जन्मदिनमा अनाथ, अशक्त तथा वृद्धाश्रमहरूलाई सहयोग गर्ने चलन नेपालीहरूका लागि नौलो होइन। गुल्मीको छत्रकोट गाउँपालिकाका एक जना पूर्ववडाध्यक्षले चाहिँ अलिक फरक काम थालेका छन्।
उनले आफ्नो जन्मदिनका अवसरमा बाँदर नियन्त्रणका लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन्।
छत्रकोट गाउँपालिकाको वडा नं. ४ का पूर्ववडाध्यक्ष डिलाराम न्यौपानेले गाउँमा बाँदरले खेतीबाली सखाप पार्न थालेपछि नियन्त्रणका लागि जन्मदिनको अवसरमा नगद सहयोग गरेका हुन्।
गाउँका धेरै युवाहरू रोजगारी र पढाइका लागि सहर र विदेशतिर जाने प्रवृत्ति बढेपछि पहाडी गाउँका खेतबारी बाँझिदै गएका छन्। गाउँमा बसेका मानिसले लगाएको बाली पनि बाँदर, बँदेल, दुम्सीजस्ता जंगली जनावरबाट जोगाउन मुश्किल पर्छ।
केही वर्षयता गाउँमा बाँदरले कृषकहरूलाई हैरान पारेको छ। न्यौपानेले बाँझो छोडिएको जग्गामा तारबार गर्ने र बाँदरलाई त्यहीँ नियन्त्रण गरेर राख्ने योजना अनुरूप उक्त रकम सहयोग गरेका हुन्।
आर्थिक सहयोगसँगै न्यौपानेले बाँझो जग्गा दिने दातासमेत खोजी गरेर २० रोपनी जग्गा व्यवस्था गरेका छन्।
स्थानीय बासिन्दा हिमलाल भण्डारी र ऋषिराम भण्डारीको घलाम गाउँस्थित २० रोपनी पाखो जग्गा बुट्यान बढ्दै गएर जंगलजस्तै बनेको छ।
न्यौपानेले भण्डारी दाजुभाइसँग उक्त जग्गा बाँदर संरक्षण तथा नियन्त्रणका लागि लिजमा दिन प्रस्ताव गरे।
घलामका बासिन्दा बाँदरले दिएको सास्तीबाट हैरान छन्। भण्डारी दाजुभाइ पनि वाार्षिक १४ हजार रुपैयाँ पाउने गरी लिजमा दिन तयार भए।
जग्गा व्यवस्था भएपछि न्यौपानेकै अगुवाइमा बाँदर नियन्त्रणका लागि गोकर्ण ढकालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ।
समितिले बाँदर लगायतका वन्यजन्तुबाट किसानका बालीनाली जोगाउन सम्बद्ध सरकारी कार्यालयका अधिकारी र विज्ञहरूसँग छलफल गरेर कार्यक्रम अघि बढाउनेछ।
न्यौपानेले यही समितिलाई आफ्नो जन्मदिनका अवसरमा ५० हजार रुपैयाँ दिएका हुन्।
अब लिजको जग्गामा तारजाली लगाउने योजना छ।
न्यौपानेका अनुसार तारजाली लगाएर जग्गा संरक्षण गरेपछि अनावश्यक बिरूवा काँटछाँटको काम हुनेछ। जंगली फलसहित विभिन्न फलफूलका बिरूवा हुर्काएर बाँदरको निम्ति उपयुक्त वातावरण तयार गरिनेछ।
यसपछि उक्त जमिनमा बाँदर नियन्त्रण गरेर राखिनेछ। तारजाली लगाएको जग्गाभित्र बाँदर नियन्त्रण गरेर पालेपछि खेतीमा आउन बन्द हुने न्यौपानेको विश्वास छ।
आफू वडाध्यक्ष रहँदा न्यौपानेले बाँदरले गाउँमा हैरानी दिएपछि निजी खर्चमै बाँदर तर्साउने मेसिन किनिदिएका थिए। गाउँलेहरूले त्यही मेसिन प्रयोग गर्ने गरेका छन्।
दिउँसोभरि रेखदेख भए पनि राति बाँदरले खेती नष्ट गर्ने गरेको कृषकहरूको भनाइ छ। न्यौपानेले आफ्नो जन्मदिन फरक तरिकाले मनाउने भन्दै बाँदर नियन्त्रणको उक्त प्रस्ताव गरेका थिए।
न्यौपानेले सेतोपाटीसँग भने, ‘खेतबारीको सबै बाली बाँदरले सोत्तर पारिदिन्छ। बाँदर मार्न पनि भएन। तारजालीले घेरेर भए पनि केही नियन्त्रण गर्न सकिन्छ कि भनेर यस्तो योजना बनाएको हो।’
गाउँका धेरै मानिसहरू बसाइँ सरेर अन्यत्रै गएका छन्। गाउँमा रहेका थोरै बासिन्दा पनि खेतीपाती लगाउन छोड्दा पाखो बारी जंगलजस्तै बनेको छ।
जंगल बढेपछि बाँदरको बथान पनि बढ्दै गएको छ। न्यौपानेले वडा नम्बर ४ मा दुई बगाल बाँदर रहेको बताए। उनका अनुसार एउटा बगालमा कम्तीमा दुई सय बाँदर छन्।
बाँदर नियन्त्रण नगरी गाउँमा बस्न नसकिने भएपछि उक्त अभियान सुरू गरिएको उनले बताए।
उनले भने, ‘अहिले योजना सार्वजनिक मात्र गरेको हो। अब तारजालीको लागि आवश्यक थप रकम जोहो गर्नु छ।’
वर्तमान वडाध्यक्ष गुणाकर ज्ञवालीका अनुसार वडा नम्बर ४ सँगै गाउँपालिकाका अरू वडामा पनि बाँदरको समस्या छ।
उनले पूर्ववडाध्यक्ष न्यौपानेले बाँदर नियन्त्रणको लागि रकम दिएर नियन्त्रणको योजना अगाडि सारेको कुरा सुने पनि काम कसरी काम गर्ने भन्नेबारे छलफल नभएको बताए।
उनले भने, ‘बाँदरको समस्या धेरै छ। नियन्त्रण गर्नै पर्छ तर के गर्दा राम्रो हुन्छ भनेर अहिले नै भन्न सकिँदैन।’
ज्ञवालीले पूर्ववडाध्यक्ष न्यौपानेको पहल सराहनीय रहेको बताए।