिस छन्।
त्यस्तै १४ जना ६० वर्ष माथिका, ३ जना ५ देखि १४ वर्ष उमेर समूहका र एक जना ५ वर्ष मुनिका छन्।
कुल मृतकमध्ये २६ जना पुरूष र १९ जना महिला छन्। चिकित्सकहरूका अनुसार डेंगीको जोखिम सबै उमेर समूहका मानिसहरूमा उत्तिकै हुन्छ। जसका कारण बढी हिँडडुल गर्ने मानिसहरूमा धेरै संक्रमण देखिँदा मृत्यु पनि बढी उक्त उमेर समूहकै मनिसहरूको भएको उनीहरूको भनाइ छ।
टेकु अस्पतालका चिकित्सक डा. मिलन बज्राचार्य भन्छन्, '६० वर्ष माथिका वृद्धवृद्धाहरू धेरै हिँड्डुल गर्न हुन्न। धेरै समय घरमै बस्नुहुन्छ। त्यस कारणले धेरै हिँडडुल गर्ने मानिसहरू नै बढी संक्रमित हुन्छन् र संख्यात्मक हिसाबले मृत्यु हुनेमा बढी उनीहरू नै हुन्छन्।'
चिकित्सकहरूका अनुसार डेंगीको वास्तविक जोखिम वृद्धवृद्धा, दीर्घ रोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूमा हुन्छ। तर यो लामखुट्टेको टोकाइबाट सर्ने हुँदा बाहिर बढी हिँडडुल गर्ने उमेर समूहका मानिसहरूलाई धेरै संक्रमण देखिएको उनीहरूको भनाइ छ।
नेपालको हकमा पनि धेरै संक्रमितहरू कामकाजीका लागि बाहिर हिँडडुल गर्ने उमेर समूहका छन्।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा ४० हजार बढी मानिसमा डेंगी संक्रमण देखिसकेको छ। अर्को कुरा डेंगी संक्रमणबाट बढी उमेर समूहका मानिसहरूभन्दा पनि वयस्क मानिहरू बढी थलिएको देखिएको संक्रमितको उपचारमा खटिएका डा. बज्राचार्य बताउँछन्।
'एउटा तथ्य के देखिएको छ भने, जसको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ, उसैलाई गाह्रो भएको देखिएको छ। यसो हेर्दा २० देखि ३० वर्षका मानिसहरूलाई बढी गाह्रो पारेको छ,' उनले भने, 'डेंगीको जटिलता बढी उमेर भएको व्यक्तिमा हुने भयो तर डेंगीले मै हुँ भन्ने तन्नेरी उमेरका व्यक्तिहरूलाई पनि ढाल्दिने गरेको पाइएको छ।'
डा. बज्राचार्यका अनुसार यो कुरा मानिसको रोग प्रतिरोधात्मक क्षमतासँग जोडिन्छ।
उनी भन्छन्, 'डेंगी भनेको भाइरल हो। र ज्वरो आउनु, जिउ दुख्नु, टाउको दुख्नु भनेको भाइरसकोविरूद्ध शरीरमा उत्पादन भएको रक्षात्मक संयन्त्र हो, रोग प्रतिरोधात्मक क्षमता कम भएर आएको हैन। त्यसैले उमेर धेरै भएका मानिसहरूलाई भन्दा वयस्क मानिसहरूलाई बढी गाह्रो भएको देखिएको छ। मतलब वयस्क व्यक्तिहरूमा रोग प्रतिरोधात्मक क्षमता बढी रहेकाले भाइरसविरूद्ध लड्न बढी नै प्रतिकृया जनाउँदा वयस्क व्यक्तिहरूलाई बढी गाह्रो भएको हुनसक्छ।'
यसरी गाह्रो भएका डेंगीका संक्रमितहरूमा के-कस्ता समस्या देखिएका छन्?
आइसियू उपचारमा खटिएका डा. बज्राचार्यका अनुसार आइसियूमा रहेका संक्रमितहरूमा रक्तचाप कम हुने, महिलाहरूमा पहिलेभन्दा बढी महिनावारी हुने, गिजाबाट रगत बग्ने, कालो दिसा जाने जस्ता समस्या देखिएका छन्।
यसैगरी कलेजोमा समस्या आउने, फोक्सोमा पानी जम्ने, शरीरमा पानीको मात्रा कम हुने र प्लाज्मा कम हुने जस्ता समस्या देखिएको उनी बताउँछन्।
सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि अहिले बढी उमेरका मानिसहरूभन्दा पनि वयस्क उमेरका मानिसहरू डेंगीको समस्या लिएर अस्पताल आउने गरेको बताएका छन्।
'हुन त मैले ८० वर्षका बुवालाई पनि समस्या भएको हेरेको छु। तर संख्यात्मक हिसाबमा युवाहरूमै बढी समस्या देखिएको छ।'
तर वयस्क मानिसहरूमा किन बढी समस्या देखियो भनेर अहिले नै केही भन्न नसकिने डा. पुनको भनाइ छ।
'यसको पछाडि विभिन्न कारणहरू हुनसक्छ तर ठ्याक्कै यही हो भनेर अहिले नै भन्न सकिँदैन। मैले योबीच जति पनि बाहिरी लेखहरू पढेँ, त्यसमा पनि ठ्याक्कै यही कारण भन्ने छैन। एउटा आकलन त जसले पनि गर्न सक्छ तर निश्चित कारण दिन सकिँदैन,' उनले भने।
पछिल्लो समय डेंगीका कारण वयस्क उमेरका मानिसहरूमा बढी संक्रमण देखिएको र समस्या पनि उनीहरूमै बढी पाइएको हुँदा बाहिर हिँड्डुल गर्दा ख्याल गर्न चिकित्सकहरूको सुझाव छ।