आठ वर्षसम्म पुलको काम नगरी अलपत्र पार्ने ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोडेर अर्कै कम्पनीलाई निर्माणको जिम्मा दिएपछि भैरहवा-लुम्बिनी सडकखण्डको तिनाउ र डण्डा नदीका दुइटा पुलको निर्माणको काम अगाडि बढेको छ।
हुलाकी राजमार्ग अन्तर्गत अत्यन्त व्यस्त रहने यो सडकखण्डका दुइटै पुलको निर्माणको लागि पप्पु कन्स्ट्रक्सन र बागमती निर्माण सेवाले ठेक्का सम्झौता गरेका थिए। तीन वर्षमै सक्ने गरी २०७१ साल असार २५ गते ठेक्का सम्झौता गरिए पनि आठ वर्षसम्म आधा पनि काम नगरी अलपत्र छोडेपछि ठेक्का सम्झौता तोडिएको थियो भने सरकारले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिसकेको छ।
पुलका लागि खोलामाथि तीन वटा पिल्लर ठड्याएर ढलान गरिए पनि दुबैतर्फ वारिपारि नजोडी अलपत्र छोडिएको पुलको बाँकी निर्माणको लागि रमण रियल होम इन्फोटेक जेभी ललितपुरले ठेक्का सम्झौता गरी काम अगाडि बढाएको छ।
पुलको बाँकी रहेको कामको लागि गत पुसमा ठेक्का सम्झौता गरेको रमणले काम सुरू गरिसकेको हुलाकी सडक आयोजना कपिलवस्तुले जनाएको छ।
आयोजनाका प्रमुख विष्णुबाबु पाण्डेले अघिल्लो ठेक्का टर्मिनेट गरी नयाँ ठेक्का सम्झौतापछि दुइटा पिल्लरको जगको काम भइसकेको र वर्षाका कारण पछिल्लो एक महिना काम रोकिएको जानकारी दिए।
तिनाउ र डण्डा दुबै पुलको बाँकी कामको लागि रमण रियल होम इन्फोटेकसँग १० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको प्रमुख पाण्डेले बताए।
पाण्डेका अनुसार पप्पु कन्स्ट्रक्सन र बागमती निर्माण सेवासँग भने बैंक ग्यारेण्टी र धरौटी रकम जफतसँगै जरिवाना समेत लगाएर ठेक्का टर्मिनेट गरिएको थियो।
२०७१ सालमा तिनाउ खोलाको पुल निर्माणका लागि पप्पु कन्स्ट्रक्सन र बागमती निर्माण सेवासँग भ्याटसहित ६ करोड दुई लाख ५६ हजार दुई सय १२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। जसमध्ये निर्माण कम्पनीले तीन करोड १६ लाख ९८ हजार पाँच सय ५० रुपैयाँ अर्थात् ५३ प्रतिशत भुक्तानी लगिसकेको थियो।
त्यस्तै, दानव नदीको डण्डा पुलको लागि भ्याटसहित पाँच करोड ५६ लाख ८० हजार एक सय १५ रुपैयाँमा ठेक्का सम्झौता भएकोमा निर्माण व्यवसायीले दुई करोड ४० लाख १४ हजार ३१७ रुपैयाँ अर्थात् ४३ प्रतिशत भुक्तानी लगिसकेको थियो।
भौतिक प्रगति भने भुक्तानी लगेको रकमभन्दा कम रहेको थियो। तिनाउ पुलको करिब ५० प्रतिशत र डण्डातर्फको पुलको २५ प्रतिशतमात्रै काम गरेको थियो। तर आठ वर्ष पहिले ठेक्का सम्झौता गरिएको र अघिल्लो कम्पनीले काम गरेभन्दा बढी भुक्तानी लगिसकेकोले बाँकी रहेको कामलाई भने रकम बढाएर ठेक्का सम्झौता गरिएको हो।
पुरानो सम्झौता अनुसार दुइटै पुलको लागि ६ करोड २ लाख २३ हजार ४ सय ६० रुपैयाँमात्रै भुक्तानी गर्न बाँकी रहेकोमा १० करोडमा ठेक्का सम्झौता भएको हो।
हुलाकी राजमार्ग आयोजना कपिलवस्तुका साइट इन्जिनियर युवराज पाण्डेले आठ वर्ष पहिलेको लागत इष्टिमेट र अहिलेको लागत इष्टिमेट स्वाभाविक रूपमा धेरै हुने भएकोले ठेक्का रकम पनि बढेको बताए।
उनले ठेक्का सम्झौता अनुसार रकम बढेको देखिए पनि अघिल्लो निर्माण कम्पनीलाई लगाइएको जरिवाना, बैंक ग्यारेण्टी र धरौटी समेत जफत गरिएकोले बढेको रकमलाई त्यसैले पूर्ति गर्ने बताए।
‘झट्ट हेर्दा त पुलको लागत बढेको देखिन्छ, तर बढेको रकम अघिल्लो कम्पनीबाट लिइने जरिवाना र धरौटी रकमबाट पूर्ति हुने भएकोले आयोजनालाई आर्थिक भार थपिएको छैन,’ पाण्डेले भने।
गत पुस महिनामा ठेक्का सम्झौता गरिएको दुई वटै पुलको बाँकी काम दुई वर्षभित्रमा पूरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
इन्जिनियर पाण्डेले सम्झौतामा तोकिएभन्दा छिट्टै पुलको काम सम्पन्न हुने बताए।
‘नयाँ ठेक्का लिएको कम्पनीलाई पुलको बारेमा धेरै जानकारी छ, आगामी असार महिनाभित्रै दुइटै पुलको काम पूरा गर्छु भनेको छ,’ उनले भने।
भैरहवा हुँदै लुम्बिनी जाने प्रमुख सडकमा रहेका दुइटै पुल वर्षौंसम्म अलपत्र रहँदा लुम्बिनी जाने पर्यटक तथा यात्रुहरूले सास्ती भोग्दै आएका छन्।
भैरहवा–लुम्बिनी सडक निर्माणको काम पूरा भए पनि पुलको काम पुरा नहुँदा पुलमा सधैं सवारी साधनको जाम हुने गर्छ। साँघुरो, वर्षौं पुरानो र जीर्ण रहेको पुलमा सवारी साधन दोहोरो सञ्चालन हुन सक्दैनन्। जसले गर्दा सधैं सवारी जाम हुने गरेको छ भने प्रहरीलाई गाडी पास गराउन सास्ती हुने गरेको छ।