कोभिड केहि मत्थर हुँदा पछिल्लो दुई तीन महिनायता डेंगीको संक्रमण महामारीका रूपमा फैलिन थालेको छ। संक्रमितको संख्या बढिरहँदा मृत्यु हुनेको संख्या पनि त्यतिकै संख्यामा बढिरहेको छ।
लुम्बिनी प्रदेशमा मात्रै डेंगी संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता पुष्पराज पौडेलले जानकारी दिए। सयौं संक्रमित अस्पतालमा भर्ना भएका छन्।
उनका अनुसार पाल्पा, दाङ र बर्दियामा एक-एक जनाको डेंगी संक्रमणबाट मृत्यु भएको छ।
पाल्पाको रिब्दिकोट गाउँपालिका-१ का ख्याहाका ५८ वर्षीय पुरूषको डेंगी संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। डेंगी संक्रमणपछि गत भदौ २७ गते तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा भर्ना भएका पुरूषको असोज १ गते उपचारको क्रममा मृत्यु भएको हो।
त्यस्तै भदौ २७ गते नै दाङको घोराही उपमहानगरपालिका-१४ का ४० वर्षीया महिलाको पनि डेंगी संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार उनको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
प्रवक्ता पौडेलका अनुसार बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगी संक्रमणबाट भदौ २२ गते मृत्यु भएको थियो। डेंगी संक्रमण भएपछि भदौ १४ गते उनी भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका थिए। भर्ना भएको चार दिनपछि उपचारको क्रममा उनको मृत्यु भएको हो।
प्रवक्ता पौडेलले लुम्बिनी प्रदेशमा असोज ४ गतेसम्म २ हजार ६ सय ८३ जनामा डेंगीको संक्रमण भएको जानकारी दिए। भदौ महिनामा एक्कासी संक्रमण बढेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पनि डेंगी संक्रमितको दैनिक भिड लाग्ने गरेको छ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरुमा दैनिक ४० जनासम्म डेंगी संक्रमित आउने गरेको निर्देशनालले जनाएको छ।
गत साउन मसान्तसम्म करिब ४ सय जनामा डेंगीको संक्रमण पुष्टि भएकोमा भदौ महिनामा मात्रै २२ सयभन्दा बढि संक्रमित थपिएको प्रवक्ता पौडेलले बताए।
‘असोज महिना लागेपछि पनि दैनिक रूपमा पानी परिरहेकोले अझै पनि डेंगी बढ्न सक्ने जोखिम उच्च छ।’ पौडेलले भने।
तर, लुम्बिनी प्रदेश सरकारले डेंगी नियन्त्रणका लागि भने अहिलेसम्म कुनैपनि बजेट बिनियोजन गरेको छैन। निर्देशनालयका प्रवक्ता पौडेलले यसअघि नै विभिन्न महामारीजन्य रोगका लागि सरकारले एकमुष्ठ बजेट छुट्याएकोमा अहिलेसम्म सोहि बजेटबाट काम चलाइरहेको बताउँछन्।
रूपन्देहीमा पहिलोपटक २०६७/६८ मा २ सय ९० जनामा देखिएको डेंगीको संक्रमण २०७६/७७ मा महामारीकै रूपमा फैलिएर २ हजार ९ सय ३० जनामा देखिएको थियो। संक्रमण ह्वात्तै बढेपछि रोकथामका लागि बुटवल उपमहानगरपालिकाले डेंगीको संक्रमण फैलाउने लामखुट्टेको लार्भा खोज गरी नष्ट गर्ने अभियान चलाएका कारण गतवर्ष संक्रमण फैलिएको थिएन।
तर, यसवर्ष भने उक्त अभियान शून्य भएपछि डेंगी संक्रमण महामारीको रूपमा फैलिरहेको छ। जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले रूपन्देहीमा यसवर्ष डेंगी संक्रमणबाट कसैको मृत्यु नभएपनि संक्रमितहरूको संख्या भने बढिरहेको छ।
शाहका अनुसार रूपन्देहीमा असोज ४ गतेसम्म ६ सय ७९ जनामा डेंगीको संक्रमण पुष्टि भएको छ। रूपन्देहीमा असार महिनादेखि नै डेंगी संक्रमित फेला परेपनि भदौ र असोज महिनामा धेरै थपिएको उनले बताए।
लुम्बिनी प्रादेशिक अस्पतालका जनरल फिजियन चिकित्सक नन्दु पाठकले असार महिनादेखि नै अस्पतालमा संक्रमित आउने गरेको बताए। साउन र भदौको दोश्रो सातापछिका दिनमा संक्रमितहरु थपिएको उनले बताए।
डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो हो। वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी र गमलामा यसले फूल पार्ने भएकाले त्यस्ता वस्तुमा पानी जम्न नदिन चिकित्सकहरूले आग्रह गरेका छन्।
यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने भएकाले शरिर ढाकिने कपडा लगाउन उनीहरूको सुझाव छ।
भदौपछि कात्तिक, मंसिरसम्म डेंगीका जिवाणु सार्ने लामखुट्टेको वृद्धि बढ्ने भएको रूपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक शाहले बताए। त्यसैले अझै पनि डेंगीको संक्रमण फैलिन सक्ने भएको उनले बताए।
‘पानी परिरहेकोले लामखुट्टेको वृद्धि हुने मौसम अझैपनि बाँकि छ,’ शाहले भने, ‘जति ढिलोसम्म वर्षा हुन्छ। डेंगीको संक्रमण पनि त्यति नै बढ्न सक्ने जोखिम हुन्छ।’