स्काई वर्ल्ड सर्भिस सेन्टर कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको प्राइभेट कम्पनी हो। यो कम्पनी २०७७ माघ १५ गते दर्ता भएको थियो।
कम्पनीको कार्यालय काठमाडौं महानगरपालिका-९ तीनकुनेस्थित कम्पाउन्डसहितको घरमा थियो। टेलिफोन बुथ, साइबर क्याफे लगायत कामका लागि भनेर कम्पनी दर्ता गराएको देखिन्छ।
सोमबार त्यही स्काई वर्ल्ड सर्भिसको कार्यालयमा प्रहरी पुग्यो। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले त्यहाँ छापा मारेको हो। कार्यालयमा कम्प्युटर, फोनलगायत विभिन्न उपकरण जडान गरिएका थिए। त्यहाँ काम गर्ने कर्मचारी सयौं जना थिए।
कल सेन्टरको नाममा अवैध काम गरिरहेको भन्ने सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।
‘अवैध काम गरिरहेको भन्ने सूचनाको आधारमा अनुसन्धान गरी छापा मारेका हौं,’ मैनालीले भने।
प्रहरीले त्यो कार्यालयबाट ३६ जनालाई पक्राउ गर्यो। जसमा एक जना चिनियाँ, दुई जना भारतीय र ३३ नेपाली नागरिक छन्।
कल सेन्टरका व्यवस्थापन प्रमुख ४३ वर्षीय चिनियाँ हुन् युइहुआ, भारतको उत्तर प्रदेशका २६ वर्षीय मनोज शैनी, १९ वर्षीया नेहा गुप्तासँगै २८ पुरूष र ५ महिला गरी ३३ जना नेपाली पक्राउ परेका हुन्।
प्रहरीका अनुसार यो कल सेन्टरका प्रमुख चिनियाँ नागरिक हुन्। कम्पनी भने उनको नाममा दर्ता छैन। काठमाडौं महानगरपालिका-३ बस्ने विजय श्रेष्ठको नाममा छ। श्रेष्ठ अहिले फरार छन्। यसअघि आइतबार रूपन्देहीको बुटवलमा पनि प्रहरीले यस्तै कल सेन्टरमा छापा मारेको थियो। बुटवलबाट प्रहरीले १५० जनालाई पक्रेको थियो।
कल सेन्टर भन्नाले आम मानिसले कसैलाई फोन गर्ने र सेवा दिने ठाउँ भनेर बुझ्छन् तर यी कल सेन्टरले भने अर्कै काम गर्थे।
प्रहरी उपरीक्षक मैनालीका अनुसार उनीहरूको काम नेपालीलाई सेवा दिने होइन। बरू भारतीय नागरिकलाई ऋण प्रवाह गर्ने हो। यति मात्रै होइन उनीहरूले ऋणको चर्को ब्याजसमेत लिने गरेको अनुसन्धानबाट देखिएको छ।
यी कल सेन्टरमा काम गर्ने सबै नेपालीहरू थिए। उनीहरूको ‘टार्गेट’ भारतका निम्न वर्गका सामान्य मानिसहरू हुन् जसलाई छोटो समयको लागि पैसा सापटीको आवश्यक परेको हुन्छ।
उनीहरूको ठगी धन्दा विज्ञापनबाट सुरू हुन्छ। भारतीय टेलिभिजन, फेसबुक, इन्स्टाग्रामलगायत विभिन्न माध्यममा उनीहरूले विज्ञापन दिन्थे।
‘छोटो समयका लागि ऋण चाहिएमा… एप डाउनलोड गर्नुहोस् र सजिलै पैसा पाउनुहोस्,’ भनेर विज्ञापनमा लेखिएको हुन्थ्यो।
ठूलो जनसंख्या भएको भारतमा यस्तो विज्ञापन देखेर मानिसहरू बिनाधितो ऋण पाउने लोभमा पर्ने गरेको प्रहरीको भनाइ छ।
‘छोटो समयको लागि पैसा चाहिने र त्यहीबेला विज्ञापन पनि देखिने भएपछि मानिसहरू त्यसैको पछि लाग्ने भए,’ प्रहरी उपरीक्षक मैनालीले भने।
उनीहरूले ‘इजी लोन’, ‘गो-लोन’, ‘जी पे’ लगायतका एप बनाएका थिए। ऋण लिन ती एप डाउनलोड गर्नुपर्थ्यो। एप डाउनलोड गरेपछि उनीहरूलाई त्यसमा भनिए अनुसारको फारम भर्न लगाइन्थ्यो। एपमा आधार कार्ड र मतदाता परिचयपत्र पनि स्क्यान गरेर राख्नुपर्थ्यो।
सबै विवरणहरू भरिसकेपछि जुन फोन, कम्प्युटर, ल्यापटप, ट्याबलगायत उपकरणबाट त्यो एप डाउनलोड गरिएको हो, त्यसमा एउटा लिंक आउँथ्यो। त्यो लिंकमा पनि भनेअनुसारकै विवरणहरू भरेपछि भने लोन पास हुने सिस्टम बनाइएको थियो।
उनीहरूले ५० हजार भारतीय रुपैयाँसम्म ऋण दिने भनेका हुन्थे। अधिकांशलाई दिएको ऋण भने २० हजार मात्रै छ।
ऋण लिने व्यक्तिले पठाएको लिंकअनुसारको फारम भरेपछि उनीहरूको ऋण स्वीकृत हुन्थ्यो। त्यसपछि भारतकै कुनै बैंकमार्फत् डिजिटल वालेटको प्रयोग गरी उनीहरूलाई पैसा दिइन्थ्यो।
प्रहरीका अनुसार उनीहरूले २० हजारको ऋण स्वीकृत गराए पनि त्यसबापत् लिने ब्याज भने चर्को हुन्थ्यो। पैसा दिँदा सुरूमै उनीहरूले २० हजारको ब्याज भनेर पाँच हजार रुपैयाँ काट्थे।
ऋण तिर्ने अवधि एक हप्ताको मात्रै हुन्थ्यो। काठमाडौं, बुटवलका कल सेन्टरमा काम गर्ने युवा-युवतीहरूले प्रविधिको प्रयोग गरी यहीँबाट ऋण लिने व्यक्तिलाई फोन गर्थे।
छैठौं दिनदेखि ऋणीलाई फोन गर्न थाल्ने गरेको देखिएको प्रहरी उपरीक्षक मैनालीले बताए।
‘ऋण तिर्न सात दिनको समय उनीहरूलाई दिइएको हुन्छ। छैठौं दिनमा उनीहरूले ऋणीलाई फोन गर्ने र भोलि ऋण तिर्ने बेला भयो है भनेर सम्झाउने गरेको देखियो,’ उनले भने।
फोन गर्न आइएमओ र ह्वाट्सएपको प्रयोग गर्थे।
सजिलै ऋण फिर्ता गर्नेहरूबाट उनीहरूले १५ हजार लगानी गरेर हप्ताको पाँच हजार ब्याज पाउँथे, ऋण तिर्न नसक्नेहरूमाथि भने मानसिक यातना दिन सुरू गर्थे।
ऋण दिनुअगाडि नै यस्ता कल सेन्टरले ऋणिले पठाएको लिंकबाट उसको मोबाइल, फोनलगायत उपकरण ह्याक गरिसकेका हुन्थे। त्यो कुरा ऋणीलाई थाहै हुन्नथ्यो।
कल सेन्टरमा काम गर्नेहरूले ऋण फिर्ता नगरूञ्जेल फोन गरेर टर्चर दिने गरेको पाइएको छ।
सुरूमा ऋण लिने व्यक्तिलाई नै फोन गरेर थर्काउँथे। तथानाम मुख छाडेर गाली गर्ने गरेको अनुसन्धानबाट पनि देखिएको छ।
त्यसपछि भने उनीहरूले ऋणिलाई ब्ल्याकमेलिङ गर्ने अनुसन्धानमा संलग्न एक प्रहरीले बताए।
‘लिंक पठाउँदा सबै ह्याक गरिसकेको हुन्छ। त्यो ह्याक गर्दा उनीहरूले मोबाइलमा जे-जे छ सबै तान्छ। यहाँको कल सेन्टरमा आउँछ,’ उनले भने, ‘त्यसैलाई आधार बनाएर उनीहरूले फोन गरेर मुख छाड्ने, थर्काउनेदेखि सबै गर्ने हो।’
यति मात्रै होइन, उनीहरूले ऋणीको फोनको विवरण पनि लिएका हुन्थे। सबैभन्दा धेरै फोन क-कसलाई गरेको छ भनेर हेर्थे। आमा, बुवा, श्रीमती, गर्लफ्रेन्ड र अन्य आफन्तमध्ये जसको नम्बर छ उनीहरू सबैलाई फोन गरेर धम्क्याउने र बेइज्जत गर्ने गरेको ती प्रहरी अधिकारीले बताए।
यस्ता कल सेन्टरबाट लिएको ऋण समयमै तिर्न नसक्दा भारतमा आत्महत्याको घटनासमेत भएको प्रहरीको भनाइ छ।
‘उनीहरूको उद्देश्य जसरी हुन्छ पैसा फिर्ता गराउने हो। फसाउँदै लगेर पैसा असुली गर्ने हो। यसरी कतिलाई ठगेठगे,’ उनले भने।
कल सेन्टरका काम गर्ने नेपालीलाई चिनियाँले तलब दिएर राखेका थिए। उनीहरूलाई १५ हजार देखि ८० हजारसम्म तलब दिएको अनुसन्धानबाट देखिएको छ। उनीहरूको पद, कामको आधारमा पैसा दिने गरेको प्रहरीको भनाइ छ। कतिपयलाई बैंकमार्फत् त कतिलाई हातमै पैसा दिइन्थ्यो।
धेरै ऋणीबाट पैसा उठाउन सके काम गर्नेले कमिसन पाउँथे।
प्रहरीले अहिले नियन्त्रणमा लिएका ३६ जना पनि प्रमुख पदमा बसेका मानिसहरू हुन्। यसबाहेक पनि त्यहाँ थुप्रै मानिसहरू काम गरिरहेको प्रहरीले जनाएको छ।
कल सेन्टरमा कर्मचारीलाई मेस चलाइएको छ। जहाँ दैनिक ११ सय जनालाई खाना पाक्ने गरेको परिसरका प्रहरी उपरीक्षक मैनालीले बताए।
‘त्यहाँको मेसमा ११ सय जनालाई खाना पाक्ने गर्थ्यो,’ उनले भने। यहाँ उनीहरूले सिनियर टिम लिडर, टिम मेम्बर, अनुशासन इन्चार्ज, सिनियर अडिटर लगायतको पद पनि बनाएर राखेका थिए।
यसरी उनीहरूले ठूलो नेपाली जनशक्तिलाई प्रयोग गरी भारतीयलाई ठगी गर्ने गरेको देखिन्छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित ब्लु स्काई विजनेश सोलुसन सर्भिस सेन्टरमा पनि यस्तै काम भएको पाएपछि प्रहरीले भारतीय नागरिकसहित १५० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो।
यस्तो प्रकृतिको अपराध नेपालमा दुई वर्षअघिदेखि मात्रै सुरू भएको प्रहरी अधिकारीहरू बताउँछन्। यसअघि उनीहरूले श्रीलंकामा बसेर यस्तो सञ्चालन गरिरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए। पछि चिनियाँ नागरिकहरूले भारतीयसँग मिलेर नेपालबाट यस्तो आपराधिक क्रियाकलाप सञ्चालन गरिरहेको पाएको हो।
यी छापा मारेको स्थानबाट प्रहरीले ल्यापटप, डेस्कटप, डिभिआरलगायत विभिन्न उपकरणहरू पनि बरामद गरेको छ। ती सामग्रीको परीक्षण तथा अनुसन्धानको लागि प्रहरीले नेपाल प्रहरीको फरेन्सिक विभागमा पठाउने तयारी गरेको छ। त्यसबाट पनि केही थप खुल्ने प्रहरीको भनाइ छ।
यसअघि पनि प्रहरीले यस्तै प्रकृतिको घटनामा मानिसहरूलाई पक्राउ गरेको थियो। गत फागुन १० गते मंगलबार सानोठिमीस्थित तीन तले घरबाट एक चिनियाँ नागरिकसहित ८० जनालाई पक्राउ गरेको थियो।
त्यस्तै सोही दिन काठमाडौंको बानेश्वरबाट त्यस्तै कल सेन्टर सञ्चालन गरेको भन्दै एक चिनियाँसहित ३७ जनालाई पक्राउ गरेको हो।
त्यतिबेलाको घटनामा भने भक्तपुर परिसरले एक जना चिनियाँसहित चार जनालाई मात्रै मुद्दा चलाएर अनुसन्धान अघि बढाएको थियो। अदालतले उनीहरूलाई जिम्मा जमानीमा छाडेको छ। यसको अनुसन्धान अझै पनि भइरहेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए।
‘चार जनामाथि मुद्दा चलाएका थियौं। उनीहरूलाई जिम्मा जमानीमा छाडेको थियो,’ उनले भने, ‘यसमा अनुसन्धान जारी नै छ।’
यसरी उनीहरूले विभिन्न ठाउँमा कल सेन्टरको नाममा आपराधिक गतिविधि गर्ने काम गरिरहेका छन्।
स्काई वर्ल्ड सर्भिस सेन्टर र ब्लु स्काई सोलुसन सर्भिस सेन्टर चलाउने मानिसहरू पनि एउटै समूहको भएको प्रहरीको भनाइ छ। काठमाडौंकै विभिन्न ठाउँमा यस्ता गतिविधि सञ्चालन गरिरहेको स्रोतको दाबी छ।
काठमाडौंमा तीनकुनेको कल सेन्टरसहित पाँच ठाउँमा सञ्चालन भइरहेको स्रोतले दाबी गरेको छ। अन्य केही कम्पनीको नाम सञ्चालन गरेर चलाइरहेको उनले बताए।
प्रहरीले पनि अन्य ठाउँमा पनि यस्तै गतिविधि सञ्चालन भएको हुनुपर्ने आशंका गरेको छ। यस पाटोबाट पनि अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।