गत मंगलबार (साउन २४ गते) राती साढे १२ बजे काठमाडौंको कीर्तिपुरस्थित एक घरमा डकैती भयो।
कीर्तिपुर नगरपालिका-४ का ७४ वर्षीय नारायण बस्नेतको घरमा ४-५ जनाको समूहले ढोका फोडेर भित्र पसे। बस्नेत भएको ठाउँमा पुगेर खुकुरी देखाए। बस्नेत राम्ररी कान पनि सुन्दैनन्। बस्नेत आफ्नी श्रीमती र बहिनीसँग बस्थे। उनीहरू सबै जना ७० वर्ष माथिका हुन्।
मध्यराती घरभित्र पसेका ती ४-५ जनाले भने- हल्ला नगर्नू, हामी केही पनि गर्दैनौं।
त्यसो भनेपछि उनीहरू पनि चुप लागेर बसे।
‘४-५ जना आएका थिए। हामीलाई खुकुरी देखाए। केही पनि गर्दैनौं भने,’ बस्नेतले भने, ‘मैले कान सुन्दैन भन्ने पनि थाहा रहेछ। मेरी श्रीमती बिरामी छिन् भन्ने पनि थाहा रहेछ। उनीहरूले घरमा भएको सबै सम्पत्ति लगे।’
बस्नेतको घरबाट उनीहरूले नगद तथा २९ तोला बराबरका सुनका गरगहना लिएका थिए। लुटेराहरू गएपछि बस्नेतले छिमेकी गुहारे। त्यसपछि राती नै प्रहरी वृत्त कीर्तिपुरलाई फोन गरे।
घटनास्थलमा पुग्दा चोरी गर्ने व्यक्तिहरू फरार भइसकेका छन्। उनीहरूले एउटा खुकुरी भने घटनास्थलमै छाडेर हिँडेका थिए।
प्रहरीका अनुसार बस्नेतको घरबाट एक लाख ५० हजार रुपैयाँ, अन्दाजी ११ तोला सुनका सात वटा चुरा, पाँच तोला सुनका दुई वटा सिक्री, छ तोला सुनका ९ वटा औंठी, दुई तोला सुनका एउटा नवरत्न लकेट, पाँच तोला सुनका नौ वटा टप चोरी भएको थियो।
दुई वटा हिराका औंठी र तीन वटा हिराको नवरत्न जडान गरिएको तीन वटा औंठी चोरी भएको हो।
यस घटनामा प्रहरी वृत्त कीर्तिपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त रूपमा अनुसन्धान गरिरहेको थियो।
एक हप्तापछि प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जना, जिल्ला प्रहरी परिसर काठमाडौंले एक जना र जिल्ला प्रहरी कार्यालय काभ्रेले एक जनालाई पक्राउ गरेको हो।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ तालामाराङ घर भई काठमाडौंको नयाँ बस्ती बस्ने ३८ वर्षीय रामसिंह तामाङ, मकवानपुर बागमती गाउँपालिका-८ घर भई जोरपाटी बस्ने ३८ वर्षीय दिलबहादुर सिङतान र मकवानपुरकै बकैया-५ घर भई जोरपाटी बस्ने ३५ वर्षीय सुशील भन्ने बाबुलाल थिङलाई प्रहरीले पक्राउ गरेको हो।
यी तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
यस्तै काठमाडौंको स्वयम्भू भगवानपाउ बस्ने २६ वर्षीय रोशन तामाङलाई परिसर र सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भई बौद्ध बस्ने मिलन तामाङलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ।
प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरूले कीर्तिपुरमा मात्रै डाँका मारेका भने होइनन्।
यही समूहले विभिन्न घरमा डाँका मारेको खुलेको छ। डाँका मार्न जाँदा उनीहरू मध्यराती जान्थे। हातहतियार देखाएर धम्क्याएर सबै लुटेर फरार हुन्थे।
उनीहरूले असार ६ गते काठमाडौंको शंखरापुर नगरपालिका-९ खुलालटारस्थित लालबहादुर थापाको घरमा भएको नगद, सुन-चाँदीका गरगहना तथा मोबाइल गरी जम्मा दुई लाख ४१ हजार रुपैयाँ बराबरको डकैती गरी भागेका थिए।
असार १२ गते शंखरापुर-९ की सुशीला थापाको घरमा पनि त्यसैगरी ६ लाख ५ हजार ७५० रुपैयाँ बराबरको डकैती गरे। असार २० गते बनेपा नगरपालिका-११का सलामसिंह लामाको घरबाट १२ लाख ४९ हजार बराबरको डकैती गरेको खुलेको हो।
पछिल्लो समय यसरी नै काठमाडौंको कीर्तिपुरबाट पनि ५६ लाख ६५ हजार १२४ रुपैयाँ बराबरको डकैती भएको हो।
प्रहरीको अनुसन्धानबाट उनीहरूले घरभित्र प्रवेश गरी हातहतियार देखाएर परिवारलाई नियन्त्रणमा लिने गरेको देखिन्छ। उनीहरूले हात खुट्टा बाँधेर, मुखमा समेत टेप लगाइदिने गरेको खुलेको छ।
यसरी लुटपाट गर्न जानुअगाडि नै उनीहरूले घरको रेकीसमेत गर्ने गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।
उनीहरूले कहिले आफूहरू प्रहरी, सशस्त्र प्रहरी हो भनेर घर प्रवेश गरेर खानतलासी लिन्थे त कहिले घरको टिभी बिग्रिएको छ भने त्यसभित्र बहुमूल्य चिज हुने भन्दै प्रवेश गर्थे।
त्यसरी घर भित्रका कोठा, ढोकालगायत के-कस्तो छ भन्ने समेत जानकारी लिने गर्थे।
अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार कीर्तिपुरको घटनामा पनि पीडित बस्नेतको बारीमा रहेको मकै भाँचिदिने भन्दै आएका थिए।
‘केही दिनअघि मकैबारीमा रहेको मकै भाँचिदिन्छु भन्दै आएको खुल्यो। त्यसरी आएर पहिल्यै घरको रेकी गरेर गएको देखियो,’ ती प्रहरीले भने।
प्रहरीले पक्राउ परेका उनीहरूबाट एक लाख ४२ हजार १०५ रुपैयाँ, ८० भारू, पाँच वटा मोबाइल, मोटरसाइकल र एउटा खुकुरी बरामद गरेको छ।
डाँका मुद्दामा पक्राउ परेका उनीहरूको समूह पहिलो पटक अपराधमा संलग्न भएको भने होइन। उनीहरू यसअघि पनि कर्तव्य ज्यान, डाँका, चोरीलगायत अपराधमा पक्राउ परिसकेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए।
‘उनीहरूले अहिले मात्रै अपराध गर्न सुरू गरेका होइनन्। पहिले पनि जघन्य अपराधमा संलग्न भएर जेल सजाय भोगिसकेका हुन्,’ उनले भने, ‘जेलमा चिनजान भएका उनीहरूले फेरि बाहिर आएर डकैती गर्न सुरू गरे।’
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार यो समूहको चिनजान नख्खु र केन्द्रीय कारागारमा बस्दा चिनजान भएको थियो।
पक्राउ परेका दिलबहादुर तामाङलाई प्रहरीले २०६८ सालमा ललितपुरबाट खुन डाँका मुद्दामा पक्राउ गरेको थियो। उनी १० वर्ष जेल बसेर २०७८ साल पुसमा छुटेका थिए।
२०६३ सालमा मानवबेचबिखन मुद्दामा रामसिंह तामाङलाई भक्तपुरबाट पक्राउ गरेको थियो। उनी २०७४ सालमा जेलबाट छुटेर बौद्धको नयाँबस्तीमा रक्सी पसल सञ्चालन गरी बसेका थिए।
सुशील थिङ भने रामसिंहका साथी हुन्। उनी पनि जेल भुक्तान गरी छुटेपछि हेटौंडामा टेम्पो चलाएर बसेका थिए।
उनलाई रामसिंहले काम छ भन्दै पटक-पटक फोन गरी काठमाडौंमा बोलाएको खुलेको प्रहरी उपरीक्षक कोइरालाले बताए।
प्रहरीका अनुसार यो डकैती गर्ने समूहमा अझै पाँच जना छन्। उनीहरू फरार छन्। ती फरार भएका एक जना व्यक्तिले नै सुन बेचेर एक जनालाई रकम दिइसकेको पनि खुल्यो। तर अरूलाई भने दिइसकेका थिएनन्।
उनीहरूको खोजी भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।