काठमाडौंमा चिनियाँ नागरिकलाई अपहरण गर्ने दुई जना प्रहरीसहित ६ जना पक्राउ परेका छन्।
बुधबार राती प्रहरीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
पक्राउ पर्नेमा गोरखा आरूघाट गाउँपालिका-७ घर भई काठमाडौंको रानीबारी बस्ने ३७ वर्षीय कर्णबहादुर गुरूङ, धापासी बस्ने २८ वर्षीय लक्ष्मण गुरूङ र सर्लाही लालबन्दी नगरपालिका-११ घर भई मित्रनगरस्थित सिन्धुली गेष्ट हाउसमा बस्ने २१ वर्षीय रोहित मगर छन्।
यस्तै प्युठान नगरपालिका-८ बागदुला घर भई मित्रनगर बस्ने २८ वर्षीय विशाल मगर, नुवाकोट शिवपुरी गाउँपालिका-६ घर भई बानियाँटार बस्ने २७ वर्षीय विनोद केसी र बर्दिया राजापुर नगरपालिका-१० घर भई बालाजु बस्ने २८ वर्षीय शिव सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार कर्णबहादुर पाटन उच्च अदालतका एक न्यायाधीशका पिएसओ हवल्दार र शिव प्रहरी वृत्त बालाजुमा कार्यरत सहायक हवल्दार हुन्।
बुधबार राति करिब ७ बजे काठमाडौं-२६ कपुरधारास्थित सडकबाट ओखलढुंगा चिसाङ्खुगढी गाउँपालिका-५ चिसापानी घर भई बनस्थली बस्ने २६ वर्षीय सूर्यबहादुर राईलाई केही व्यक्तिहरूले बोलाएका थिए। उनी दोभासे हुन्।
राईलाई उनीहरूले आफू प्रहरी नै हौं भनेर चिनाएका थिए।
उनलाई केही व्यक्तिहरूले तपाईंसँग केही काम छ भनेर जबरजस्ती काठमाडौंको लाजिम्पाट लगेका थिए।
उनीहरूले राईलाई लाजिम्पाटको खरेल टोलस्थित रहेको एउटा घरमा लगेका थिए। जहाँ याङ याङ नाम गरेका चिनियाँ नागरिक थिए।
उनलाई पनि केही काम छ भनेर बोलाएर दुबैलाई लिएर गएको प्रहरी उपरीक्षक मैनालीले बताए।
करिब एक घन्टापछि चिनियाँ नागरिकलाई सुरक्षित लग्ने भए एक करोड रुपैयाँ लिएर आउनू भनेर अर्का चिनियाँसँग फिरौती मागे।
त्यसरी एक करोड फिरौती माग गरेको भन्ने खबर पाएपछि प्रहरीको टोली खटिएको थियो।
ती चिनियाँलाई प्रहरीले नै उठाएर लगेको भनेपछि हल्लाखल्ला भएको थियो। त्यसपछि प्रहरीले घटनाबारे थाहा पाएको हो।
तत्कालै जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष प्रहरी टोली, मातहत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्ज, मालीगाउँसमेतलाई पनि अलर्ट गरिएको थियो।
‘सुरूमा उनीहरूले एक करोड फिरौती मागे। त्यति छैन भनेपछि ५० लाख लिएर आइज भने। त्यति पनि छैन भनेपछि उसो भए ३० लाख लिएर आइज भनेका रहेछन्,’ स्रोतले भन्यो।
बार्गेनिङ भइरहेका बेला यता चिनियाँ नागरिक भने प्रहरीको सम्पर्कमा थिए। ती चिनियाँ प्रहरी सँगैसँगै हिँडेको स्रोतले जनायो।
त्यसपछि उनीहरूले बोलाएको ठाउँमा पुगेको हो।
‘पैसा दिन भनेर हिँडेका चिनियाँ हामीसँगै थिए। हामीले नै लिएर गएका थियौं। ठाउँ थाहा थिएन, हामीलाई त्यसैले उनको सहयोगमा त्यहाँसम्म पुग्यौं,’ स्रोतले भन्यो।
मध्यराति पौने १२ बजे अपहरणमा परेका याङ याङ र सूर्यबहादुर राईलाई काठमाडौं-२६ स्थित नयाँ बसपार्कस्थित मित्रनगरमा रहेको न्यू स्वर्गद्वारी प्युठान होटल एन्ड लजबाट उद्धार गरिएको प्रहरी उपरीक्षक मैनालीले बताए।
त्यसपछि प्रहरीले घटनामा संलग्न ६ जनालाई पनि नियन्त्रणमा लिएको हो। उनीहरूबाट प्रहरीले आठ लाख १४ हजार ९०० रुपैयाँ, एउटा हतकडी र २६ वटा मोबाइल फोन बरामद गरेको हो।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरू र चिनियाँ नागरिकबीच चिनजान थियो। प्रहरीले बरामद गरेको रकम पनि उनीहरूले चिनियाँकै डेराबाट लुटेका थिए।
‘उनीहरूबीच केही न केही चिनजान थियो होला। चिनजान नै नभई यसरी लुट्ने आँट नै गर्दैन नि,’ स्रोतले भन्यो,‘अपहरणमा परेका चिनियाँ पनि के-कस्तो काममा संलग्न छन् भन्ने पनि बुझिरहेका छौं। अनुसन्धानबाट खुल्दै जान्छ।’
उनीहरूमाथि प्रहरीले मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-१७ को अपहरण वा शरीर बन्धकसम्बन्धी कसुरमा म्याद थप गर्ने प्रक्रिया अघि बढाएको छ। पाँच दिन हिरासतमा राख्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ।
काठमाडौं परिसरले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ।