साउन लागेसँगै बुटवलमा डेंगीका बिरामी बढ्दै गएका छन्। असारदेखि नै डेंगीका बिरामी अस्पतालमा आउने गरेकोमा साउन लागेपछि भने दैनिक १५/१६ जनामा डेंगीको संक्रमण देखिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले असारमा फाट्टफुट्ट बिरामी आउने गरे पनि साउन लागेपछि भने बिरामी थपिने क्रम बढिरहेको बताए।
‘ज्वरोको समस्या लिएर ओपिडी र आकस्मिक कक्षमा आउने बिरामीमध्ये दैनिक १५/१६ जनामा डेंगीको संक्रमण देखिएको छ,’ ढकालले भने।
अस्पतालका अनुसार विगतका वर्षमा साउन र भदौमा डेंगीका बिरामी आउने गरेकोमा यसवर्ष भने असारदेखि नै बिरामी आउने गरेकोले भदौसम्म बिरामीको संख्या धेरै थपिन सक्ने खतरा देखिएको छ।
मेडिकल सुपरिटेन्डेन्ट डा. ढकालले दुई वर्ष पहिले स्वास्थ्य कार्यालय र स्थानीय तहहरूले विभिन्न सचेतनाका कार्यक्रमसँगै लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गरे पनि यसवर्ष त्यो अभियान शून्य हुँदा बिरामी बढेको हुन सक्ने बताए।
‘एकातिर बजारभित्र भत्किएका सडकका खाडलमा पानी जमेर त्यसैमा लामखुट्टेले बासस्थान बनाएका छन्, अर्कोतर्फ विगतमा हुने सचेतनाका कार्यक्रम र लामखुट्टेको खोजी र नष्ट गर अभियान भएका छैनन्, अहिलेकै अवस्थामा बिरामीहरूको संख्या थपिँदै जाने हो भने भदौसम्म डेंगीका बिरामीहरूले अस्पताल भरिने छन्,’ डा. ढकालले भने।
डा. ढकालले डेंगी लाग्नबाट जोगिने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट जोगिनु भएकोले लामखुट्टेको बासस्थानको खोजी गरी नष्ट गर्नुपर्ने बताउँछन्।
अस्पतालका सूचना अधिकारी डा. नेत्र राना लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै दैनिक १५/१६ जनासम्म डेंगीका बिरामी थपिने गरेकोले ज्वरो आयो भने पनि सामान्य ज्वरो होला भनी घरमै नबस्न सुझाव दिन्छन्।
‘अस्पतालमा आएका बिरामीमध्ये डेंगीको शंका लागेर परीक्षण गराउने ४०/४५ प्रतिशतको रिपोर्ट पोजिटिभ आउने गरेको छ,’ डा. रानाले भने।
डा. रानाका अनुसार ओपिडीमा आएका मात्रै दैनिक ४०/५० जनाको डेंगी परीक्षण हुने गरेको छ।
‘मंगलबार अस्पतालको ओपिडीमा अन्य दिनभन्दा झण्डै आधा मात्रै बिरामी आएका थिए, थोरै बिरामी आउँदा पनि १८ जनामा शंका लागेर डेंगी परीक्षण गरिएको थियो, तीमध्ये ८ जनाको रिपोर्ट पोजिटिभ आयो,’ डा. रानाले भने।
आकस्मिक कक्षमा आएका बिरामीमध्ये पनि दैनिक ४/५ जनामा डेंगीको संक्रमण देखिने गरेको छ।
डेंगीको संक्रमण देखिए पनि औषधी खाएर निको हुन सक्नेलाई घरमै पठाउने गरेको छ।
डेंगीको संक्रमण अलि गम्भीर देखिएको, बान्ता हुने, खाना खान नसक्ने, रगतमा प्लेट्लेट्स घटेको जस्ता बिरामीलाई भने अस्पतालमै भर्ना गरेर उपचार गरिएको डा. रानाले जानकारी दिए।
‘अहिले पनि ५/६ जना बिरामी अस्पतालमा भर्ना हुनुहुन्छ, अधिकांशलाई भने घरमै पठाउने गरिएको छ,’ उनले भने।
लुम्बिनी प्रादेशिक अस्पतालमा आउने बिरामीमा मात्र नभई अन्य अस्पतालमा जाने बिरामीमा पनि डेंगीको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ।
कार्यालयका प्रमुख गौरव ढकालका अनुसार यहाँका सरकारी र निजी अस्पतालमा बिरामी बढेका छन्।
ढकालले ग्रामीण भेगभन्दा सहरी क्षेत्रहरू बुटवल, भैरहवा, सैनामैना, देवदह र तिलोत्तमामा डेंगीका बिरामीहरू बढी देखिएको बताए।
उनले कतिपय गम्भीर प्रकृतिका बिरामीलाई चितवन काठमाडौं पठाउने गरिएको जानकारी दिए।
बुटवलमा डेंगीका मात्र होइन कोभिडका पनि बिरामी बढेका छन्।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढकालले अहिले पनि कोभिडका ७ जना संक्रमितको आइसियूमा उपचार भइरहेको बताए।