आकाश मडारिएर पानी पर्न थालेपछि बुटवलको ज्योतिनगरकी विष्णुकुमारी रायमाझीलाई घरभित्र पस्न डर लाग्छ। एक वर्ष पहिले घरमाथिबाट झरेको पहिरोले आफ्नोसहित छिमेकीका एक दर्जन घर बगाएको दृश्य विष्णुकुमारीले बिर्सेकी छैनन्।
विष्णुकुमारी मात्र होइन। ज्योतिनगरकै सावित्रा अर्याललाई पनि आकाशमा कालो बादल देखिन थालेपछि रात नपरे हुन्थ्योजस्तो लाग्छ। आकाश कालो बादलले ढाक्न थालेपछि उनको मन अत्तालिन थाल्छ।
गत वर्ष भदौमा झरेको चुरेको पहिरोले ज्योतिनगरका एक दर्जनभन्दा बढी घरमा क्षति पुर्याएको थियो। विष्णुकुमारी र सावित्राका घर पनि पुरिएका थिए।
पहिरोले केही घर बगाएर परिवार नै विस्थापित भए पनि विष्णुकुमारी र सावित्राको परिवार भने घरभित्र पसेको पहिरो पन्छाएर त्यहीँ बसेका छन्। पहिरोको जोखिम छँदै छ।
आकाशबाट पानी पर्न थालेपछि उनीहरूको मनमा पनि पहिरो जान सुरु गर्छ। घरभित्र पस्नु कि नपस्नुजस्तो हुन्छ। नपसौँ कहाँ जानु! पसौँ कुन बेला बगाउने हो!
पाल्पाको अगाहखोलामा रहेको जग्गाजमिन बचेर विष्णुकुमारीको परिवार बुटवल उपमहानगर, वडा नम्बर तीनको ज्योतिनगरमा बसाइँ सरेको हो।
मूलबाट सोझैँ आउने खानेपानीको सुविधा र वरिपरिको हरियालीले ज्योतिनगर निकै रमणीय मानिनथ्यो। विष्णुकुमारीको परिवारले त्यही ठाउँ रोजेको थियो।
जानकारहरूका अनुसार वनजंगलबाट बहने चिसो हावाका कारण बुटवलका अन्य क्षेत्रमाभन्दा ज्योतिनगरमा तापक्रम सरदर तीन डिग्री सेल्सियससम्म कम हुन्छ।
यति रमणीय ठाउँमा दस धुर जमिन किनेर घर बनाएको दुई वर्ष नबित्दै गत वर्ष भदौ ११ र १३ गते आएको पहिरो घरभित्रै पसेपछि विष्णुकुमारीलाई दिनमा भोक न रातमा निद्रा भएको छ। उनलाई कुन दिनमा ज्योतिनगरमा बस्न आए हुँला भन्ने लागेको छ।
ज्योतिनगरमा पहिरो आएको पहिलो पटक भने होइन। २०५५ साल भदौ २० गते आएको पहिरोले पाँच दर्जन घरमा क्षति पुगेको थियो। पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ति पनि दिएको थियो।
त्यसयता उक्त ठाउँ जोखिमयुक्त मानिए पनि दिनप्रतिदिन बस्ती बढ्दै गएको छ।
सावित्रा पनि पाल्पाको हँुगीबाट बसाइँ सरेर ज्योतिनगर आएकी हुन्। उनको घरमा पनि गत वर्षको पहिरोले क्षति पु¥यायो। उनको परिवार त्यही घर मर्मत गरेर बस्दै आएको छ।
हिउँदभरि पहिरोको जोखिम नसम्झिए पनि वर्षा सुरु भएपछि रातभर जाग्राम बस्ने गरेको सावित्राको भनाइ छ। उनी भन्छिन्, ‘आकाशमा अध्याँरो सुरु भएपछि मन पनि अँध्यारो हुन थाल्छ, गड्याङगुडुङ सुरु भएपछि त घरभित्र पस्नै डर लाग्छ।’
ज्योतिनगरवासीहरूका अनुसार बस्तीमाथिको चुरे पहाडमा धाँजा फाटेर पानीको मूल फुट्न थालेको छ। यसबाट पहिरोको जोखिम झन् बढेको छ। पहिरोको असर ज्योतिनगरका विद्यालयहरूमा पनि परेको छ।
ज्योतिनगर प्राथमिक विद्यालयका सहायक प्रधानाध्यापक कमलादत्त श्रेष्ठका अनुसार पहिरोले क्षति भएको विद्यालय भवन मर्मत गरेर काम चलाइए पनि विद्यार्थी संख्या घट्दै गएको छ।
‘भवन मर्मत त गरियो तर अहिले अभिभावकको मनमा त्रास कायम छ। बर्खा लागेपछि लागेपछि बच्चाहरू पठाउन छोड्नुभएको छ,’ उनले भनिन्, ‘बर्खायाममा पनि विद्यालय आउने विद्यार्थीहरू यसपालि पहिरोको डरले आएनन्।’
पहिरो नियन्त्रणका लागि ‘राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति’ मार्फत केही वर्षदेखि रोकथाम र नियन्त्रणको काम भइरहे पनि बालुवामा पानी हालेजस्तो भएको छ।
बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेका अनुसार ‘राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति’ सँगको सहकार्यमा पहिरोको जोखिम रहेको क्षेत्रमा तारजाली सहितको पर्खाल लगाउने र बिरुवा लगाउने काम भइरहेको छ।
गत वर्ष आएको पहिरोपछि पनि तारजाली सहितको पर्खाल लगाइएको थियो तर त्यसले काम गरेन।
पाण्डेका अनुसार गत वर्ष नै पहिरोबाट निस्किएको पानीको मूल सिद्धबाबातर्फको भाग हुँदै खोल्सो बनाएर तर्काउने काम सुरु गरिएको छ। त्यसमा अहिले पनि काम भइरहेको उनले बताए।
उनले भने, ‘ज्योतिनगरको शिरबाट बगेको पानी बस्तीतर्फ आउन रोकेर सिद्धबाबातर्फ पठाउने काम भइरहेको छ। विभिन्न स्थानमा ग्याबिन जाली लगाउने र पर्खाल उठाउने काम पनि भइरहेको छ।’
नियन्त्रणको प्रयास भए पनि पहिरोको जोखिम कम नभएको मेयर पाण्डेले बताए। उनले भने, ‘हाम्रो क्षमताले पहिरो पूरै रोक्न सकिँदैन। रोकथामका लागि वृक्षारोपणको काम भइरहेको छ।’
पहिरो रोकथाम तथा नियन्त्रणका लागि लुम्बिनी प्रदेश सरकारले बाँसका विरुवा उपलब्ध गराएको छ। नेपाली सेना र सशस्त्र प्रहरीका जनशक्ति बिरुवा रोप्न खटेका छन्।