यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा
पारलैंगिक पुरुष एलिन भण्डारीले २१ वर्ष हुँदादेखि हर्मोन औषधि खान थालेका हुन्। सामाजिक सञ्जालमार्फत पहिलोपटक उनले हर्मोनबारे थाहा पाएका थिए।
त्यति बेला यसबारे धेरै जानकारी नभए पनि विदेशी साथीहरूले उनलाई खाँदा राम्रो हुने सल्लाह दिएका थिए। त्यसअघि उनले ललितपुको एक अस्पतालमा हर्मोन थेरापीको परीक्षण गराए।
'सबै शरीर परीक्षण गरेर कुनै रोग नदेखिएपछि डाक्टरले मलाई औषधि खान सुझाएका थिए,' एलिनले भने, 'औषधि खान थालेपछि महिनावारी रोकिने, स्तन सुक्दै जाने, दाह्रीजुँगा पलाउने, मांसपेसीहरू दह्रो हुँदै जाने, कपाल झर्ने जस्ता परिवर्तन देखिन थाल्यो।'
औषधि प्रयोग गरेको करिब ६ महिनाभित्रै उनमा यस्ता परिवर्तन देखिन थालेको थियो। आफ्नो वास्तविक पहिचान पुरुष हो भन्ने निधो गरिसकेका थिए उनले।
'त्यसैले महिला शरीरको पहिचान पाठेघर पनि निकाल्ने भएँ,' उनले भने।
तीन–तीन महिनामा औषधिको असरबारे जचाउँन गइरहन्थे। हाल एलिनले यसरी औषधि खान थालेकै २३ वर्ष भयो। नीलहिरा समाज (ब्लु-डाइमन्ड सोसाइटी) आवद्ध रहेर एलिन यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बालबालिकाको हकअधिकारको क्षेत्रमा काम गर्छन्।
आफूले स्वास्थ्य जाँच अनि अध्ययन गरेर खाए पनि धेरै पारलैंगिक व्यक्तिलाई हर्मोन औषधि कसरी खाने भन्ने जानकारी नहुँदा जोखिममा परेको उनी बताउँछन्।
'हर्मोनको औषधि लुकिछिपी खानुपर्छ भन्ने ठानेर उनीहरू बजारमा त्यत्तिकै राखिएका औषधि आफैं किनेर खाइरहेका हुन्छन्। त्यसले साथीहरूलाई झनै असर गरेको छ,' उनले भने।
एलिन जस्तै पारलैंगिक महिला रूक्शना कपालीले पनि १५ वर्षको उमेरदेखि हर्मोन थेरापी गर्न थालेकी हुन्। आठ कक्षा पढ्दै गर्दा रूक्शनाले कलाकार सन्तोष पन्तकी छोरीको पहिचानबारे समाचारमा पढेकी थिइन्। त्यो पढेपछि हर्मोनबारे उनले गुगलमा खोज्न थालिन्।
'मैले हर्मोन परिवर्तन सम्बन्धी थप जान्न विशेषज्ञ डा. अन्शु मालीको सहयोग लिएँ। डाक्टरको सल्लाहअनुसार हर्मोन औषधि खान थालेँ। त्यो खाएपछि शारीरिक परिवर्तन देखिन थाल्यो,' उनले भनिन्।
जसरी एलिनले पारलैंगिक पुरुष बन्दा शारीरिक परिवर्तन महसुस गरे, त्यसैगरी हर्मोन प्रयोग गरेर पारलैगिंक महिला बन्दा परिवर्तन देखिन्छ। जस्तो कपाल पातलिने, अनुहारको छाला नरम हुने, दाह्रीजुँगा पलाउन छाड्ने, स्तनहरू बढ्न थाल्ने, आदि। पारलैंगिक महिलाको स्वरमा भने परिवर्तन आउँदैन। यी सबै परिवर्तन रूक्शनामा पनि देखिन थाल्यो। उनले निरन्तर यो औषधि खाइरहेकी छन्।
तर अरू धेरैलाई यसबारे थाहा नभएको उनी बताउँछिन्।
'परिवार र समाजबाट धेरै यौनिक तथा लैगिंक अल्पसंख्यक व्यक्तिहरू बहिष्कृत छन्। उनीहरू कतिले स्कुलधरि पढ्न पाएका छैनन् जसकारण उनीहरूलाई यसबारे थाहा छैन। त्योसँगै हर्मोनबारे काम गरिरहेका विशेषज्ञहरूलाई हामीजस्ता पारलैंगिक व्यक्तिहरूबारे नै थाहा छैन,' उनले भनिन्।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू हर्मोन औषधि प्रयोग गरेपछि आफूमा आत्मविश्वास बढेको बताउँछन्। पारलैंगिक व्यक्तिहरूलाई यस्तो औषधिले शारीरिक रूपमै पहिचान बनाउन सहयोग पुर्याउँछ।
अल्का हस्पिटलका हर्मोन विशेषज्ञ डा. सुनील पोखरेलका अनुसार हर्मोन भनेको रसायन हो। मानव शरीरका विभिन्न ग्रन्थीले फरकफरक हर्मोन उत्पादन गर्छ। जसको काम छुट्टाछुट्टै हुन्छ। महिला र पुरुषको हर्मोन फरकफरक हुन्छ। महिलाको डिम्बाशयबाट एस्ट्रोजन तथा प्रोजेस्टेरोन हर्मोन उत्पादन हुन्छ। पुरुषले उत्पादन गर्ने हर्मोनको नाम टेस्टोस्टेरोन हो।
पुरुष शरीर लिएर जन्मिएका व्यक्तिलाई पारलैंगिक महिला बन्नु छ भने उसले एस्ट्रोजेन तथा प्रोजेस्टेरोन हर्मोन प्रयोग गर्नुपर्छ। त्यस्तै महिला शरीर लिएर जन्मिएकाले परलैंगिक पुरुष बन्न टेस्टोस्टेरोन हर्मोन लिनुपर्छ।
हर्मोन सुरू गरेपछि कम्तीमा ३ देखि ६ महिनाभित्र शारीरिक परिवर्तन देखिन थाल्ने डा. सुनील बताउँछन्।
'कुनै पनि हर्मोन लिँदा पहिले शारीरिक परीक्षण गराउनै पर्छ। परीक्षण नगरी लुकिछिपी वा साथीभाइको देखासिकी गरेर औषधि सेवन गर्दा शारीरिक अनि मानसिक समस्या देखापरेको छ। जस्तो निद्रा धेरै लाग्ने वा नलाग्ने, भोक धेरै लाग्ने वा नलाग्ने, शरीर कमजोर हुने लगायत,' उनले भने।
डा. सुनीलका अनुसार पारलैगिंक पुरुष बन्न टेस्टोस्टेरोन हर्मोन प्रयोग गर्दा पहिलो असर रगतमा पर्छ। यसले हेमोग्लोबिन बढाइदिन्छ। यसकारण शरीरमा हेमोग्लोबिनको मात्रा हेरेर मात्र औषिधि खानु पर्छ। रगत बढी भएमा व्यक्तिको ज्यान जाने खतरा पनि हुन्छ। त्यसैले यो हर्मोन प्रयोग गरेपछि महिनामा एकपटक रगत फाल्नु पर्ने अवस्था आउन सक्ने पनि उनले बताए।
त्यस्तै पारलैगिंक महिला बन्न एस्ट्रोजेन हर्मोन औषधि खाँदा व्यक्तिलाई रगत जम्ने समस्या हुन सक्छ। त्यस्ता व्यक्तिले व्यायाममा पनि ध्यान दिनु पर्छ।
पारलैंगिक महिलाले प्रोजेस्टेरोन हर्मोन भने प्रयोग गर्न हुँदैन। यसले शरीरमा असर पुर्याउने डा. सुनील बताउँछन्।
तर कतिपयले लुकिछिपी प्रोजेस्टेरोन हर्मोन औषधि प्रयोग गरिरहेका छन्।
त्यसको कारण बताउँदै डा. सुनील भन्छन्, 'उहाँहरू कतिलाई परिवार र समाजले स्वीकार नगरेको अवस्था छ। त्यसले गर्दा आर्थिक हिसाबले पनि उहाँहरू कमजोर हुनु पर्छ। यो बजारमा सस्तो मूल्यमा सजिलै पाइने भएकाले पनि यसरी किनेर लिइराख्नुभएको छ।'
यसरी जथाभावी हर्मोन औषधि बिक्रीबारे सरकारले नियन्त्रण गर्नुपर्ने उनी बताउँछन्। हर्मोन औषधि खान थालेको दुई वर्षपछि मात्र आवश्यक शल्यक्रिया गर्नुपर्ने उनले बताए। साथै कुनै दीर्घकालीन रोग वा मानसिक बिमारी भए हर्मोन प्रयोग गर्दा ध्यान दिनु पर्छ।
हर्मोन औषधि प्रयोग गरेका व्यक्तिले मद्यपान, धूमपान पनि गर्न हुँदैन। हरियो सागपात, झोलिला खानेकुराहरू मिलाएर खानु पर्छ। शारीरिक व्यायाम गर्नु पर्छ। धेरै चिल्लो, पिरो, मसालेदार खानेकुरा खानु हुँदैन।
कतिपय विकसित मुलुकमा कुनै सन्तान पारलैंगिक पुरुष वा महिला भएमा र उनीहरूलाई हर्मोन खुवाउन परे परिवारले सानैदेखि खुवाउँछन्। आफ्नो बालबच्चाले फरक व्यवहार देखाउन थाले स्वास्थ्य परीक्षण गराएर बच्चैबाट औषधि खुवाउन मिल्ने व्यवस्था भएको डा. सुनीलले जानकारी दिए। नेपालमा भने १८ वर्षको उमेरपछि मात्र औषधि दिइने उनले बताए।
'१८ वर्षपछिको उमेरलाई परिपक्व मानिन्छ। सानैदेखि औषधि दिँदा उनीहरूलाई आफ्नो शरीरको हर्मोन परिवर्तन गरेको मनपरेन भने अर्को समस्या हुन्छ। त्यसैले हामीले दिने गरेका छैनौं,' उनले भने।
यही उमेरमा हर्मोन औषधि खानु पर्छ भन्ने चाहिँ छैन।
पारलैंगिक महिला रूक्शना भने परिपक्व भएपछि मात्र औषधि खाने भनेर कुरेर बस्दा शरीरमा धेरै परिवर्तन भइसक्ने र यसले पछि गाह्रो हुने बताउँछिन्।
'कतिलाई हर्मोन खानेबित्तिकै परिवर्तन हुँदैन भन्ने थाहा हुँदैन। त्यसैले कतिले एकैपटक धेरै लिन्छन्। यसले झन् स्वास्थ्यमा असर पुर्याउँछ। कतिले छिटो परिवर्तन होला भनेर पनि धेरै औषधि खान्छन्। तर औषधि खाएको ६ महिनापछि परिवर्तन आउँछ भन्ने सबैलाई जानकारी हुन आवश्यक छ,' उनले भनिन्।
हर्मोनको औषधि सुरू गरेपछि जीवनभर खाइरहनुपर्छ। यो भने धेरैले झन्झटिलो मान्छन्। बीचमा औषधि खान छुट्यो भने पहिलेजस्तै शारीरिक स्वरूप देखा पर्न थाल्ने डाक्टर सुनीलले बताए।
हर्मोन सुरू गर्दा टाउको दुख्ने, रिंगटा लाग्ने, झुमझुम, कमजोरी, वान्ता हुने, पेटमा समस्या आउने, दुख्ने, पखाला लाग्ने जस्ता अरू समस्या पनि निम्तिन सक्छन्। हर्मोन थेरापी गराइरहेका केही पारलैंगिक पुरुष र महिलाहरूले आफूहरूले यस्ता समस्या भोगेको बताएका छन्। तर यसबारे जानकारी र परामर्श लिने उचित र सहज ठाउँ नहुँदा निकै मुश्किल भएको पनि उनीहरूले बताए।
स्वास्थ्यजस्तो संवदेनशील कुरा भएकाले लैंगिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई हर्मोन थेरापीबारे सर्वसुलभ र भरपर्दो जानकारी र परामर्शको खाँचो देखिएको छ।