मिर्गौलाका बिरामीहरूको डायलासिस सेवा प्रदान गर्दै आएका अस्पतालले लामो समयदेखि डायलासिस गरे बापतको रकम पाउन नसक्दा आर्थिक संकटमा पुगेको गुनासो गरेका छन्।
सरकारले गत वैशाख महिनादेखि नै मिर्गाैलाका बिरामीहरूको डायलासिस सेवा बापतको रकम भुक्तानी नगरेको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजले एक महिनाअघि नै डायलासिस सेवा बन्द गरेको जनाएको थियो।
उक्त मेडिकल कलेजले सरकारबाट पाउनुपर्ने १४ महिनादेखिको रकम भुक्तानी नभएको जनाएको छ। मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्म बिरामीको मिर्गौला डायलासिस हुँदै आएको थियो।
मिर्गौला बिरामीहरूको डायलासिस गराउँदै आएका लुम्बिनी प्रदेशका सबै जसो अस्पतालले सेवा दिएबापतको रकम भुक्तानीको जिम्मा पाएको बीमा बोर्डले रकम भुक्तानीमा ढिलासुस्ती गर्दा अस्पतालको सेवा नै प्रभावित हुने गरेको बताएका छन्।
मिर्गौलाका बिरामीहरूको डायलासिससँगै, मुटु र क्यान्सर लगायतका गम्भीर प्रकृतिका रोगका बिरामीहरूलाई एक लाख रुपैयाँसम्मको उपचार नि:शुल्क गर्ने र उपचार सेवा वापतको रकम सम्बन्धित अस्पताललाई भुक्तानी दिँदै आएको थियो। यसअघि स्वास्थ्य विभागबाट रकम भुक्तानी हुँदै आएकोमा पछिल्लो समय भुक्तानीको जिम्मा बीमा बोर्डलाई दिएपछि भुक्तानीमा ढिलाइ हुँदै गएको अस्पताल सञ्चालकहरूको गुनासो छ।
लुम्बिनी प्रदेशमै सबभन्दा धेरै मिर्गौलाका बिरामीलाई डायलासिस सेवा प्रदान गर्दै आएको बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बीमा बोर्डले बिरामीहरूको उपचार गरेबापतकै ५ करोडभन्दा बढी रकम रोकेर राख्दा अस्पताल चरम आर्थिक संकटमा परेको बताए।
आलमले मिर्गौलाका बिरामीहरूको डायलासिस सँगै गरिब तथा विपन्न नागरिकहरूको मुटु रोगको उपचार गरेवापत बीमा बोर्डबाट वैशाखदेखि भदौ मसान्तसम्मको ५ करोड ६१ लाख ६६ हजार ४ सय ५२ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए।
आलमका अनुसार गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाका बिरामीहरूको डायलासिस गरेवापत ४ करोड ८२ लाख ९७ हजार ५ सय रुपैयाँ र मुटु रोगीको उपचार वापतको ७८ लाख ६८ हजार ९ सय ५२ रुपैयाँ भुक्तानी रोकिएको छ।
मुटु अस्पतालबाट नियमित रूपमा साढे चार सय जना बिरामीले मिर्गौलाको डायलासिस गराउँदै आएका छन्।
‘सरकारबाट पाउनुपर्ने रकम ५ महिनासम्म रोकिँदा समुदायबाट सञ्चालन गरिएको अस्पताल चरम आर्थिक संकटमा परेको छ, रकम रोकिँदा बिरामीहरूलाई समेत चिन्तित बनाएको छ,’ अध्यक्ष आलमले भने।
उनले बीमा वापतकै रकम उपलब्ध गराउन नसकेको बीमा बोर्डलाई मिर्गौलाको डायलासिस सेवा वापतको रकम भुक्तानीको समेत जिम्मेवारी दिँदा झनै समस्या थपिएको बताए।
यता रूपन्देहीको भैरहवा मेडिकल कलेजले पनि गत वैशाखदेखिकै रकम भुक्तानी नभएको बताएको छ।
मेडिकल कलेजका व्यवस्थापक कमल ढकालले बीमा बोर्डबाट डायलासिस सेवा वापतको ६६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए। मेडिकल कलेजमा नियमित ५० जना मिर्गौलाका बिरामीले डायलासिस सेवा लिँदै आएका छन्।
मेडिकल कलेजमा डायलासिस सेवा वापतको मात्र नभई सरकारले उपचारमा सहुलियत दिने घोषणा गरेका मुटु, क्यान्सर, मेरूदण्ड लगायतका बिरामीहरूको उपचार र स्वास्थ्य बीमा कार्यक्रम वापतको समेत गरी १० करोडभन्दा बढी रकम भुक्तानी पाउन बाँकी छ।
ढकालले सरकारले बिरामीहरूको उपचारमा सहुलियत दिने घोषणा गरे पनि समयमा भुक्तानी नहुँदा अस्पतालमात्र नभई बिरामी समेत समस्यामा परेको बताए।
‘करोडौं रकम महिनौंसम्म रोकिँदा मानिसको जीवनसँग जोडिएका अस्पतालहरू कसरी सञ्चालन गर्ने हो ?’ उनले प्रश्न गरे।
रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले पनि सरकारबाट ८० लाख रुपैयाँभन्दा बढी रकम पाउन बाँकी रहेको जनाएको छ। उक्त अस्पतालमा पनि ४० जनाभन्दा बढी मिर्गौलाका बिरामीले नियमित डायलासिस सेवा लिँदै आएका छन्।
अस्पतालका प्रशासन प्रमुख मनमोहन भट्टराईले महिनौंसम्म रकम रोकिँदा अस्पताल सञ्चालनमै समस्या आउने गरेको बताए।
‘पाउनुपर्ने रकम रोकिएपछि अस्पतालले दिनुपर्ने ठाउँमा पनि स्वाभाविक रूपमै रोकिने भयो, समयमा रकम नपाउँदा त्यसको प्रत्यक्ष मारमा बिरामी र अस्पतालका स्वास्थ्यकर्मीहरू नै पर्ने गरेका छन्,’ उनले भने।
सरकारले सम्बन्धित निकायमा सूचीकृत भएका अस्पताललाई मिर्गौलाका बिरामीहरूको डायलासिस गराएवापत एक पटकको २ हजार ५ सय रुपैयाँको दरले अस्पताललाई रकम भुक्तानी दिँदै आएको छ।