गत असार १० गते अर्घाखाँचीको मालारानी गाउँपालिका–२, डाँडाकटेरीकी २७ वर्षीया सरू भट्टराईको हत्या भयो। उनकै श्रीमान कमल भुसालले खरबारीमा घाँसदाउरा लिन गएको समयमा एक्लै पारी गम्छाले घाँटी कसेर हत्या गरेका थिए।
गत जेठ १३ गते मालारानी गाउँपालिकामै सात वर्षकी एक बालिकालाई बलात्कार गर्ने प्रयास गरेको आरोप लगाएर प्रहरीमा उजुरी आयो। उजुरीपछि मालारानीकै भेडीखोरका ३८ वर्षीय कमल महत पक्राउ परे।
गत जेठ ९ गते बुटवल उपमहानगर–११, देवीनगरस्थित रंगशाला नजिकै १२ वर्षकी एक बालिकालाई बलात्कार गरेको आरोपमा बुटवलकै ५९ वर्षीय रुकनाथ ढकाललाई प्रहरीले पक्राउ गर्यो।
एक स्थानीयवासीका अनुसार तिलोत्तमाकी ती बालिकालाई मिठाइ दिने लोभ देखाएर बलात्कार गर्दै गरेको अवस्थामा केही व्यक्तिले देखेका थिए।
गत वर्ष मंसिर २४ गते रूपन्देहीको सैनामैनाकी ३६ वर्षीया खुमा घर्तीको हत्या भयो।
सैनामैना नगरपालिका–८, बाँसगढी घर भएकी खुमा बुटवलस्थित दिदीको घरमा आएका बेला आफ्नै श्रीमान सन्तबहादुर घर्तीले हत्या गरेका थिए।
खुमा घरबाट हिँडेको केहीबेरमा उनलाई पछ्याउँदै आएका थिए।
खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेपछि सन्तबहादुर आफैं इलाका प्रहरी कार्यालय, बुटवल पुगेका थिए।
गत वर्षकै कात्तिक २१ गते बञ्चरोको बिँडले हानेर दाङको गढवा गाउँपालिका–७ परिचोकका ६३ वर्षीय डनबहादुर थापाले आफ्नी श्रीमती ५० वर्षीया सुनिता रोकाको हत्या गरे।
त्यसअघि गत वर्षकै भदौ २५ गते रूपन्देहीको कञ्चन गाउँपालिकाका रञ्जीत थारूले आफ्नी श्रीमती सीताको शरीरमा आगो लगाइदिए। जलेर गम्भीर घाइते भएकी सीताको छैटौं दिन पाल्पाको मिसन अस्पतालमा मृत्यु भयो।
उपर्युक्त घटनाहरू प्रतिनिधिमात्र हुन्। लुम्बिनी प्रदेशमा हत्या, बलात्कार, मानव बेचबिखन लगायत आपराधिक घटनामा वृद्धि भएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार प्रदेशका १२ वटा जिल्लामा गत आर्थिक वर्ष २०७८/७९ मा आपराधिक घटनाका ६ हजार ३६२ वटा मुद्दा दर्ता भएका छन्।
त्यसअघि आर्थिक वर्ष २०७७/७८ मा प्रहरीमा ५ हजार ८३५ र आर्थिक वर्ष २०७६/७७ मा ५ हजार ८०३ वटा उजुरी दर्ता भएका थिए।
दर्ता उजुरीमध्ये ज्यानसम्बन्धी ९९ वटा छन्। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक वीरदत्त पन्तका अनुसार २०७८ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्म ९९ वटा कर्तव्य ज्यानसम्बन्धी जाहेरी दर्ता भएका छन्।
कर्तव्य ज्यानसम्बन्धी सबभन्दा बढी घटना रूपन्देहीमा छन्। रूपन्देहीमा हत्याका २७ वटा जाहेरी दर्ता भएको प्रहरी तथ्यांक छ।
रूपन्देहीपछि कपिलवस्तुमा १६ वटा, दाङमा १४ वटा, बाँकेमा १३ वटा, पश्चिम नवलपरासीमा ६ वटा र बर्दियामा ४ वटा हत्याका जाहेरी प्रहरीमा दर्ता भएका छन्।
पाल्पामा गत आर्थिक वर्षमा हत्याको घटना दर्ता भएन। प्युठानमा ५ वटा, रोल्पामा ४ वटा, गुल्मी र अर्घाखाँची ३–३ वटा जाहेरी दर्ता भएका छन्।
सोही अवधिमा जबरजस्ती करणी अर्थात बलात्कारका ३८८ वटा र जबरजस्ती करणी उद्योगका १२८ वटा जाहेरी प्रहरीमा दर्ता भएका छन्।
प्रदेश प्रहरी कार्यालय, दाङका अनुसार कर्तव्य ज्यानका घटनाजस्तै जबर्जस्ती करणीका घटना पनि तराईका जिल्लामा बढी छन्। सबभन्दा बढी दाङमा ८३ वटा मुद्दा दर्ता भएका छन्।
रूपन्देहीमा ७० वटा, बर्दियामा ५० वटा, बाँकेमा ४६ वटा, कपिलवस्तुमा ३१ वटा र पश्चिम नवलपरासीमा २० वटा जाहेरी जबर्जस्ती करणीका छन्।
एक वर्षमा पाल्पामा जबर्जस्ती करणीका २४ वटा जाहेरी दर्ता भएका छन्। रोल्पामा १९ वटा, प्युठानमा १८ वटा, गुल्मीमा १५ वटा तथा अर्घाखाँचीमा र पूर्वी रूकुममा बलात्कारका ४–४ वटा बलात्कारका जाहेरी परेका छन्।
गत आर्थिक वर्षमा वैवाहिक बलात्कारका तीन वटा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ। गुल्मी, रूपन्देही र बाँकेमा वैवाहिक एक–एक वटा बलात्कारका जाहेरी दर्ता भएका हुन्।
प्रदेशमा १२८ वटा जबरजस्ती करणी उद्योगका जाहेरी दर्ता भएका छन्। मानव बेचविखनका २८ वटा र बालयौन दुराचारका ३७ वटा जाहेरी प्रहरीमा दर्ता भएका छन्।
लुम्बिनी प्रदेशमा बहुविवाहका घटनामा वृद्धि भएको छ। गत आर्थिक वर्षमा बहुविवाह १५७ वटा र बालविवाहका ९ वटा जाहेरी प्रहरीमा दर्ता भएका छन्।
लुम्बिनीमा गत आर्थिक वर्षमा आत्महत्याका घटना पनि वृद्धि भएको छ। एक वर्षमा एक हजार २९७ जनाले आत्महत्या गरेका छन्। आत्महत्या दुरुत्साहनसम्बन्धी ४० वटा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।