भारतमा सुन चोरी गरेको घटनामा चार जना नेपाली पक्राउ परेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।
बुधबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको थियो।
मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको आरए ४०१ जहाजबाट एक जनालाई पक्राउ गरेको थियो।
प्रहरीले धनगढी उपमहानगरपालिका-२ का सन्तोषकुमार लामिछानेलाई पक्राउ गरेको थियो। उनी आफ्नी श्रीमती र साथीहरूसँग भारतमा हुन लागेको कार्यक्रमको लागि सहभागी हुन जाँदै थिए।
तर कैलाली प्रहरीले उनी भाग्न लागेको भनेर प्रहरी प्रधान कार्यालयलाई जानकारी दिएको थियो। सो सूचना पाएपछि प्रधान कार्यालयको विशेष ब्युरोको टोली खटिएको थियो।
सो टोलीले उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको विमान रोकेको थियो। त्यसमा चालक दलसहित १४१ जना यात्रु थिए। विमान रोकेर लामिछानेलाई विमानबाट झारेर पक्राउ गरी बुधबार नै कैलाली लगिएको थियो।
उनीमाथि बिहीबार अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गर्न म्याद थप गरेको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए।
उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।
अहिले पक्राउ परेका चार जनामाथि भारतको पन्जाबमा सुन चोरी गरेको घटनामा संलग्न रहेको आरोप छ। यसमा कैलालीले यसअघि नै तीन जनालाई पक्राउ गरेको थियो।
‘हिजो एक जना काठमाडौंबाट समातिएका हुन्। तीन जना अगाडि नै पक्राउ परिसकेका थिए,’ जोशीले सेतोपाटीसँग भने।
उनीहरूको प्रहरीले परिचय खुलाएको छैन। तीन जनामध्ये दुई जना सुन व्यवसायी नै रहेको र एक जना चोरीमा संलग्न भएको प्रहरीको भनाइ छ।
उनीहरूले पन्जाबमा एक करोडभन्दा बढी मूल्यका गरगहना चोरी गरेको जोशीले बताए।
यताका व्यवसायीहरूले चोरी गरेर ल्याएका सुन सस्तोमा किनेर व्यवसायीहरूले बेच्ने गरेको खुलेको हो।
‘यहाँबाट म चोर्न जाँदैछु भनेर खबर गरेपछि पसलेहरूले अगाडि नै लगानी गरिदिने ट्रेन्ड पनि छ। तर अहिले पक्राउ परेका मानिसहरूले त्यो गरे/गरेनन् भन्ने अनुसन्धानकै विषय छ,’ जोशीले भने, ‘चोरेर ल्याएपछि यता पसलेले सस्तोमा किन्ने गरेको चाहिँ हो। उनीहरूले संगठित रूपमै काम गरिरहेको देखियो।’
यसमा अरूको पनि संलग्नता भएको प्रहरीको भनाइ छ। थप मानिस पनि खोजी भइरहेको कैलाली प्रहरीले जनाएको छ।
घटना भारतमा भएको हो। तर नेपालीहरूको संलग्नता रहेको खुलेपछि भारतीय प्रहरीले नेपाल प्रहरीलाई पत्राचार गरी अनुसन्धान गरिदिनु भनेर पत्र पठाएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए। उनीहरूले डेढ महिनाअघि नै चोरी गरेका थिए।
तर भारतबाट पत्र आएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले २५ दिनयता यस घटनामा अनुसन्धान गर्दै आएको छ।
‘कहिलेकाहीँ राजदूतावासमार्फत् र इन्टरपोलमार्फत् पत्रहरू आउँछ। यस्तो केशहरूमा हामीले अनुसन्धानमा सघाउँछौं,’ उनले भने, ‘गम्भीर केशहरूमा भारतले पनि हामीलाई सहयोग गर्छ। समकक्षी भएको नाताले पनि हामी एकअर्कालाई सहयोग गरिरहेका हुन्छौं।’
यस घटनामा पनि अनुसन्धान गरिने उनले बताए। चोरी भएका सामानहरू फेला परेमा भने इन्टरपोलमार्फत् भारतलाई बुझाउन सकिने पनि उनले बताए।
यो पनि: मुम्बई जान जहाज चढिसकेका व्यक्ति किन समातिए विमानस्थलबाट?
नेपाल एयरलाइन्सको विमानबाट मुम्बई उड्न लागेका एक जना शंकास्पद व्यक्ति पक्राउ