कमेडियन अपूर्वक्षितिज सिंह अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।
नेवा समुदायको भावनामाथि चोट पुग्ने गरी व्यंग्य गरेको भन्दै उनीविरूद्ध अभियन्ताहरूले परिसरमा जाहेरी दिएका थिए। आफूविरूद्ध जाहेरी परेको थाहा पाएपछि आइतबार बिहान अपूर्व आफैं परिसरमा पुगेका हुन्।
उनीविरूद्ध अभियन्ताहरूले विभिन्न शीर्षकमा जाहेरी दिएका छन्। प्रहरीले भने उनीमाथि अहिले मुलुकी अपराध संहिता, २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५ अनुसार अनुसन्धान गरिरहेको छ। यो दफामा सामाजिक रीति स्थितिमा खलल पार्न नहुने व्यवस्था छ।
यो कसुरमा दोषी ठहर भएमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ।
सिंहलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति पाएको छ। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले यस विषयमा अनुसन्धान भइरहेको बताएका छन्।
‘यसमा हामीले अनुसन्धान गरिरहेका छौं। अहिले केही भन्न सकिन्न,’ उनले भने, ‘जाहेरी अन्य विषयमा पनि आएको छ। हामीले अध्ययन गरिरहेका छौं।’
कमेडियन सिंहले कुनै समय गरेको स्ट्यान्डअपको भिडिओ गत शुक्रबार कमेडी क्याफे नामको युट्युब च्यानलमा हालिएको थियो। उक्त भिडिओमा उनले ‘नेवारको परम्परा’ शीर्षकमा व्यंग्य गरेका थिए।
भिडिओ हालेको २४ घन्टा नबित्दै त्यसको विरोध भयो, आलोचना भयो। नेवा समुदायका अभियन्ताहरूले त्यसको विरोध गरे। अपूर्वले नेवा समुदायको भाषा, खाना, संस्कृतिमाथि प्रहार गरेको भन्दै एउटा समूहले उनको चर्को आलोचना गर्यो।
विरोध भएपछि कमेडी क्याफेको युट्युबबाट भिडिओ शनिबार नै हटाइयो। नेवा समुदायमाथि चोट पुगेको भन्दै सिंहले माफी मागे।
उनले फेसबुक लेखेका छन्, ‘मैले यो भिडिओका कारण धेरै मेसेज र कल पाइरहेको छु। नेवा समुदायकै केही साथीहरूले भिडिओ राम्रो लाग्यो पनि भन्नुभएको छ र केहीले चित्त दुखाउनु पनि भएको छ। कमेडियनलाई कुन शीर्षकमा कमेडी गर्ने र नगर्ने भनेर सिकाउनुभन्दा पनि उसको मनसाय के हो बुझिदिँदा राम्रो हुन्थ्यो होला। मेरो मनसाय हँसाउने हो।’
उनले आफ्नो मनसाय हँसाउने मात्रै भएको र आफूले नेवा समुदायको बारेमा राम्रा कुराहरू पनि बोलेको बताए।
नेवारी खानेकुरा क्या मीठो हुन्छ, नेवारी केटी राम्रा हुन्छन्, नेवारले बोलेको मनपर्छ, नेवारी संस्कृतिलाई नेपाली सिनेमाले राम्ररी देखाइरहेको छैन, नेवारको भोज बबाल हुन्छ जस्ता कुराहरू पनि बोलेको भन्दै उनले जिकिर गरेका छन्। भिडिओमा आफ्नो समुदायलाई पनि उडाएको उनको भनाइ छ।
‘कसैलाई हाँसो लाग्न पनि सक्छ, नलाग्न पनि सक्छ। त्यसको लागि म सरी भन्न चाहन्छु, कसैलाई चित्त दुखेको भए माफ गरिदिनुहोला,’ उनले लेखेका थिए।
उक्त विषयलाई जोक जसरीमात्रै लिइदिन उनले अनुरोध गरे। तर त्यो विषय यही टुंगिएन। माफी दिन नसकिने भन्दै अभियन्ताको समूहले उनीविरूद्ध जाहेरी दिन प्रहरी परिसरमा पुगे। नाराबाजी गरे। सिंहलाई कारबाही गर्न माग गर्दै निवेदन दर्ता गराएर उनीहरू फर्किए।
दबाब बढेसँगै सिंहले फेसबुकमा एउटा भिडिओ हालेर माफी मागे। आफूले धेरै रिसर्च गर्न नसकेको पनि स्वीकारे र आइन्दा त्यसमा पनि ध्यान पुर्याउने बताए।
त्यसपछि पनि उनीमाथि गालीगलौज गर्ने, कुटपिट गर्ने, ज्यान मार्ने सम्मको धम्की दिने क्रम रोकिएन।
आइतबार नै उनले आफू कतै नभागेको र सधैँ कमेडी गरेकै आधारमा ज्यान मार्ने धम्कीसम्म खेप्नुपर्ने भएको भन्दै फेसबुकमा लेखेका छन्।
‘अहिले सोच्दा लाग्छ, थुक्क किन मान्छे हँसाउन हिँडिरा छु। जोक लेख्न गाह्रो, मान्छे हँसाउन गाह्रो, इभेन्ट गर्न प्रायोजक पाउन गाह्रो, अनि अन्तिममा दर्शकबाट के पाइयो त? हरेक मिनेट फेसबुक, इन्स्टाग्राम मेसेजमा ज्यान मार्ने धम्कीहरू,’ उनले लेखेका छन्, ‘के रहेछ त भ्यालु कमेडियनको यो देशमा!’
उनले थपे, ‘दियोमुनि अध्याँरो हुन्छ भन्छन् नि, हो रहेछ। हँसाउने मान्छेको जिन्दगीमा दु:ख र आँशु मात्रै हुने रहेछ।’
कमेडियनले व्यंग्य गरेकै भरमा मुद्दा चलाएर सिंहलाई पक्राउ गरेपछि धेरैले त्यसको विरोध जनाएका छन्। कतिपयले माफी मागिसकेपछि यो कुरा टुंग्याउनु पर्ने पनि तर्क गरेका छन्।
सिंहको पक्राउले कमेडी गरेकै भरमा कसैमाथि मुद्दा चलाउनुहुन्छ वा हुन्न भन्ने बहस सिर्जना गरेको छ।
गायक योगेश्वर अमात्य नेवारहरूमाथि व्यंग्य गरेकै आधारमा यसरी कमेडियनलाई हिरासतमा राख्नुपर्ने कारण नदेखेको बताउँछन्।
‘म स्ट्यान्डअप कमेडियनलाई नेवार समुदायमाथि कमेडी गरेकै भरमा हिरासतमा थुन्नुपर्ने कुनै कारण देख्दिनँ। नेवारहरूमा अलि स्वीकार्यता र फराकिलो मानसिकता आवश्यक छ,’ उनले भने, ‘कमेडियनको पक्षमा वकालत गर्दैगर्दा उनले नेवारहरूबारे अलि रिसर्च भने गर्नुपर्छ भन्ने लाग्छ। भक्तपुर नेवारी शब्द होइन। नेवारहरूले भक्तपुरलाई अहिले पनि ख्व:प भन्छन्। नेवार किशोरीहरूले बेलसँग विवाह गर्ने होइन। सुवर्ण कुमार (भगवान नारायण)सँग गर्ने हो। बेल साक्षी मात्रै हुने हो।’
अभियन्ता सुमन सायमीले भने सिंहको खुलेर विरोध गरेका छन्। सायमी गएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार थिए। सिंहले गरेको कमेडीले समुदायमाथि नै प्रहार गरेको उनको भनाइ छ।
‘आज हाम्रो समुदायमाथि प्रहार गर्यो। भोलि फेरि अर्को समुदायमाथि प्रहार गर्ला। यसले सामुदायिक सद्भाव भत्काउँछ,’ सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘हाम्रो भाषा, खाना, महिला, ठाउँ सबैलाई लक्षित गरी प्रहार गरेको छ। उनीमाथि र यो कमेडी क्याफेका सञ्चालकमाथि कारबाही हुनुपर्छ।’
स्ट्यान्डअप कमेडियन आयुष श्रेष्ठले भने यसरी कमेडी गरेकै आधारमा पक्राउ गर्न नहुने धारणा व्यक्त गरेका छन्। उनी यो विषय वाक स्वतन्त्रता भित्र पर्ने तर्क गर्छन्। अपूर्व क्षितिज सिंहले भनेका जोकहरू नराम्रा, ‘अफेन्सिभ’, रिसर्च नपुगेको हुनसक्ने तर यतिमै कसैलाई हिरासतमा राख्न जरूरी नभएको उनले बताए।
‘अपूर्वले भनेका जोकहरू नराम्रा, अफेन्सिभ, रिसर्च नपुगेको होलान्। कतिपय कुरा धेरै मान्छेलाई अफेन्सिभ लाग्छ, त्यही कुरा धेरैलाई नलाग्न पनि सक्छ। धेरै कुरा म आफैंलाई पनि चित्त बुझेको छैन,’ उनले भने,‘तर चित्त बुझेको छैन भन्दैमा कानुनी प्रक्रिया अघि बढाउनु ठीक हुँदैन। किनकी कमेडी गर्दा कसैलाई कारबाही गर्यो भने नजिर राम्रो बस्दैन।’
हिंसा भड्काउने, घृणा फैलाउनेजस्ता काम गर्न नहुने भए पनि सिंहले त्यस्तो नगरेको उनको दाबी छ। सिंहले बोलेका कुराहरू ठीक/बेठीक तिर लाग्नुभन्दा पनि बोलेकै भरमा थुन्नु गलत हुने उनी बताउँछन्।
यसअघि पनि कमेडियनले सिनेमा समीक्षा गरेकै कारण पक्राउ गरेको घटना पनि उनले सम्झिए। कमेडियन प्रनेश गौतमलाई पनि प्रहरीले 'वीर विक्रम २' समीक्षा गरेबापत् साइबर अपराधको अभियोगमा २०७६ जेठमा पक्राउ गरेको थियो।
स्ट्यान्डअप कमेडी लाइभ गर्दा र भिडिओ हाल्दा फरक खालको प्रतिक्रिया आउने गर्दा पनि यस्ता समस्याहरू आउन थालेको श्रेष्ठ बताउँछन्।
‘स्ट्यान्डअप वर्षौंदेखि गरिरहेका छौं। हामी ठाउँठाउँमा गएर मान्छेकै अगाडि जोकहरू भनिरहेको हो। अपूर्वले पनि मानिसहरूको अगाडि नै गरेको हो। त्यहाँ धेरै समुदायका मानिसहरू पनि छन्,’ उनले भने,‘लाइभ गर्दा एउटा सम्बन्ध बनिसकेको हुन्छ। यो मान्छे जिस्किन आएको भन्ने हुन्छ। हाम्रो मनसाय पनि यही नै हो र भिडिओमा जाँदा भने घृणा फैलाउन खोज्दैछन् भनेर सोच्छन्। हामी साथी बनेर जिस्किरहेको मात्रै हो।’
उनले थपे, ‘हाम्रा समुदायमा मानिसहरू असहिष्णु हुँदै गइरहेको भन्ने देखिन्छ। असन्तुष्टिहरू होलान् तर त्यो असन्तुष्टि देखाउने ठाउँ अन्त नै हो। यसरी कमेडियनहरूमाथि खनिनु हुन्न। कमेडी जस्तो झिनो कुरामा खनिनु हुन्न जस्तो लाग्छ।’
कुनै पनि समुदाय वा व्यक्तिहरूमाथि लक्षित गरी घृणा फैलाउने उद्देश्य नभए पनि त्यसरी बुझ्ने गर्दा समस्या उत्पन्न भएको उनले बताए।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले भने सिंहको विरोध गरेका छन्। कलाकारको काम सबै समुदायलाई मिलाउने हुनुपर्ने उनको भनाइ छ।
‘हामी कलाकारहरूको काम सबै समुदायलाई मिलाउनु हो। देशलाई एक ढिक्का बनाएर राम्रोसँग अगाडि बढाउनु हो। त्यस्ता कुरालाई प्रोत्साहन हुने खालको हुनुपर्छ,’ उनले सेतोपाटीसँग कुरा गर्दै भने, ‘समुदायलाई फुटाउने, चित्त दुखाउने, क्षेत्रीय आक्षेप लगाउने, अपांगता भएका व्यक्तिलाई चोट पुर्याउने खालका शब्दहरू प्रयोग गर्न हुँदैन। यो वाइयात नै छ। सुन्नै नसकिने खालको छ।’
आफूहरूले व्यंग्य गर्दै आएको भए पनि यस भिडिओमा भने समुदायलाई नै चिढ्याउने खालको भएको उनले बताए। आयोजकहरूले पनि यस्ता विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
स्ट्यान्डअप कमेडियन सीता न्यौपाने सिंहले हिरासतमै राख्नुपर्ने गल्ती नगरेको बताउँछिन्।
गल्ती भइहाले पनि एक पटक सुध्रिने मौका भने दिनुपर्ने उनको भनाइ छ।
‘फ्रिडम अफ स्पिच भन्ने कुरा पनि छ। तर बुलिङ पनि हुनुहुन्न। कमेडी गरेर माफी मागिसक्दा पनि पक्राउ नै गर्नुपर्ने जस्तो मलाई लाग्दैन। एकचोटी सुध्रिने मौका दिनुपर्छ,’ उनले भने, ‘गल्ती त हुन्छ। तर सुरूमै जेल हाल्न हुन्न।’
कमेडी गरेकै कारण कोही पक्राउ परेपछि भोलि कमेडी गर्दा पनि डराउनुपर्ने अवस्था आउने उनले बताइन्।
यसअघि कमेडी हबमा न्यौपानेले नै गरेको एउटा हाँस्य नाटकमा पनि विरोध भएको थियो। महादेवमाथि व्यंग्य गरेको भन्दै उनको आलोचना भएको थियो। पछि यस विषयमा कमेडी हबका निर्देशक केदार घिमिरेले माफी समेत मागे।
‘म पनि हिन्दु नै हो। शिवलाई म पनि पुज्छु। तर त्यसमा विरोध भयो,’ न्यौपानेले भनिन्, ‘विदेशमा क्याथोलिकहरूलाई, जिजसहरूलाई पनि व्यंग्य गरिरहेका हुन्छन्। त्यो त मनोरञ्जनको पाटो हो। तर फेरि उनीहरू आफैंले पनि पुज्नुपर्ने हो कि मान्नुपर्ने हो त्यो गरिरहेका हुन्छन्। अलिकति उदारता पनि चाहिन्छ। हामीले पनि अरूको सेन्टिमेन्ट पनि हर्ट गर्नुभएन तर सुध्रिने पनि मौका चाहिन्छ।’