विद्युत प्राधिकरणले वस्तीमाथिकै प्रसारण लाइनबाट हाइल्टेभोज करेन्ट प्रवाह गर्दा बुटवलबासी जोखिममा परेका छन्। बुटवलको राजमार्ग चौराह ग्रिडमा जोडेर कपिलवस्तु, अर्घाखाँची र पाल्पाका लागि विद्युत वितरण गर्न बस्तीमाथीबाट लगिएको ३३ केभिए लाइनका कारण बुटवलका धेरै बस्ती जोखिममा परेको हो।
योगिकुटी शवस्टेसनलाई राजमार्ग चौराहमा रहेको शवस्टेसनमा जोडेर कपिलवस्तु, अर्घाखाँची र पाल्पामा ११ हजार भोल्टको विद्युत प्रसारण भइरहेको छ। त्यस प्रसारण लाइनको तार चुँडिएर करेन्ट लाग्दा हालसम्म ५ जनाले ज्यान गुमाएका छन्।
प्राधिकरणले वर्षौँ पुराना र कमजोर विद्युतका पोलहरु मर्मत नगर्दा दुर्घटनाको जोखिम झन् बढेको स्थानीय बताउँछन्। बाक्लो बस्तीमाथिबाट हाइ भोल्ट करेन्ट प्रवाह नगर्न स्थानीयहरुले बारम्बार ध्यानाकर्षण गराएपनि प्राधिकरणले सुनुवाइ गरेको छैन।
कालिकानगर, राजमार्ग चौराह, चांदवारी, सुख्खानगर क्षेत्रका सयौं घर परिवार हाईटेन्सन लाइनबाट हुनसक्ने सम्भावित दुर्घटनाको जोखिममा छन्। नेपाल विद्युत प्राधिकरणले बजेट अभावका कारण हाईटेन्सन लाइन सार्न नसकिएको जवाफ दिँदै आएको छ।
कालिकानगर अभियानपथका यमलाल पुन विद्युत प्राधिकरणले हाईटेन्सन लाइन अन्यत्र सार्ने विषयमा कुनै चासो नदिएको बताउँछन्। ‘सामान्य हावाहुरी लाग्दा र अलि चर्को गर्मि हुँदा घरकै गेटमा राखिएका ट्रान्सफर्मर र पोलमा आगो लाग्दा सधै त्रास भईरहन्छ, घरमाथीका हाईटेन्सन लाइनलाई सरकारले जतिसक्दो छिटो हटाउनुपर्छ,’ उनि भन्छन्।
अभियानपथकै ललित पुन पनि लाइनका कारण स्थानीय मात्र नभएर अभियानपथ भएर हिँड्नेहरु पनि त्रसित रहेको बताउँछन्।
३३ केभिएको प्रशारण लाइनको दुबै तर्फ १५/१५ मिटर क्षेत्रको घर तथा जग्गा, वित्तिय कारोवारका लागि बैंकहरुले धितोको रुपमा समेत अस्वीकार गर्दा स्थानीय थप मारमा छन्।
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख नवराज ओझाले विद्युतीय दुर्घटनाको जोखिममा सर्वसाधारण मात्र नभई प्राधिकरणका कर्मचारी समेत रहेको बताए। लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा मात्रै विद्युतीय दुर्घटनाबाट प्राधिकरणका तीन कर्मचारीको मृत्यु भएको ओझाको भनाई छ।