सुनसरी कोशी गाउँपालिकाका महेशप्रसाद भिन्डवार आइतबार बिहानै काठमाडौं आइपुगे।
उनी काठमाडौं आउनबित्तिकै कोटेश्वरको डेरामा सामान राखेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए।
उनी ग्लोबल आइएमई बैंकमा रहेको पैसा चोरी भएको भन्दै त्यहाँ पुगेका थिए। उनी प्रहरी कार्यालय पुगेको यो पहिलो दिन भने होइन। एक वर्षदेखि त्यहाँ धाइरहेका छन्। उनको बैंक खाताबाट हराएको पैसा अझै फेला परेको छैन। न त बैंकले त्यो पैसा फिर्ता गर्छु भनेको छ।
भिन्डवार सन् २०१० अप्रिलमा काम गर्न मलेसियामा गएका थिए। पटक-पटक नेपाल आउजाउ गरिरहन्थे। परदेशमा पसिना बगाएर कमाएको पैसा जम्मा गर्न उनले बैंक खाता पनि खोले।
उनले सन् २०१६ अप्रिल १४ मा पानीपोखरीस्थित ग्लोबल आइएमई बैंकमा खाता खोलेका थिए।
त्यसयता आफूले कमाएको पैसा र घरपरिवार र अरू रकम त्यही खातामा राख्दै आएका थिए। उनको खातामा ८ लाख रुपैयाँ जम्मा भइसकेको थियो। सन् २०२० को मार्चमा उनी नेपाल फर्किए।
बैंकमा भएको पैसा चाहिएपछि जतिबेला पनि निकाल्न मिल्छ भन्नेमा उनी ढुक्क थिए। केही महिनापछि सुनसरीको इनरूवास्थित ग्लोबल आइएमईको शाखामा गएर उनले दुई लाख रुपैयाँ निकाल्न खोजे। पैसा निकाले मोटरसाइकल किन्न लागेका छिमेकीलाई सापट दिने उनको योजना थियो। उनी चेक काटेर बैंकको काउन्टरमा पुगे।
बैंकका कर्मचारीले उनको खातामा भएको पैसा हेरे। उनको खातामा पैसा देखिएन।
कर्मचारीले ‘यो खातामा भएको पैसा त पहिला नै निकालिसकेको छ’ भनेपछि उनी छाँगाबाट खसेजस्तो भए।
१० वर्ष मलेसियामा हाडछाला घोटेर उनले बैंकमा ८ लाख २६ हजार जम्मा गरेका थिए। त्योमध्ये ७ लाख त झिकिइसकेको रहेछ।
यो सब कसरी भयो उनले मेसो पाउन सकेनन्। आफ्नो खाताबाट पैसा चोरी भएको के-कसरी हो भन्दै उनले बैंकलाई निवेदन लेखे। स्टेटमेन्ट हेर्दा थाहा भयो उनको खाताको सबै पैसा मोबाइल बैंकिङबाट कारोबार भएको रहेछ।
भिन्डवारले मोबाइल बैंकिङ नचलाएको बताए। बैंकले भने उक्त खातामा मोबाइल बैंकिङ एक्टिभेट गर्न भरेको फारम देखायो।
उक्त फारममा अक्षरहरू फरक-फरक भएको र त्यसमा लेखिएका अक्षर आफ्नो नभएको भिन्डवारले बताए। आफूले बैंक खाता खोल्दा दिएकै नागरिकताको फोटोकपीलाई काटेर अर्को कपी बनाएको पनि उनको दाबी छ।
‘खाता खोल्दा दिएको नागरिकतालाई नै काटेर मोबाइल बैंकिङको खाता खोल्न प्रयोग भएको छ। मैले दिएको नागरिकतामा भएका दागहरू र मोबाइल बैंकिङको लागि राखेका दागहरू एउटै छन्। तर मैले दिएको फोटोकपीको छेउमा हस्ताक्षर छ,’ उनले भने,‘मोबाइल बैंकिङको लागि प्रयोग हुँदा त्यही नागरिकताको फोटोकपीको हस्ताक्षर भएको पट्टी काटिएको छ।’
उनको खाताबाट सन् २०२० अक्टोबर १८ मा पहिलो पटक रकम निकालेको स्टेटमेन्टमा देखिन्छ।
सुरूमा फोन नम्बरमा टपअप गरेको देखिन्छ भने पछि हजारौं रुपैयाँ गरी पटक-पटक रकम निकालेको देखिन्छ।
‘म चेक लिएर जाँदा त मेरो खातामा पैसा नै छैन रहेछ। विदेशमा पसिना बगाएर कमाएर जम्मा गरेको पैसा मैले चलाउनै नपाई सकिसक्यो,’ भिन्डवारले भने,‘मैले जिन्दगीमा मोबाइल बैंकिङ भन्ने प्रयोग नै गरेको छैन। अहिलेसम्म त्यस्तो बाटो टेकेकै छुइनँ।’
उनले इटहरी शाखाबाट पानीपोखरीस्थित कार्यालयमा निवेदन पठाए। आफ्नो खातामा भएको रकम मोबाइल बैंकबाट चोरी भएको र अनुसन्धान गरी सबै रकम फिर्ता पाउँ भन्ने उनको माग थियो।
एकातिर उनले चोरिएको रकम फिर्ता माग्दै बैंकमा निवेदन दिएका थिए अर्कातिर उनको खाताको पैसा धमाधम चोरी भइरहेको थियो। बाँकी रहेको अरू पैसा पनि खाताबाट निकालियो।
एनसेलको जुन मोबाइल नम्बरबाट मोबाइल बैंकिङमा कारोबार भइरहेको थियो, त्यो नम्बर कुनैबेला भिन्डवारले नै चलाउँथे। उनी विदेश गए तीन महिनापछि मिति सकिएर उक्त नम्बर ब्लक भयो। फेरि उनकै नागरिकता प्रयोग गरेर त्यही नम्बर अर्को पटक निकालिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
‘मैले चलाएको सिम नम्बर तीन वर्ष अगाडि नै ब्लक भइसकेको थियो,’ उनले भने, ‘फेरि त्यही नम्बर चलेको देखिन्छ। त्यो पनि मेरै नागरिकताबाट निस्केको छ।’
भिन्डवारको उजुरीपछि प्रहरीले अनुसन्धान गरेर बैंकलाई पत्र लेखेको छ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार भिन्डवारको पैसा चोरी हुनुमा बैंकका कर्मचारीकै मिलेमतो देखिन्छ। अनुसन्धानबाट बैंककै गल्ती देखिँदा पनि बैंक उनको सबै पैसा फिर्ता गर्न तयार छैन।
हदम्याद गुज्रिसकेकाले यसमा बैंकमाथि कानुनी कारबाही अघि बढाउन नसकिने कार्यालयको भनाइ छ।
ठगी मुद्दामा एक वर्षको हदम्याद छ। सुरूमा अनुसन्धान गर्दा बैंकले पैसा फिर्ता गर्छु भनेर झुलाएको र पछि म्याद सकेपछि भने फिर्ता गर्दिनँ भन्न थालेको ती प्रहरी अधिकारीले बताए।
‘यसमा कर्मचारीको मिलेमतोमा भएको देखिन्छ। सुरूमा हामीले अनुसन्धान गर्दैगर्दा पैसा पनि फिर्ता गर्छौं भनिरह्यो,’ ती प्रहरीले भने, ‘पछि म्याद सकिएपछि भने निवेदन हालिसकेपछि झिकिएको एक लाख रकम मात्रै दिन्छु भन्छ।’
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले पनि यस घटनाको अनुसन्धानमा निष्कर्षमा नपुगेको बताए।
पीडित प्रहरीको सम्पर्कमा आएपछि आफूहरूले बैंकसँग के-कस्तो भएको हो भनेर पत्राचार गरेको उनले बताए।
पीडितले मोबाइल बैंकिङको लागि कागजात नै नभरेको दाबी गरेको तर बैंकले भने कागजात देखाएको उनको भनाइ छ।
‘उजुरी आएपछि के-कसो भएको हो। कसरी पैसा निकालियो त्यो विवरण मागेर बैंकलाई पत्राचार गरेका हौं,’ प्रहरी उपरीक्षक कृष्ण कोइरालाले भने,‘यसमा दुई पक्षबीच कुरा बाझिएको छ। पीडितले मोबाइल बैंकिङ लिएको छैन भनेका छन्। बैंकले मोबाइल बैंकिङको फारम हामीलाई पठाएको छ। यिनै कुराहरू क्लियर गरेर, उनले मोबाइल बैंकिङको फारम भरेका होइनन् भने कसरी निकालियो त भनेर बैंकसँग सोधेका हौं। निष्कर्षमै चाहिँ पुगेका छैनौं।’
मोबाइल बैंकिङको लागि भरेको फारममा कर्मचारीको हस्ताक्षर पनि नचिनिने खालको छ। ती कर्मचारी को हुन् भनेर प्रहरीले सोधिखोजी गर्दा पनि बैंकले देखाउन नसकेको स्रोतको भनाइ छ।
प्रहरीले यसमा चोरी भएको सबै रकम तिर्नु भन्दै बैंकलाई पत्र नै लेखेर पठाएको पीडित भिन्डवारले बताए। तैपनि बैंकले एक लाख १८ हजार मात्रै तिर्ने भन्दै आएको छ।
‘आज आएर तपाईंले हालेको निवेदनपछि झिकिएको पैसाचाहिँ तिर्छु भन्छ, पहिला निकालेको सात लाख तिर्न मानिरहेको छैन,’ उनले भने, ‘अब म कहाँ जाऔं, के गरौं!’
आफूले १० वर्ष लगाएर कमाएको पैसा बैंकबाटै चोरी भएपछि उनी फेरि मलेसिया जाँदैछन्।
बैंक पैसा फिर्ता दिन तयार भएछ भने केही दिनको लागि उता जाने प्लेनको टिकट पनि स्थगित गर्ने उनको योजना छ।
‘म केही दिनमै फेरि मलेसिया जाँदैछु। दु:ख गरी कमाएको पैसा यहाँ आएर बैंकमा हेर्दा अरूले नै झिकिरहेको रहेछ। बैंकले पैसा फिर्ता गर्छु भन्यो भने मेरो केही दिन उता कम्पनीमा कुरा गरेरै भए पनि यहाँको बसाइ लम्ब्याउँथें,’ उनले भने।
सेतोपाटीले यो घटनाबारे ग्लोबल आइएमई बैंकका सूचना अधिकारी तथा उपप्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीसँग सम्पर्क गर्न खोजेको थियो। तर उनी सम्पर्कमा आउन चाहेनन्।