प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्वक्षितिज सिंह अहिले वीर अस्पतालमा उपचाररत छन्।
कोरोना भाइरसको संक्रमण देखिएपछि हिरासतमा रहेका उनी मंगलबार राति अस्पताल भर्ना भएका हुन्।
अहिले कोभिड वार्डमा उपचार भइरहेको उनका साथी अर्जुन पौडेलले जानकारी दिए। अपूर्वको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उनले बताए।
अस्पतालमा भए पनि उनी हिरासतमुक्त भएका भने होइनन्। उनी अझै पनि प्रहरीको निगरानीमा छन्। भदौ १२ गते पक्राउ परेका उनी कहिले छुट्छन् भन्ने चासोको विषय बनेको छ।
नेवा समुदायमाथि लक्षित गर्दै स्ट्यान्डअप कमेडी गर्दा अभियन्ताले उनीविरूद्ध जाहेरी दिएका थिए। चार वटा विभिन्न शीर्षकमा दिएको जाहेरीका कारण उनको अनुसन्धान सकिन ढिलाइ भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीले सुरूमा मुलुकी अपराध संहिता, २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५, सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसूर अन्तर्गत अनुसन्धान गरिरहेको थियो।
अनुसन्धान गर्न प्रहरीले सुरूमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० दिन हिरासतमा राख्न अनुमति पाएको थियो। त्यसपछि बुधबार फेरि पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो।
उनीविरूद्ध दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्व व्यवहार गर्न नहुने र दफा १६८ अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो।
यी चार वटा जाहेरी दिन १०४ जनाले हस्ताक्षर गरेका छन्।
गत आइतबार अपूर्वलाई कारबाही गर्न पुगेको र ‘क्षमा’ गरी छुटाउन पहल गर्ने भन्दै अभियन्ताको समूह जिल्ला प्रहरी परिसर काठमाडौं टेकु पुगेको थियो। अभियन्ताले क्षमापत्र समेत तयार गरी प्रशासन कार्यालयमा बुझाउने तयारी गरेका थिए।
मिलापत्र गर्ने भन्दै अभियन्ता प्रहरी कार्यालय पुगे पनि अपूर्व छुट्न सकेनन्। १२ औं दिनदेखि प्रहरी हिरासतमा छन्।
परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले यस घटनामा कुनै पनि खालको मिलापत्र नभएको बताए।
अपूर्वलाई छुटाउन पहल गर्दा पनि किन अझै नछुटेका हुन् भन्ने प्रश्न हामीले अभियन्ता यादवलाल कायस्थसँग सोध्यौं।
यसमा मिलापत्र गर्ने भनेर पहल गर्दा पनि सम्भव नभएको उनले बताए। मिलापत्र गर्न उनीहरूले ‘क्षमापत्र’ पनि बनाइसकेका थिए।
‘जुन मान्छे पहिला जाहेरी लिएर गएका थियौं नि, नेवा सभ्यतामा प्रहार गर्दा उपत्यकाभरिबाट स्वत:स्फूर्त रूपमा आएका थिए। यसमा १०४ जना मानिसले जाहेरी दिएका छन्,’ उनले भने, ‘त्यो जाहेरी फिर्ता गर्न र मिलापत्र बनाउन १०४ जनामध्ये धेरै मान्छे चाहिने रहेछ।’
यसरी छुटाउन जाँदा फेरि आफ्नै मान्छेहरू पनि थुनिनसक्ने सम्भावना भएको हुँदा अभियन्ता हच्किएको देखिन्छ। मिलापत्र गरी छुटाउन पहल गर्न आफूहरू २०-२५ जनामात्रै परिसर पुगेको पनि उनले बताए।
अभियन्ता परिसर पुग्दा अपूर्व हिरासतमा बसेको आठौं दिन भइसकेको थियो।
‘फिर्ता गर्छौं भनेर जाँदा हिजो ८ दिनसम्म थुनाउने, के-को आधारमा आज अपूर्व निर्दोष भनेर आयौं। निर्दोष हो भने किन थुनायौं त। यसो गर्दा छुटाउन गएका मानिसहरू थुनिने भयौं,’ उनले भने, ‘अपूर्व दोषी हो, कडा कारबाही गर भनेर जाहेरी दिने अनि आज आएर तिमीहरूले प्रहरीलाई मजाक बनाउने ? भन्ने विषय उठ्ने भएको हुँदा यो अन्यौल भएको हो।’
यस घटनाको समाधान के हुनसक्छ भनेर मध्यमार्गी बाटोको पनि खोजी भइरहेको उनी बताउँछन्। यसको लागि आफूले बिहीबार ललितपुरको कुपन्डोलमा वकिलहरूसँग छलफल गर्न लागेको बताए।
त्यसैगरी आधिकारिक समिति समेत बनाएर निर्णय लिने तयारी भइरहेको उनी बताउँछन्।
उनले यस घटनामा विभिन्न स्वार्थ बोकेका मानिसहरू पनि भएको बताए। कतिपय मानिस किन छुटाउने भन्ने पक्षमा पनि रहेको उनी बताउँछन्।
‘विभिन्न स्वार्थ भएका मानिसहरू पनि छिरे। हामीले छुटाउने भन्दा पनि यिनीहरू को हो र छुटाउनलाई ? किन छुटाउन दिने भन्ने प्रश्न पनि उठ्यो,’ उनले भने, ‘संसदमा एमालेका नेताले छुटाउन पर्छ भनेर माग गरे पनि यता कार्यकर्ताहरूले छुटाउन हुन्न भन्ने पनि देखिन्छ। तिकडम, षड्यन्त्र र छलकपट गर्न खोजेको पनि देखियो।’
बुधबार एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधि सभाको बैठकमा अपूर्वलाई रिहाइ गर्न माग गरेका थिए।
उनीविरूद्धको जाहेरीको कसैले पनि नेतृत्व नगरेको हुँदा अप्ठेरो परेको पनि कायस्थले बताए। स्वत:स्फूर्त रूपमा आएका मानिसहरूलाई नेतृत्व कसैले नगर्दा समस्या आएको उनी बताउँछन्।
अपूर्वको स्वास्थ्य अवस्थाबारे बुझ्न आफू अस्पताल पनि जाने तयारीमा रहेको उनले बताए।
कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्डप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा हालिएको थियो। ‘नेवारको परम्परा’ शीर्षकमा राखिएको उक्त भिडिओको २४ घन्टा नबित्दै आलोचना र विरोध भएको थियो।
त्यसपछि अपूर्वले भिडिओ हटाएर माफी पनि मागेका थिए। उनले फेसबुकमार्फत् माफी मागेका थिए। यसमा माफी हुन नसक्ने भन्दै अभियन्ताको समूह जाहेरी लिएर प्रहरीकहाँ पुगेको थियो।
अभियन्ताले दिएको निवेदन शनिबार भन्दै नलिएपछि त्यो भीड उग्र बनेको कायस्थ बताउँछन्। जसले गर्दा पनि अपूर्वलाई हिरासतमा पुर्याएको उनको तर्क छ।
यसरी जाहेरी दिएपछि भदौ १२ गते आइतबार परिसर पुगेका अपूर्वलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो।