लागु औषध मुद्दामा पक्राउ पुर्जी जारी भएको एकमहिनासम्म पनि पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई पक्राउ गर्न प्रहरी असफल भएको छ।
साझेदारी व्यापारको एक करोड बढी रकम हडप्ने उद्देश्यसहित दुई भारतीयलाई योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाएको आरोप उनलाई लागेको थियो। गुप्ताविरूद्ध मुद्दा दर्ता र पक्राउका लागि प्रहरीले चासो नदिएको र उल्टै मुद्दालाई कमजोर बनाउन खोजेको अन्य राजनीतिक दल र जेल चलना भएका भारतीयका परिवारले गुनासो गरेका छन्।
गुप्ता नेकपा माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि गाउँपालिकाअध्यक्षमा निर्वाचित भएका हुन्। राजनीति पहुँचको आडमा मुद्दा प्रभावित बनाउनका लागि सरकारी वकिल कार्यालयका चन्द्रबहादुर सिंजालीको समेत सरुवा गराएको स्थानीय धरेन्द्र यादवले आरोप लगाएका छन्।
गुप्ताकै योजना अनुसार गत असार २२ गते जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई लागुऔषध कारोबारको आरोपमा पक्राउ गरेको थियो।
तर प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टोलीले गरेको अनुसन्धानमा उक्त घटना बनावटी भएको निष्कर्ष निकालेको थियो। गाउँपालिका अध्यक्ष गुप्ता घटनाका प्रमुख योजनाकार रहेको र जिल्ला प्रहरी प्रमुखकको भूमिका शंकास्पद रहेको निष्कर्षमा प्रदेश प्रहरी कार्यालयको टोली पुगेको थियो।
अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी रघुनाथ धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजाएको मागदाबी सहित अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
तर, घटनामा मुछिएका पाण्डे मलेसिया पुगेका छन् भने अध्यक्ष गुप्ता फरार छन्। सरकारी वकिल कार्यालय नवलपरासीका तत्कालीन अधिकृत चन्द्रबहादुर सिंजालीले प्रहरीको अनुसन्धान प्रतिवेदनमा अझै केही कुरा अपुग भएकाले पुनः अनुसन्धानका लागि समय दिएको बताए।
यसबीचमा अध्यक्ष गुप्ताले धोबीलाई ८० लाख रुपैयाँ दिने सर्तमा उनलाई बयान फेर्न लगाएका थिए। उनले धोबीनै घटनाको मुख्य दोषी देखाएर आफू उम्किन खोजेको धोबीकी श्रीमतीले बताएकी छिन्।
यता २०७४ सालको स्थानीय चुनावमा पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गुप्ताले भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आधा दर्जनभन्दा बढि उजुरीहरू परेका छन्।
गुप्ताले यसअघि गाउँपालिका अध्यक्षको पद दुरूपयोग गरि विभिन्न क्षेत्रबाट लाखौं रुपैयाँ हिनामिना गरेर अकुत सम्पति जोडेको भन्दै अख्तियारमा उजुरी परेका थियो।
गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सुनवल, बुटवल, अर्घाखाँची लगायतका स्थानमा अकुत सम्पति जोडेको भन्दै आम्दानीको स्रोत छानबिन गरी कारबाहीको माग उजुरीमा गरिएको छ।
अख्तियारमा परेको उजुरीका अनुसार गुप्ताले श्रीमती शारदा आचार्य गुप्ताको नाममा सुनवलमा ५ कठ्ठा जग्गामा ३ तले, बुटवलमा ३ तले र अर्घाखाँचीमा भवन बनाएका छन्।
गाउँपालिकाको भवन निर्माणका क्रममा ७ करोड ४९ लाख रुपैयाँको ठेक्का सम्झौता विपरित कार्यपालिका बैठकमा निर्णय नगरको उल्लेख छ। यस्तै डिजिटल भिलेज प्रोफाइल ५-५ वर्षमा मात्र अध्यावधिक गर्नुपर्ने भएपनि गुप्ताले नियमविपरीत ५ वर्ष नपुग्दै अध्यावधिक गरेर लाखौं रकम भ्रष्टाचार गरेको उजुरीमा भनिएको छ।
२०७५ सालमा डिजिटल भिलेज प्रोफाइल बनाए वापत ४० लाख भुक्तानी भएको र २०७८-७९ मा पनि सोहि कामको लागि पुनः २० लाख रूपैयाँ भुक्तानी गरिएको छ।