उत्तरी छिमेकी चीनको संसद जनकंग्रेसका अध्यक्ष ली चान्शु सोमबारदेखि नेपाल भ्रमणमा छन्। सोमबार अपरान्ह चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आएका चान्शुले हिजैदेखि भेट राजनीतिक भेटघाट सुरू गरेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरीयतामा रहेका चान्शुलाई सरकारले भिभिआइपी पाहुनाको सम्मान दिइरहेको छ। उनको स्वागतमा सभामुख अग्निप्रसाद सापकोटा विमानस्थलमा पुगेका थिए। काठमाडौंमा हुने उनको सवारीमा प्रहरीले कडा सुरक्षा दिइरहेको छ।
सोल्टी होटलमा बसेका चान्शुले मंगलबार दिनभरि पनि राजनीतिक भेटघाट गर्दैछन्। उनको आवातजावतले काठमाडौंको ट्राफिक व्यवस्थापना भने व्यवस्थापन अस्तव्यस्त बनेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सूचना नै जारी गरेर वैकल्पिक बाटोको प्रयोग गर्न भनेको छ। रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा जाम हुनसक्ने भन्दै वैकल्पिक बाटोको प्रयोग गर्न भनेको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालका अनुसार चान्शुलाई भिभिआइपीको सुरक्षा दिइएको छ।
यस्ता खालका सुरक्षा दिँदा औपचारिक सवारीको रूपमा हेरिने उनले बताए।
‘औपचारिक सवारीको रूपमा हेरिन्छ। त्यो भनेको सवारी समयमा बाटो खाली गरिन्छ,’ उनले भने।
सवारी हुने कति समय अगाडि सडक खाली गर्ने भन्ने मूल्यांकन भने भिभिआइपीमा पनि भर पर्ने उनी बताउँछन्। सुरक्षा खतराको मूल्यांकन गरेर त्यसलाई रोकिने उनले बताए। चान्शुको सवारी हुने सडक कति समयअगाडि खाली गर्ने हो भन्ने बारे उनले खुलाएनन्।
नेपाल प्रहरीले उनीमाथि हुनसक्ने खतराको पनि मूल्यांकन गरेको छ।
उनीमाथि तिब्बती शरणार्थीको थ्रेट हुनसक्ने भनेर मूल्यांकन गरिएको एसपी रिजालले बताए।
चान्शुको सुरक्षाको लागि चिनियाँ सुरक्षाकर्मी पनि आएका छन्।
नेपाल प्रहरीले पनि उनलाई सुरक्षा दिन एसपीको कमान्डमा टोली खटाएको हो।
यसका लागि काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली परिचालन भएको छ। यसको सबै मनिटरिङ भने परिसर प्रमुख एसएसपी भरत बोहरा र त्यसको नियमित अपडेट कार्यालयका प्रमुख एआइजी रवीन्द्रसिंह धानुकले पनि लिइरहेका छन्।
‘उहाँका आफ्नै सुरक्षाकर्मी पनि आउनुभएको छ। प्रहरीले दिने सुरक्षा भने ठाउँ र रूट अनुसार परिचालन हुन्छ। एयरपोर्टबाट सोल्टी होटलसम्म जानुपर्यो भने अलि बढी सुरक्षाकर्मी परिचालन गर्छौं,’ उनले भने, ‘सिंहदरबारसम्म मात्रै हो भने थोरै परिचालन हुन्छ।’
यसका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका प्रहरीलाई परिचालन गरेको छ। कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुरबाट बोलाएर प्रहरी परिचालन गरेको उनी बताउँछन्।
त्यतिले पनि अपुग हुँदा प्रहरी प्रधान कार्यालयबाट पनि तीन सय जना प्रहरी माग गरी परिचालन गरिएको उनले बताए।
‘काठमाडौं उपत्यकाको मात्रै परिचालन गर्दा अपुग भएपछि प्रहरी प्रधान कार्यालयबाट पनि माग गरी परिचालन गरिरहेका छौं,’ उनले भने।
चान्शुले मंगलबारै प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट्दैछन्। बुधबार बिहान उनी भक्तपुर दरबार परिसरमा घुम्न जानेछन्। भोलि नै उनले शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
चान्शुको टोली बिहीबार नेपालबाट फर्किनेछ।