गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न देशका वायुसेवा कम्पनीले उडानका लागि चासो व्यक्त गरिरहेका बेला विमानस्थलको दिगो सञ्चालनका लागि हवाई सुरक्षाबारे छलफल थालिएको छ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झण्डै चार महिनापछि विमानस्थलको हवाई सुरक्षा शाखाले शुक्रबार हवाई सुरक्षामा देखिएका चुनौती र समस्याबारे सरोकारवालासँग अन्तरक्रिया गरेको हो।
अन्तरक्रियामा विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले विमानस्थलको आन्तरिक व्यवस्थापनसँगै अन्तर्राष्ट्रिय विमानको प्रवेशको लागि सिधा एयर रूटको अभाव र भएको एयर रूटमा समेत विभिन्न उद्योगका अग्लाअग्ला चिम्निहरु बाधक बनिरहेको बताए।
महाप्रबन्धक दाहालले विमानस्थलको एयर रूटमा पर्ने विभिन्न उद्योगले निर्माण गरेका अग्ला संरचना हटाउन पत्राचार भए पनि नहटाउँदा समस्या देखिएको बताए।
दाहालका अनुसार विमानस्थल नजिकै उत्तरतर्फ रहेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नि हटाउन विमानस्थल सञ्चालक समितिबाटै निर्णय भई पटक पटक पत्राचार भए पनि उद्योगले हालसम्म अटेर गर्दै आएका छन्।
अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) को मापदण्ड अनुसार विमानस्थल रनवेको करिब ४ हजार मिटर क्षेत्रमा ४५ मिटरभन्दा अग्ला संरचना राख्न पाईदैन।
तर विमानस्थलदेखि ३२ सय मिटर उत्तरमा रहेको अर्घाखाँची सिमेन्ट उद्योगले १ सय २४ मिटर अग्लो चिम्नी निर्माण गरेपछि विमानस्थल आयोजनाले ४ वर्ष पहिलेदेखि नै त्यसलाई हटाउन पत्र काट्दै आईरहेको जनाएको छ।
चिम्नीको उचाई घटाउन उद्योगलाई पहिलो पटक २०७५ चैत १० गते पत्राचार गरेको विमानस्थल आयोजनाले २०७६ साल असार १७ गते दोस्रो पत्र र हालै तेस्रो पत्र काटेको जनाएको छ।
विमानस्थलको उत्तरतर्फ अर्घाखाँची सिमेन्टसँगै ईट्टा उद्योगका अग्ला अग्ला चिम्नीले पनि विमानस्थलमा असुरक्षासँगै प्रदूषण थपिरहेका छन्। विमानस्थलका महानिर्देशक दाहालले इट्टा उद्योगले प्रदुषण बढाए पनि अन्य सुरक्षामा भने बाधक नबनेको बताए।
दाहालले विभिन्न विमान कम्पनीले यहाँबाट उडान भर्ने चासो दिईरहेको र सिधा एयर रूटका लागि भारत सरकारसँग पत्राचार र समन्वय भईरहेको जानकारी दिए।
कार्यक्रममा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले विमानस्थलको सुरक्षा प्रबन्धसँगै पर्यटकलाई कसरी सुविधा दिन सकिन्छ भन्नेतर्फ ध्यान दिन सुझाव दिए।
उनले सस्तो हवाई टिकट काटेर आएका यात्रुसँग ट्याक्सीले चर्को भाडा असुल गर्दै आएको उल्लेख गर्दै ट्याक्सीको एउटै भाडा दररेट तय गर्नुपर्ने बताए। ‘दररेट कायम नहुँदा एउटै ट्याक्सीले भैरहवाबाट बुटवलसम्म यात्रु लगेको १५ सयदेखि २ हजारसम्म लिने गरेका छन्, यस्तो प्रवृत्तिले पर्यटकलाई आकर्षित गर्न सकिदैन,’ उनले भने।
पाण्डेले विमानस्थलमा आफन्त लिन र छोड्न आउने निजी सवारीसाधनबाट विमानस्थल प्रवेश गरेपछि नै पार्किङ शुल्क असुल गर्दै आएको भन्दै त्यस्ता सवारीसाधनबाट शुल्क असुल गर्ने काम तत्काल बन्द गर्न निर्देशन दिए।
‘पार्किङ क्षेत्रमा प्रवेश गर्ने वित्तिकै शुल्क लिनु गैरकानुनी हो, कि त प्रवेश शुल्क भनेर पैसा लिएको हुनुपर्यो नभए प्रवेश गर्दैमा पार्किङ शुल्क भनेर पैसा लिन पाईदैन,’ उनले भने।
प्रमुख जिल्ला अधिकारी पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि विदेशी पर्यटकको चाप स्वतः बढ्ने भए पनि होटलको सेवामा भने सुधार हुन नसकेको बताए।
‘होटलले पाहुनालाई भित्र लैजाने मात्र होईन भित्र लगिसकेपछि दिने सेवा सुविधामा पनि सुधार गर्नुपर्यो, सबै बर्गका पर्यटक र यात्रुले धान्न सक्ने सबै प्रकारका होटल सञ्चालन गर्नुपर्छ’, उनले सुझाव दिए।
कार्यक्रममा सहभागीले हवाई यात्रुहरुको चाप बढेसँगै भन्सार, अध्यागमन, स्वास्थ्य, क्वारेन्टाईन, बैंकको व्यवस्था र विमानस्थल भित्र र बाहिरको सुरक्षाको लागि सिसिटिभी जडान गर्नेतर्फ ध्यान दिन विमानस्थल र सुरक्षा निकायको ध्यानाकर्षण गराएका थिए।
जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ५० वटा अवतरण र भैरहवादेखि कुवेतका लागि ५० वटा उडान गरिसकेको विमानस्थलले जनाएको छ।
ती उडान र अवतरणबाट १२ हजार ३ सय ७२ जना यात्रुले सेवा लिईसकेको महाप्रबन्धक दाहालले जनाएका छन्। जसमध्ये ५ हजार ७ सय ८० जनाले भैरहवा अवतरण गर्दा ६ हजार ६ सय ९२ जनाले भैरहवादेखि उडान भरेका छन्।