काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत साउन ८ गतेदेखि एउटा अभियान सञ्चालन गर्यो।
उपत्यकामा चल्ने सवारीसाधनहरूले ट्राफिक नियमको पालना गरेका छन्/छैनन् भन्ने जाँच गर्न अभियान सञ्चालन गरेको हो।
स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाधनहरूलाई कारबाही तथा सचेत गराउन अभियान चलाइएको थियो।
यस अभियानलाई निरन्तरता दिन आइतबार बिहान पनि ट्राफिक चेक पोष्टहरू ठाउँ-ठाउँमा राखियो।
धेरैजसो ट्राफिक पोष्टहरू काठमाडौं केन्द्रीत नै थिए। ट्राफिक प्रहरीहरू बिहान ५ बजेदेखि ८ बजेसम्म नियमित दिनहरूमा जस्तै चेकिङमा बसेका थिए।
बिहानीपख गुड्ने मोटरसाइकल, यात्रुवाहक बस, ट्रक, लगायत विभिन्न सवारीसाधनमाथि चेकिङ गरियो। कतिपयलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरीले कारबाही पनि गर्यो।
यसपालि स्कुल तथा कलेजका बसमाथि विशेष चेकिङ गरिएको थियो। चेकिङमा परेका १६ वटा स्कुल/कलेजका बस चालकले नियम उल्लंघन गरेको पाइयो।
अधिकांश ब्लु बुक नबोकेको, बढी विद्यार्थी बोकेको लगायत शीर्षकका मुद्दा थिए। उनीहरूलाई नियमअनुसार नै कारबाही गरिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
तीमध्ये पाँच वटा भने गम्भीर प्रकृतिका थिए। ती पाँच वटा विद्यालयका गाडीका चालकले मादक पदार्थ सेवन गरेको देखियो।
पढ्ने विद्यार्थी बोक्ने गाडीका चालकले यसरी मापसे गर्नु गम्भीर लापरबाही हो। मापसे गरी चालकले आफ्नो मात्रै नभई विद्यार्थीहरू समेतको ज्यान जोखिममा राखेका हुन्।
मापसे गर्नेहरू चार वटा कलेजका विद्यार्थी बोक्ने बसका चालकहरू हुन् भने एउटा स्कुलका बसका चालक हुन्।
कमलादीस्थित युनिग्लोब कलेजको बा २ ख ५२० नम्बरका चालक हरिकृष्ण बस्नेत, जोरपाटीस्थित त्रियुग पब्लिक स्कुलको बा १ ज ६५४७ नम्बरका चालक सन्तोष गुरूङ, बानेश्वरस्थित हिमालयन ह्वाइट हाउस कलेजको बा १ क ९०३१ नम्बरका चालक दिलबहादुर शाह, सिनामंगलस्थित ब्रिज वाटर कलेज प्रदेश ३ ०१०-२२- च ७५८१ नम्बरका चालक रामकुमार तिमिल्सिना र कोटेश्वरस्थित कस्मिट इन्टरनेशनल कलेजको बा २१ च ४६८ नम्बरका चालक चक्रबहादुर राना कारबाहीमा परेका हुन्।
उनीहरूलाई प्रहरीले काठमाडौंको विभिन्न ठाउँमा चेक गरेको थियो। ट्राफिक प्रहरीले कारबाहीस्वरूप उनीहरूको लाइसेन्स नियन्त्रणमा लिएको छ।
यस्तै एक हजार रुपैयाँ जरिवाना र एक घन्टाको सचेतना कक्षा लिएपछि भने उनीहरूले लाइसेन्स फिर्ता पाउने प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए।
स्कुल बसका चालकहरूले पनि ट्राफिक नियमको उल्लंघन गर्दै आएको भन्दै कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले केही समयअघि प्याब्सन, एनप्याब्सनका पदाधिकारीहरूलाई बोलाएर छलफल गरेकी थिइन्।
त्यतिबेला ट्राफिक नियममा विद्यालयका सवारीसाधनहरूमाथि पनि कडाइ गर्ने जानकारी गराइसकेको प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले बताए। यसरी सम्बन्धित संघसंस्थासँग ट्राफिक नियमबारे छलफल गर्दासमेत कलेज तथा स्कुल बसका चालकहरूले गम्भीर लापरबाही गरेका हुन्।
‘हामीले गत हप्तादेखि विद्यालय तथा कलेजका बसहरूमाथि केन्द्रीत भएर बिहानीको समयमा चेकिङ थालेका हौं। सबै कुरा चेकिङ गर्छौं। क्षमताभन्दा बढी राखेको, सवारीसाधनको अवस्था ठीक भए/नभएको, नियमहरू उल्लंघन र मापसे चेकिङ गर्न थालेका हौं,’ उनले भने, ‘यसअघि हामीले संघसंस्थासँग यी विषय र अन्य विषयमा केन्द्रीत भएर छलफल पनि गरेका थियौं।’
ट्राफिक प्रहरीले समान्य नियमअनुसार मात्रै कारबाही गर्न सक्ने र त्यसबाहेक कलेजले नै गर्ने उनले बताए।
‘हामीले मापसेसँग सम्बन्धित जे कानुन छ त्यसअनुसार नै कारबाही गर्ने हो। जरिवाना र सचेतनाको कक्षा लिने हो। अब अरू आन्तरिक रूपमा स्कुल-कलेजहरूले नि गर्लान्!,’ उनले भने, ‘यसबारेमा हामी सम्बन्धित स्कुल/कलेजहरूलाई पनि जानकारी गराउँछौं।’
यसरी लापरबाही गरेको बाहिर आएपछि कलेज प्रशासनले के-कस्तो कारबाही गर्यो त भनेर हामीले तीन वटा कलेज प्रशासनसँग सोध्यौं। चालकहरूले यो गम्भीर विषयमा प्रशासनलाई जानकारी नै नगराएको पायौं।
युनिग्लोब कलेजका कार्यकारी निर्देशक मनसुन केसीसँग सोध्दा सुरूमा यस विषयमा अनभिज्ञता प्रकट गरे। उनले कलेजको यातायात इन्चार्जसँग सोधेर जानकारी गराउने बताए।
पछि उनले आफ्नो कलेजका चालक हरि बस्नेतले मापसे गरी गाडी चलाएको पाएको जानकारी दिए।
‘यसबारेमा जानकारी आएको थिएन। मैले सोध्दा हिजो खाएको तर आज चेकिङ गर्दा तुरून्तै अर्को चालकलाई पठाइएको रहेछ,’ उनले भने,‘उहाँलाई हामी विभागीय कारबाही गर्छौं। निकाल्न पर्ने स्थिति आउँछ भने हामी मिटिङ बसेर निर्णय लिन्छौं।’
यस्तै बानेश्वरको हिमालयन ह्वाइट हाउस कलेजका बस चालक दिलबहादुर शाह पनि कारबाही परेको कलेज प्रशासनलाई जानकारी नै रहेनछ। कलेज प्रशासन प्रमुख सीता क्षेत्रीसँग सोध्दा चालक शाहले कलेजको बस चलाउँदा नभई बाहिरकै सवारीसाधन चलाउँदा कारबाहीमा परेको जानकारी दिइन्। उनलाई मापसेमा कारबाही गरिएको छ भनेर जानकारी गराएपछि भने उनले सोधिखोजी गरेकी थिइन्।
‘उहाँलाई समातेको हो रहेछ। हिजो बेलुकी खाएको थिएँ, आज देखायो भन्नुभयो। कलेजलाई किन जानकारी नगराएको भनेर पनि सोधेँ। इन्चार्जले पनि खाएको २४ घन्टासम्म देखाउँछ भनेको हुँदा जानकारी नगराएको भन्नुभयो,’ उनले भनिन्, ‘तर पनि १० दिनको लागि कारबाही स्वरूप चालकलाई कलेज नआउनु भनेकी छु। बाँकी निर्णय मैलेभन्दा पनि बोर्ड अफ डाइरेक्टरले लिनुहुन्छ।’
सिनामंगलस्थित ब्रिजवाटर कलेजका प्रशासन प्रमुख बिक्रम शर्मासँग पनि सोध्यौं। उनले पनि आफ्नो बस चालक ब्लुबुकको कारबाहीमा परेको बताए।
‘मापसेमा होइन। कागजपत्र नभएकोमा हो,’ उनले भने, ‘अरू कलेजको मापसेमा परेको होला। हाम्रो होइन।’
ट्राफिक प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले भने ब्रिजवाटर पनि मापसेको कारबाहीमा परेको दाबी गरे।
अघिल्लो हप्ता पनि ट्राफिक प्रहरीले पाँच वटा स्कुल-कलेजका चालकहरूलाई मापसेमा कारबाही गरेको थियो। चालकहरूले अघिल्लो रात नै खाएको भनेर पनि पञ्छिन खोजेको देखिन्छ। तर शरीरमा रक्सीको मात्रा भएमा जति समय भए पनि ब्रेथलाइजरले देखाउने भट्टले बताए।
‘शरीरमा रक्सीको मात्रा भयो भने ब्रेथलाइजरले देखाउने हो। यति समयअघि खाँदा नदेखाउने भन्ने हुन्न,’ उनले भने।
यसरी नै विभिन्न समयमा ‘सप्राइज चेकिङ’लाई निरन्तरता दिने उनले बताए।