वर्षौंसम्म निर्माण कार्य अलपत्र रहेको बुटवलको मुख्य सडकमा घन्टौंसम्म सवारी साधनको जाम हुन थालेको छ।
बुटवलको राजमार्ग चौराहदेखि चिडियाचौकीसम्म साढे ३ किलोमिटर सडक ६ वर्षसम्म अलपत्र हुँदा यही सडक हुँदै आवतजावत गर्ने हजारौं सवारी साधन र यात्रुले सास्ती भोगिरहेका छन्।
पछिल्लो समय सडक पिच गर्ने भन्दै बुटवल बसपार्कदेखि पुष्पलाल पार्कसम्म पश्चिमतर्फको सडक झन्डै एक महिनादेखि बन्द गरिएको छ।
पूर्वतर्फको सडकमा मात्रै दुईतर्फी चल्ने सवारी साधन सञ्चालन हुँदा सडकमा सवारी साधनको चाप हुने कार्यालय समयमा घन्टौंसम्म सवारी साधनको भीड लाग्ने गरेको छ।
गत असार ३० गते ठेक्का अवधि सकिएको निर्माण कम्पनी द कञ्चनजंघा बिरूवा जेभी कन्स्ट्रक्सन प्रालिले ठेक्का अवधि थप गर्न केही दिन निर्माण कार्य अगाडि बढाएजस्तो देखाए पनि अहिले निर्माणको काम ठप्प छ।
निर्माणको काम रोकिएको भए पनि पश्चिमतर्फको सडकमा आवतजावत खुल्ला नगर्दा यात्रुहरूले सास्ती भोगिरहेका छन्। एकातर्फ भत्किएर ठूला ठूला खाडल परेको सडक, अर्कोतर्फ एकतर्फी सडकमा दुईतर्फी सवारीसाधन सञ्चालन हुँदा घन्टौंसम्म जाम हुने गरेको चालक बताउँछन्।
‘सडक निर्माणको नाममा एकातर्फको सडक महिनौंसम्म बन्द गरिँदा अर्कोतर्फको सडकमा झनै ठूला खाडल थपिएका छन्, सडकको बीचमा परेका खाडलमा पानी जम्ने र त्यहीँ गाडी फस्ने गर्दा जाम बढिरहेको छ,’ मोटरसाइकल चालक बुटवल देवीनगरका प्रकाश बिष्टले भने।
उनले ६ वर्षसम्म सडक अलपत्र राखेको ठेकेदार कम्पनीले सडक निर्माणको नाममा फेरि एक महिनादेखि एकतर्फी सडक बन्द गरेर यात्रुलाई अन्याय गरेको बताए। उनले बुटवलको मुख्य बजार क्षेत्रमा एक महिनादेखि एकतर्फी सडक बन्द गरेर निर्माण कार्य अगाडि नबढाउँदा पनि सडक आयोजना र बुटवल उपमहानगरपालिकाले कुनै पहल नगरेको गुनासो गरे।
‘सडक निर्माणको काम अगाडि बढेको छैन भने सडक बन्द गरिएको छ, एकातर्फको सडक बन्द हुँदा सडक अस्तव्यस्त बनेको छ,’ उनले भने।
साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ चैत १७ गते ठेक्का सम्झौता गरिएको सडकमा ६ वर्षमा बल्ल ३० प्रतिशत मात्रै काम भएको छ। समयमा काम सम्पन्न नहुँदा सडकमा परेका खाडलमा वर्षाको पानी जम्मा भएर सडक झनै अस्तव्यस्त बनेको छ।
बिहान ९ देखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म राजमार्ग चौराहदेखि ट्राफिक चोक र तिनाउ पुलसम्म नियमित रूपमा सवारी साधनको जाम हुने गरेको छ।
भत्किएको र अस्तव्यस्त सडकमा सवारी साधनको जामसँगै फितलो ट्राफिक व्यवस्थापन र अव्यवस्थित पार्किङले बुटवलको मुख्य बजार नै कुरूप बन्दै गएको छ।
एकातिर सडकको बिग्रिएको अवस्था अर्कातिर निर्माणको लागि भन्दै एकातर्फको सडक बन्द गरिँदा सवारी साधनको चाप बढेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन खाणले सडक निर्माणको क्रममा एकतर्फी रूपमा सवारी साधन सञ्चालन हुँदा सवारीसाधनको जाम बढेको बताए।
खाणले सडकमा सवारी साधनको जाम बढेपछि ती स्थानमा ट्राफिक प्रहरीलाई परिचालन गरेर सवारी आवागमनलाई सुचारू गराउने प्रयास गरिरहेको बताए।
‘सडक निर्माणको काम ढिलो भएको कारण सडक अस्तव्यस्त बनिरहेको थियो, त्यसैमाथि केही दिनयता पश्चिमतर्फ पिच गर्ने भनेपछि एकतर्फी रूपमा सञ्चालन गर्नुपर्ने बाध्यता छ,’ उनले भने।
निर्माण कम्पनीले सबैभन्दा बिग्रिएको बसपार्कदेखि पुष्पलाल पार्कसम्म सडक भदौको पहिलो साताभित्र कालोपत्रे गर्ने भन्दै सडक आयोजनासँग लिखित सम्झौता गरेको भए पनि दुई दिन काम गरेपछि फेरि रोकिएको छ।
राजमार्ग चौराहदेखि मिलन चोक, अस्पताल लाइन, ट्राफिक चोक, गोलपार्कसम्म नै मुख्य सडकमा ठूलाठूला खाडल परेका छन्। सर्वसाधारणको दबाबपछि निर्माण कम्पनीले बालुवा हालेर खाडल पुरेजस्तो गरे पनि पानी परेपछि जस्ताको तस्तै हुने गरेको छ।
बेलहिया-बुटवल व्यापारिक मार्ग विस्तार आयोजना र निर्माण कम्पनीको लापरबाहीको कारण बुटवलको व्यस्त बजारको मुख्य सडक अस्तव्यस्त बनेको छ। घाम लाग्दा धुलो उडेर सेतै हुने सवारी साधन र यात्रुहरू पानी पर्नासाथ हिलाम्मे हुने गरेका छन्।
सडकभरि परेका खाडलमा जमेको पानीले पोखरी बन्दा दैनिक चार-पाँच वटा सवारी साधन बुटवल बजारभित्रै दुर्घटनामा पर्ने गरेका छन्। प्रहरी नायब उपरीक्षक खाणले भत्किएको सडकका कारण दुई पांग्रे सवारी साधन दुर्घटना हुने क्रम बढेको बताए।
२०७३ सालमा निर्माणको लागि ठेक्का लिँदा २०७६ साल असोज १२ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीले विभिन्न बहानामा समय थप्दै आएको थियो। घरधनीहरूको पटक-पटकको अवरोध र मुद्दाका कारण काम अगाडि बढ्न नसकेपछि तेस्रो पटक गरी २०७९ साल असार मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी म्याद थप भएको थियो।
असार मसान्तमा ठेक्का अवधि सकिनै लाग्दा असार २० गते सार्वजनिक खरिद ऐनको १२ औं संशोधनमार्फत् ठेक्का लिएर पनि वर्षौंदेखि अलपत्र योजना छोड्ने ठेकेदार कम्पनीलाई ठेक्का अवधि थप गर्ने बाटो खोलिएको थियो। निर्माण कम्पनीले सार्वजनिक खरिद ऐनको १२ संशोधनको फाइदा उठाउँदै ठेक्का अवधि थप गर्न विभिन्न किसिमले सडक विभागमा दबाब र प्रभाव दिइरहेको छ।
सार्वजनिक खरिद ऐनको १२ औं संशोधनमा गरिएको व्यवस्थाअनुसार असार मसान्तसम्म निर्माण कार्य पूरा गर्ने गरी ठेक्का सम्झौता गरिएको आयोजनाको ठेक्का अवधि अझै एक वर्ष थप्न मिल्ने प्रावधान राखिएको छ।